•  ६ जेष्ठ २०८२, मंगलवार

वडा अध्यक्ष सुवेदीका योजनाले पायो मुर्तरुप

- बैशाख २१, २०८२ मा प्रकाशित


काठमाडौं । देशैभर स्थानीय तह निर्वाचन सकिएको ३६ महिना बितिसकेको छ । जनताले आफ्नो ठाउँको विकासका लागि अमूल्य मत दिएर आफ्ना प्रतिनिधिहरूलाई चुनेका थिए । पछिल्लो पटक २०७९ वैशाख ३० गते स्थानीय तहको चुनाव सम्पन्न भएको थियो । काठमाण्डौंको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ मा जनप्रतिनिधिको रूपमा नारायण बहादुर सुवेदी स्थानीय निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष भएर आए । उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचन सोही वडाको अध्यक्ष निर्वाचित भएका थिए । नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्ष निर्वाचित भएका सुवेदी नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् ।

स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास थियो । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको समय पनि ३६ महिना बितिसकेको छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाको मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि भइसकेका सुवेदी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

अघिल्लो पटकभन्दा यस पटक वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेरेको विश्वास जनतामा छ । वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् । पछिल्लो समय वडा अध्यक्ष सुवेदीलाई एउटै कुराले पिरलिरहेको छ , त्यो भनेको आफ्नो वडाका जनतालाई सहज रुपमा खानेपानीको प्रबन्ध मिलाउन नसक्नु हो । उनी जनतालाई खानेपानीको व्यवस्थापनमा जुटिरहेका पनि छन् । सोही क्रममा वडा अध्यक्ष सुवेदीसँग झरना खबरको नियमित कार्यक्रम ‘ हाम्रो चासो ‘ मा पत्रकार टि एन धमला (मुनामदन ) ले गरेको कुराकानीको छोटो अश प्रस्तुत गरिएको छ ।

१.तपाईं चुनाव जितेर आएको ३६ महिना भएको छ, आफ्नो वडाभित्र के–के समस्या देख्नुभएको छ ?

मैले आफ्नो वडा भित्र खासै समस्या देखेको छैन । स्वास्थ्य र शिक्षामा केहि समस्या थिए ,त्यसलाई पनि नियमित प्रक्रियाबाट समाधान गरिसकिएको छ । खासगरि आफ्नो वडा जनघनत्वको हिसाबले अलिक बढि जनसंख्या भएको वडा हो । यहाँ खानेपानीको समस्या अलिक बढि रहेको छ । हामी खानेपानी व्यवस्थापनको लागि नयाँ योजना निमार्णमा छौं । आफुलाई त्यहि कुराले पिरलिरहेको छ । जुन कुरा पानीको समस्या समाधान कसरी गर्ने भन्ने हो ।

सरसफाईको जटिलता हटाइसकेका छौं । कर्मचारीको व्यवस्थापन र सुशासन कायम भएको छ भने भ्रष्टाचार नियन्त्रण शुन्य अवस्थामा झारेका छौं । यी सबै क्षेत्रमा काम भएको छ । मैले समस्याको पहिचान गर्दै योजनाबद्ध र क्रमिक रुपमा सुधारका काम गर्दै लैजाने गरेको छु ।

२.तपाईंले आफ्नो कार्यकालमा कुन–कुन कामलाई प्राथामिकता दिनुभएको छ ?

जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्ने गरेको छु । मेरो कार्यकालमा आफ्नो वडा नम्बर-५ मा रहेका बेरोजगार युवालाई रोजगारीको वातावरण सिर्जना गर्ने कार्य भएको छ । बेरोजगार युवालाई व्यवसायीकरणमा प्रेरित गरेको छु । विभिन्न तालिमहरू सञ्चालन गरिएका छन् । त्यस्तै युवाले उत्पादन गरेका बस्तुको खपत हुने वातावरणको सिर्जना भएको छ । मानिस उद्यमशीलतामा लागे वडाको विकास हुनेमा म विश्वस्त छु। यो वडा नगरपालिकाको शहरी क्षेत्र हो । वडाको विकासलाई पहिलो प्राथमिकता दिएर काम भएको छ ।

३.वडा नम्बर-५ मा खानेपानीको क्षेत्रमा निकै समस्या रहेको भन्नु भएको छ, उक्त समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

वडाको खानेपानीको समस्या प्रति म निकै गम्भीर छु । सुन्दरीजल र मेलम्ची खानेपानी वितरण केन्द्रसँग कुराकानी भइरहको छ । अब खानेपानीको क्षेत्रमा सुधार हुने आशा पलाएको छ ।हामी योजना बनाएर अगाडि बढिरहेका छौँ । यस वारेमा नगर प्रमुख दिपक कुमार रिसालसँग पनि कुराकानी भएको छ । उहाँले पनि काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडसँग कुराकानी अगाडि बढाउनु भएको छ । हामी कहाँ कमजोर रहेछौं त्यसको पहिचान गर्दै ती समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्ने छौँ। खानेपानीको समस्याका कारण जनताले भोग्नुपर्ने असहज अवस्थाको अन्त्य हुने छ । केही कठिनाइहरू छन् । जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं । तर त्यसलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं ।

४.स्थानीय सरकार आइसकेपछि वडामा झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ नी ?

तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरे होलान्। तर मेरो कार्यकालमा वडामा कुनै भ्रटाचार भएको छैन । आफ्नो पहिलो मुल नारा नै भ्रष्टाचार हुन दिन्न भन्ने हो, म निरन्तर रुपमा लागि परेको छु । मेरो कार्यकालमा भ्रष्टाचार गर्दिन र हुन दिन्न । यो कुरामा म प्रतिबद्ध छु । भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गरिरहेको छु । आफुले जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिबद्ध रहन निर्देशन दिएको छु । वडामा भ्रष्टाचार नभएकोमा म एकदमै विश्वस्त छु । कर्मचारीहरूलाई सुशासनको कुरा र अनुसासीत बनाउँने कुरामा प्रतिबद्ध छु । योजना निर्माणका कुराको सवालमा जनताको बीचमा योजना लगेर जनमुखी र पारदर्शी बनाउने गरेको छु ।

५.तपाईं निर्वाचित भइसकेपछि जनताले तपाईंप्रति राखेका अपेक्षा के कस्ता थिए ?

जनताका अपेक्षा असिमित हुँदा रहेछन् । जनताको प्रमुख आवश्यकता भनेको स्वास्थ्य, शिक्षा , खानेपानी र रोजगारी नै हो । त्यहि आवश्यकतालाई सहज बनाउँन उहाँहरूले आफ्नो ठाउँको विकासका लागि मलाई अमूल्य मत दिएर विजयी गराउनु भएको हो। यो कुरामा म गम्भीर र सधैँ सचेत रहेको छु । यसलाई कसरी पुरा गर्न सकिन्छ भन्नेतर्फ मेरो प्रयास रहेको छ । व्यावसामा युवालाई आकर्षित गरेर रोजगारीको सिर्जना गर्ने हाम्रो योजना छ । यसले युवालाई वडा तहमा नै स्वरोजगार बनाउनेमा म विश्वस्त छु ।

६.तपाईंलाई काम गर्न वडामा कुनै अप्ठ्यारा छन् नगरपालिकाबाट के भइदियोस् भन्ने चाहनुहुन्छ ?

म २०७४ सालमा पनि निर्वाचित वडा अध्यक्ष रहेर काम गरेको हुनाले धेरै काम गर्न सहज भएको छ । केही कानुनी कठिनाइहरू पनि छन्। जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं । त्यस्ता जटिलताबाट बच्न विवेक प्रयोग गर्दै प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा हामीअघि बढ्ने छौं । कानुनी अड्चनलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं। सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रवाह गर्न कमजोरी गर्दैनौं ।

७.जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा-बाठाको कुरामा मात्रै विश्वास नगरी निमुखाको पनि कुरा सुन्ने गर्नुपर्छ म त्यही गर्दै छु । समय-समयमा टोल-टोलमा पुगेर छलफलहरु गर्ने गरेका छौं । प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने गरेका छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना वडा नम्बर ५ लाई समृद्ध र सुन्दर वडा बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर लागेका छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहेको छ ।

हामी सबैका साझा प्रयासले मात्रै वडाको विकास सम्भव हुने हो । त्यसैले विभिन्न राजनीतिक दल, जनता र कर्मचारीको साथ पाएको छु। जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु। अबको २ वर्षमा आफ्नो वडा देशकै नमूना वडा बन्नेमा ढुक्क छु । जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने र वडाको चौतर्फी विकासको लागि म सदैब लागि परिरहने छु ।

८.अन्त्यमा स्थानीय सरकारमा वडा अध्यक्षको भुमिकाका वारेमा केहि भनिदिनुहोस् न ?

नेपालको वर्तमान शासन प्रणालीमा स्थानीय तहलाई संघीय एकाइहरुको रुपमा परिभाषित गरी उपराष्ट्रिय सरकारको हैसियत प्रदान गरेको छ जुन संसारका विरलै मुलुकमा यस्तो प्रावधान रहेको पाउँन सकिन्छ । स्थानीय तहहरु अधिकार सम्पन्न रहने संविधानले परिकल्पना गरे अनुरुप विधायिकी, कार्यकारणी र न्यायिक अधिकार अभ्यास गर्न पाउने अवसर प्रदान गरेको छ ।

नेपालको स्थानीय तह सरकारको भूमिकामा कार्य सम्पादन गर्ने गर्छन । वडा अध्यक्षहरु स्थानीय सरकारको मन्त्रीको भुमिकामा रहदै आएका छन् । पालिकाको समग्र नीति तथा कार्यक्रम पारित गराउन वडा अध्यक्षको भूमिका महत्वपूर्ण रहेको छ । वडा अध्यक्षले कार्य सम्पादन राम्रो गरेमा प्रमुखले ख्याति पाएको देखिन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वडा अध्यक्षलाई सघन भुमिकामा राखेको देखिन्छ । ऐनले वडाध्यक्षलाई वडा समितिको अध्यक्ष भई काम गर्ने, सदस्यहरुको काममा समन्वय र सहजिकरण गर्ने , कार्यक्रम तथा योजनाको प्रस्ताव तयार गरी कार्यपालिकामा पेस गर्ने अनुगमन मूल्याङ्कन सिफारिस तथा प्रशासनिक कार्य र आफ्नो अनुपस्थितिमा कार्यवहाक वडा अध्यक्ष तोक्ने कार्य जिम्मेवारी रहेका छन् ।

जनताको प्रत्यक्ष सम्पर्कमा रहि काम गर्ने वडा अध्यक्षहरु जनताका दैनिकी समस्यासंग प्रत्यक्ष सम्पर्क रहने गर्छन । छिमेकमा कुकुर भुकेर निदाउन नपाएको, छिमेकीको चौपायाले बाली खाएको जस्ता मामूली बिवाद पनि जनताले आफ्नो नजिकको जनप्रतिनिधिले समाधान गरिदियोस भनि अपेक्षा राख्ने गर्छन । यस्ता समस्याहरु समाधान गर्न वडा अध्यक्षहरु हरदम लागिपरेका हुन्छन् । आफ्नो ईलाकाको सामाजिक तथा सांस्कृतिक पर्व मेला तथा कार्यक्रममा समेत उनीहरु प्रतिकारात्मक रुपमा समेत उपस्थितिको अपेक्षा नागरिकबाट हुन्छ । यसरी उनीहरुको जिम्वेवारी कानूनी मात्र नभइ ‍औपचारिक र व्यवहारिक खालको हुन्छ ।

स्थानीय सरकारमा वडा अध्यक्ष शक्तिशाली पदाधिकारीहरु भित्र पर्दछन् । कार्यपालिका बैठकमा मन्त्रीसरहको भुमिकमा रही शासकीय परिपाटीको अभ्यास गर्छन भने सभामा संसद सदस्यको रुपमा भाग लिई आर्थिक नियन्त्रमा भुमिका खेल्छन त्यस्तै वडा समितिको नेतृत्वमा रहि प्रशासकको भुमिकामा रहन्छन् । यसरी वडा अध्यक्षको भुमिका बहुआयमिक रहेको देखिन्छ ।

विगत एकात्मक राज्य प्रणालीमा रहेका गाउँ विकास समिति आज स्थानीय सरकारका वडा कार्यालयमा रुपान्तरण भएका छन् । तर हिजोका गाविस भन्दा आजका वडा निकै अधिकार सम्पन्न र स्रोत साधन युक्त हुन पुगेको यथार्थ भुल्न हुदैन । आज वडा कार्यालयमा इन्जिनियर, कृषि, पशु र अमिन लगायतका प्राविधिक जनशक्तिको व्यवस्थाले सेवा जनताको घर दैलोमा पुगेको महसुस जनताले गर्न पाएका छन् भलै यसका व्यवस्थापकिय समस्या भने विद्यमान रहेका छन् । कतिपय महानगरपालिका र उपमहानगरपालिकाले वडा कार्यालयमा अधिकृत स्तरको वडा सचिवको व्यवस्था गरी खर्चको अख्तियारी समेत प्रदान गरिदिएका छन् । झरना खबरबाट संम्प्रेषण भएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर