अब अमेरिकामा पनि सहारा फाउण्डेसन : मिडिया पार्टनरमा झरना खबर
- आश्विन ३१, २०८२ मा प्रकाशित
ओहायो अमेरिका – नेपालमा सन २०१० देखि स्थापना भएको सामाजिक संस्था सहारा फाउण्डेसनले २०२५ देखि अमेरिकामा पनि आधिकारिक रुपमा आफ्नो च्यारिटी स्थापना गरेको छ। लामो समयदेखि शिक्षा, स्वाथ्य र मानव अधिकार लगाएत थुप्रै सामाजिक क्षेत्रमा काम गर्दै आएको फाउण्डेसनले होताराम विश्वकर्माको अध्यक्षतामा अमेरिकामा पनि आफ्नो च्यारिटी स्थापना गरेको हो ।
फाउण्डेसनमा हाल ६ जना सदस्य मण्डल रहेको संरचना बनाइएको छ । फाउण्डेसनको उपाध्यक्षमा भिषण अधिकारी रहेका छन् भने सचिवमा दिपक दिवाली, कोषाध्यक्षमा सागर चम्लागाईं रहेका छन् । त्यस्तै फाउण्डेसनको सदस्यहरुमा डिल्लि केरूङ र सुरेन्द्र थिगिम रहेका छन् । फाउण्डेसनमा हाललाई ६ सदस्यीय कमिटी गठन गरिएको छ । संस्थाको बिधानमा ७ सदस्यीय कमिटी गठन गर्ने प्राबधान राखिएको छ । जसमा फाउण्डेसनले निकट भविष्यमानै १ जना महिला सदस्य नियुक्त गरि ७ सदस्यीय कमिटी बनाईने फाउण्डेसनका अध्यक्ष होताराम विश्वकर्माले झरना खबरलाई बताएका छन् ।

सहारा फाउण्डेसनले आफ्नो कार्यक्रमहरुलाई महाअभियानका रुपमा अझ व्यापक बनाउँदै लैजाने र आवश्यकता अनुसार नेपाल र अमेरिकाका विभिन्न ठाउँमा निःशुल्क शैक्षिक एवम् स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै जाने लक्ष्य राखेको अध्यक्ष विश्वकर्माले बताएका छन् । सहारा फाउण्डेसन संस्थाले गैर आवासीय नेपाली संघ सँग सहकार्य गर्दै अमेरिकामा रहेका बिभिन्न नेपाली समुदायको उत्थानमा काम गर्नुका साथै अमेरिका र नेपालको शिक्षा र स्वास्थ्यलाई जोड्दै नेपालको शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासमा विशेष टेवा पुर्याउने कार्य गर्ने छ। उक्त फाउण्डेसनले नेपालमा बागमती सरसफाई अभियानको एक अभियाकर्ताका रुपमा लामो समयदेखि काम गर्दै आएको छ ।

त्यस्तै फाउण्डेसनले रक्तदान कार्यक्रम , खानेपानी तथा सरसफाई अभियान समेत संचालन गर्दैआएको छ । फाउण्डेसनले विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विभिन्न शैक्षिक कार्यक्रमहरू संचालन गर्दै असहाय तथा अपाङ्गता भएका बालबालिकाहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । फाउण्डेसनले अमेरिकाको ओहायोमा आगामी अक्टोबर २६ तारिखकादिन आफ्नो पहिलो कार्यक्रम अन्तर्गत बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । यसले ओहायोको भर्सिटी ब्लड सेन्टर, एनआरएनए ओहायो च्याप्टर (NRNA Ohio Chapter) , कल्याण फाउण्डेशन, लक्ष्मि ज्वलर्स र आर एण्ड टि स्टाफिङ (R & T Staffing) सँग सहकार्य गर्दै रक्तदान कार्यक्रम गर्न लागेको हो ।

सहारा फाउण्डेसनले संचालन गरेका आफ्ना कार्यक्रमहरुलाई देश तथा विदेश सम्म सूचना तथा समाचार मार्फत जानकारी गराउनका लागि नेपाल स्थित झरना खबर डट कम (www.jharanakhabar.com) लाई आफ्नो मिडिया साझेदारी समेत चयन गरेको छ । झरना खबरले लामो समयदेखि फाउण्डेसनले नेपाल र अमेरिकामा गरेका विभिन्न कार्यक्रमहरुलाई प्रचार प्रसार गर्दै आएको छ ।

















Comments