•  १२ कार्तिक २०८२, बुधबार

दुर्गा प्रसाईंले बालेनलाई दिए धन्यवाद,सरकारसँग वार्तामा बस्न तयार

- कार्तिक १०, २०८२ मा प्रकाशित


काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन् । जेनजी आन्दोलनका बेला आफुलाई आन्दोलनमा नआउन भनेर बचाइदिएको भन्दै धन्यवाद दिएका हुन ।

प्रसाईंले यदि बालेन शाहाले त्यसो नभनेको भए आफु यतिबेला प्रहरीको हिरासतमा हुने समेत बताएका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै जेन्जीको आन्दोलनमा सरिक हुन्छुभन्दा आफुलाई नट अलाउड भन्दै रोकेको र आरोप लाग्नबाट बचाएको बताएका छन् ।

त्यस्तै प्रसाईंले अबको आन्दोलनमा पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म यातायात बन्द गराउने बताएका छन् । राजधानीमा सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै उनले अबको आन्दोलन सफल भएर छाड्ने बताए । आफूहरुले सुरु गरेको आन्दोलन सफल नभएको खण्डमा देशबाट ५० लाख मान्छे विस्तापित हुने अवस्थामा रहेको प्रसाईले बताएका छन् ।

‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी यातायात बन्द नै गर्छौं । व्यापार–व्यवसाय बन्द नै हुन्छ । अब पनि यो आन्दोलन सफल भएन र नेपालीको हातमा र नेपालको माटो सुहाउँदो, नेपालीहरुले जितेनन् भने अब ५० लाख मान्छेहरु विस्तापित हुँदैछन् यो देशबाट । भुगोल रहला, तर नेपाली नागरिक रहँदैनन्,’– उनले भनेका छन् ।

उनले व्यवस्था परिवर्तन गर्नका लागि सबै जना लाग्नुपर्ने समेत बताएका छन् । प्रसाइंले आन्दोलनको मिति अबको ५-७ दिनपछि तोक्ने बताए । उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने र अबको आन्दोलन नेपाल र नेपाली जोगाउनका लागि रहेको दाबी गरेका छन् ।

त्यस्तै आगामी कात्तिक १५ गतेबाट आन्दोलन घोषणा गरेका प्रसाईंसँग आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बोलाएर उनीसँग छलफल समेत गरेका छन्।

उनको आन्दोलन र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै छलफल गरिएको हो। उक्त छलफलमा प्रसाईँले आफू सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका छन्।

उनले उक्त छलफलको क्रममा वार्तामा बस्न तयार रहेको व्यहोराको पत्र काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। गृहमन्त्रालयले आन्दोलनरत प्रसाईंसहित विभिन्न समूहलाई वार्ताबाटै समाधान खोज्न आह्वान गरेको थियो। आइतबाको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईं आन्दोलनमा गए आफ्नै लागि घातक हुन सक्ने भन्दै चेतावनी दिएका थिए।

त्यसलगत्तै प्रसाईँले आफू तत्कालै आन्दोलनको तयारीमा नरहेको र वार्तामा बस्न तयार भएको बताएका थिए। सरकारले जिम्मेवार ढंगले वार्ताका लागि आह्वान गरेको भनेर बैठकमै प्रसाईं आफैँले भनेका थिए।

यसअघि प्रसाईंले चेतावनीपूर्ण दिँदै आएका अभिव्यक्ति र सामाजिक सञ्जालको पोस्टको विषयमा पनि प्रमुख जिल्ला अधिकारीहरूले चासो राखेका थिए।प्रसाईंले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहितको बैठक भएको हो।

तत्कालका लागि प्रसाईंले आफ्ना आन्दोलन अघि नबढाउने र वार्तापछि पनि समाधान नभए अन्तत आन्दोलनकै बाटो रोज्ने निष्कर्ष सीडीओसहितका सुरक्षा अधिकारीहरूलाई सुनाएका छन् । छलफलमा प्रसाईंले कतिपय राजनीतिक विषयवस्तु पनि निकालेका थिए । प्रसाईंले कात्तिकबाट गर्ने भनेको आन्दोलन तत्काल नगर्ने र मंसिरपछि भने आन्दोलनमा नै जाने बताएका थिए ।

प्रसाईँ यसअघि नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी सहितलाई गाली गर्दै अभिव्यक्ति दिँदै आएकामा पछिल्लोपटक सुशीला कार्की नेतृत्वको सरकारको आलोचना गर्दै आइरहेका छन्।

यसअघि हिजोमात्रै प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवलाई ब्रिफिङ गरेका थिए ।

निर्वाचन सुरक्षाको विषयमा छलफल गर्न बोलाइएका सुरक्षा निकायका प्रमुखहरूले विशेषगरी प्रसाईंले गर्ने भनेको आन्दोलन र सुरक्षा चुनौतीबारे लामो ब्रिफिङ गरेका थिए । सुरक्षा निकायको ब्रिफिङ सुनेपछि सरकारले आन्दोलन घोषणा गरेका सबै पक्षलाई औपचारिक रुपमै वार्तामा आउन आग्रह गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर