खनाल -नेपाल समूहका नेता जीवन राई नेतृत्वको दल नेकपा (एकीकृत)ले पायो चुनाव चिह्न

  • झरना खबर
  • २०७८ आषाढ १० गते १२:१२ बजे प्रकाशित

काठमाण्डौं  : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको हो ।

विभाजनउन्मुख नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका युवाहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ । उनीहरुले नयाँ दल दर्ताका लागि दिएको निवेदनलाई निर्वाचन आयोगले सदर गरेको हो ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) रहेको उक्त दलले चुनाव चिह्न कलम प्राप्त गरेको छ भने पार्टीको अध्यक्षमा खनाल–नेपाल समूहका युवा जीवन राई रहेका छछन् ।

पार्टीका अध्यक्ष राईले निवेदन दिएको दुई महिनापछि बुधबार आयोगले छलफलका लागि बोलाएको र दल दर्ता स्वीकृत गरेर प्रमाणपत्र दिएको नयाँ दर्ता भएको बताए ।

‘हामीले ७ वैशाखमा दिएको निवेदनमा आयोगले गत ३० जेठमा नै निर्णय गरिसकेको रहेछ । बुधबार छलफलका लागि बोलाइएको थियो । आयोगका पदाधिकारीसँग छलफल भएपछि दल दर्ताको निर्णय भइसकेको र प्रमाणपत्र लिएर जानुहोस् भन्नुभयो,’ अध्यक्ष राईले भने ।

दलको दर्ता नम्बर १६३ रहेको छ भने पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम दललाई आयोगमा दर्ता गर्ने निर्णय भएको आयोगको भनाइ छ ।

एमालेभित्र विवाद बढ्दै गएपछि गत ७ वैशाखमा राईको नेतृत्वमा खनाल–नेपाल समूहका युवाले पाँच पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए । पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

यद्यपि, राईले दल दर्ताका लागि एमालेका शीर्ष नेताहरूसँग सल्लाह नभएको बताएका छन् । ‘पार्टीका शीर्ष नेताहरूसँग यस विषयमा कुनै सल्लाह भएको होइन । हामीले पार्टी दर्ता गरेको विषय सञ्चारमाध्यममा हल्ला भएपछि माधव नेपालले चासो व्यक्त गर्नुभएको थियो । कोसँग सल्लाह गरेर दर्ता गराउनुभएको हो, के उद्देश्य हो भनेर सोध्नुभएको थियो,’ राईले भने ।दृष्टिबाट

सम्बन्धित समाचारहरू

Comments