
काठमाडौँ — आफ्नो लगानी र निर्देशनमा बनेको फिल्म ‘वीरविक्रम २’ पाइरेसी (अनधिकृत र नक्कली कपी) भएपछि मिलन चाम्सले फेसबुकमा बह पोखे, ‘हामी करोडौं खर्च गरी, रात–दिन दुःख गरेर फिल्म बनाउँछौं । तपाईंहरू फेसबुकमा केही नसोची पूरै फिल्म हालिदिनुहुन्छ । यसरी त नेपाली सिनेमालाई बाँच्न गाह्रो हुन्छ ।’
‘वीरविक्रम २’ नेपालमा प्रदर्शन भइसके पनि नेपाली बस्ने कतिपय मुलुकमा बाँकी नै छ । सशुल्क हेर्न सकिने डिजिटल प्लेटफर्ममा राख्नै छ । तर, यो फिल्म केही दिनयता फेसबुकमा ‘भाइरल’ भइरहेको छ । आधा दर्जन पेजले उच्च क्वालिटीमै राखिदिएका छन् । जसले गर्दा फिल्मको डिजिटल बजार चौपट हुने भएको छ । ‘पाइरेसीले फिल्ममेकरलाई मर्नु न बाँच्नुको स्थितिमा पुर्याएको छ । व्यापार त डामाडोल हुन्छ नै, यसले मनोबलसमेत गिराइदिन्छ,’ चाम्सले गुनासो पोखे ।
‘वीरविक्रम २’ मात्र होइन, पछिल्लो एक साताभित्र अन्य तीन ठूला फिल्म पनि पाइरेसीको मारमा परेका छन्, ‘कबड्डी कबड्डी कबड्डी’, ‘क्याप्टेन’ र ‘जात्रैजात्रा’ । यी सबै फिल्मको लगानी २ करोड रुपैयाँभन्दा माथि छ । चारवटै फिल्मको डिजिटल र ओभरसिज राइट्स किनेको थियो, ओएसआर डिजिटलले । त्यसैले पाइरेसीले ओएसआरलाई सबैभन्दा बढी नोक्सान पुगेको छ । कम्पनीका प्रबन्ध निर्देशक ओम अग्रवाल भन्छन्, ‘हामीले व्यापार गर्ने बेला पाइरेसी भयो । पूरै लगानी डुब्ने चिन्ता छ ।’ ओएसआरले प्रतिफिल्म सरदर ३५ लाख रुपैयाँमा किन्ने गर्छ । नेपालबाहेक अन्य मुलुकमा प्रदर्शन गर्न र विभिन्न स्ट्रिमिङ साइटमा बेच्ने अधिकार उसलाई हुन्छ । ‘तर, पाइरेसी भएको थाहा पाउनासाथ कसैले किन्दैन,’ अग्रवालले दुःखेसो पोखे । डिजिटल स्टोरबाहेक ‘कबड्डी कबड्डी कबड्डी’ बेलायत, ओमान र मलेसियामा चलाउन बाँकी छ भने ‘जात्रैजात्रा’ कतारमा । पाइरेसीपछि प्रदर्शन हुनेमा शंका छ ।
भटाभट आफ्ना फिल्मको अनधिकृत प्रयोग हुन थालेपछि अग्रवालले महानगरीय अपराध महाशाखा, टेकुमा उजुरी दिएका छन् । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको जानकारी दिए । ‘प्राविधिक रूपमा पाइरेसी प्रमाणित भएपछि त्यसमा संलग्नविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाउँछौं,’ थापाले भने । ‘वीरविक्रम २’ भिडियो पसल नामक पैसा तिरेर हेर्न मिल्ने स्ट्रिमिङ साइटमा राखिएको थियो, त्यहींबाट डाउनलोड गरेर फेसबुकतिर हालिएको हुन सक्ने चाम्स बताउँछन् ।
‘ओभरसिज प्रदर्शनका लागि पठाइएको फाइलमा अंग्रेजी सबटाइटल छ तर पाइरेसी भिडियोमा सबटाइटल देखिन्न,’ उनले भने, ‘त्यसैले नेपालबाटै पाइरेसी भएको हुन सक्छ । आफैंले हेरे मात्र हुन्थ्यो तर फेसबुकका विभिन्न पेजमा हालिएको छ, नियत नै खराब देखियो ।’ एउटै फेसबुक पेजबाट २ हजारभन्दा बढी सेयर भएपछि उनी आत्तिएका हुन् । अन्य फिल्मको हालत पनि यस्तै छ । कति पेजहरूबाट चाहिँ डिलिट गरिएको छ ।
त्यसो त एकसाथ पाइरेसी भएको यो पहिलो घटना भने होइन । यसअघि पनि बारम्बार अनधिकृत रूपमा सामाजिक सञ्जाल र पेनड्राइभमा नेपाली सिनेमा छ्याप्छ्याप्ती भएका थिए तर न निर्माता दोषीलाई कानुनी सजाय दिलाउन लागिपरे, न पीडित फिल्मकर्मीलाई न्याय दिलाउन प्रशासनले सक्रियता देखायो । चलचित्र विकास बोर्ड, निर्माता संघ, चलचित्र संघजस्ता सरोकारवाला निकायले पनि चासो देखाएनन् । फलतः नेपाली सिनेमा निरन्तर पाइरेसीको रापमा छट्पटाइरहेको छ । ‘जात्रैजात्रा’ का निर्माता रवीन्द्रसिंह बानियाँ भन्छन्, ‘अधिकांश फिल्मले घरेलु बजारबाट लगानी उठाउँदैनन् । बाहिर चलाएर र डिजिटल प्लेटफर्ममा जसोतसो तंग्रिनुपर्छ । यहाँ हिट भनिएका फिल्मले पैसा कमाउने मूलस्रोत ओभरसिज नै हो तर पाइरेसीले सबै बाटो ठप्प पारिदिन्छ ।’
पाइरेसीकै सन्दर्भमा यहाँ एउटा घटना सान्दर्भिक हुन्छ । सुपरहिट फिल्म ‘छक्का–पञ्जा’ पाइरेसी गरेको अभियोग लागेका २३ वर्षीय युवक कृष्ण सुवेदीले आत्महत्या गरे, तीन वर्षअगाडि । निर्माता दीपकराज गिरीको धम्कीपछि सुवेदीले आत्महत्या गरेको आरोप लाग्यो, गिरीले चर्को आलोचना खेप्नुपर्यो । यो घटनापछि पीडित फिल्मकर्मीसमेत हतोत्साहित भए । फेसबुकमा पीडा पोखे पनि दरिलो हिसाबले कानुनी लडाइँ लड्नेहरू असाध्यै कम छन् ।
निर्माता बानियाँ प्रहरी नै पाइरेसीप्रति संवेदनशील नभएको गुनासो गर्छन् । ‘उजुरी गर्न जाँदा त्यत्रो कमाएर पनि कति नपुगेको, बाहिर आइहाल्यो, मान्छेले हेर्छन्, छोडिदिनुस् भन्छन्,’ उनको प्रश्न छ, ‘प्रहरीको यो रबैयाले बौद्धिक सम्पत्तिको रक्षा हुन्छ त ?’ उनले निर्माण गरेको ‘टलकजंग भर्सेस टुल्के’ पनि पाइरेसीको मारमा परेको थियो । जब कि नेपालको संविधानले बौद्धिक सम्पत्तिलाई मौलिक हक मानेको छ । प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २८ मा अनधिकार प्रतिलिपिहरू पैठारी गरेमा १० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ । त्यस्तै, प्रतिलिपि हनन गर्नेले अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्तिसमेत भराइदिनुपर्नेछ ।
बानियाँका अनुसार अहिलेसम्म नेपालमा पैसाका लागि पाइरेसी गर्ने प्रवृत्ति देखिएको छैन । प्रायः २० वर्षमुनिका किशोरहरूले अनधिकृत रूपमा डाउनलोड गरेर लहडको भरमा फेसबुकतिर हालिदिन्छन् । कोहीको लोभ फेसबुक पेजको लाइक बढाउने हुन्छ । ‘तर, पाइरेसी आपराधिक कर्म हो, कसैको लाखौं रुपैयाँ नोक्सान हुन्छ भनेर पाइरेसी गर्नेलाई नै थाहा नहुन सक्छ,’ बानियाँले भने, ‘पैसाकै लागि पाइरेसी हुन थाल्यो भने अझ भयावह हुन्छ । त्यसैले हामीले कानुनी उपचारसँगै पाइरेसीविरुद्ध जनचेतना जगाउनु आवश्यक छ ।’
पीडित फिल्मकर्मीले एक्लाएक्लैभन्दा सामूहिक रूपमा आवाज उठाउँदा प्रभावकारी हुने निर्क्यौल गरेर निकिता पौडेल चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा पाइरेसीविरुद्ध उपसमिति गठन गरिएको थियो । तर, त्यो सुरुवातबाटै निष्क्रिय भयो । अबचाहिँ पाइरेसीविरुद्ध विज्ञापन बनाउने र त्यसलाई हरेक फिल्मको अगाडि राख्नुपर्ने प्रावधान ल्याउन लागेको बानियाँले जानकारी दिए । भन्छन्, ‘पाइरेसी हुनै नदिन सचेतना जगाउन लाग्नुपर्छ । नत्र सिनेमाको लगानी बालुवामा पानी खन्याएजस्तै हुन्छ ।’
अन्तिम अपडेट : २०७६ माघ २१ गते ०७:२१ बजे
Comments