विदेशमा फसेका नेपालीलाई मेयर रिसालद्धारा उद्धार , मानव तस्करलाई नछाड्ने
- झरना खबर
- २०८१ चैत्र ३ गते ००:४१ बजे प्रकाशित

टि एन धमला (मुनामदन)
काठमाण्डौं - वैदेशिक रोजगारीका सिलसिलामा हंगेरी लाने भन्दै मानव तस्करले इण्डोनेसियामा पुर्याएर त्यहाँको जेलमा फसेका एक जनालाई स्वदेश फर्काइएको छ । इण्डोनेसियामा थुनीएर अलपत्र परेका जयदिप नेपालीलाई उद्धार गरि फर्काइएको हो ।
काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ का जयदिप नेपाली विगत ३ महिनादेखि इण्डोनेसियाको प्रहरी हिरासतमा थिए । अैवध रुपमा आफ्नो देशमा छिरेको भन्दै त्यहाँको अध्यागमन विभागले उनलाई नियन्त्रणमा लिएको थियो । हंगेरी पुग्ने विशाल सोचका साथ उनी इण्डोनेसिया पुगेका थिए । मानव तस्करको ग्याङले उनलाई त्यहाँ पुर्याएको थियो । तर इण्डोनेसियाको प्रहरीले जयदिप नेपालीलाई हिरासतमा लियो,बल्ल उनले आफु मानव तस्करको जालोमा फसेको थाहा पाए । उनै नेपालीलाई मेयर दिपक कुमार रिसालको पहलमा स्वदेश फर्काइएको छ ।
उद्धार गरि स्वेदेश ल्याइएका जयदिप नेपालीवारे नगरपालिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा मेयर रिसालले आफुले नेपालीको उद्धारमा गरेको प्रयासलाई जानकारी गराएका थिए ।
हंगेरी लैजाने भन्दै विभिन्न एजेण्ट मार्फत् श्रम स्विकृत गराई गत अगस्टमा काठमाडौंबाट मलेसिया हुँदै इण्डोनेसिया पुगेका नेपाली ३ महिना इण्डोनेसियाको सुरभया जेलमा थुनिएका थिए । उनै नेपालीलाई गोकर्णेश्वर नगरपालिकाको वैदेशिक रोजगारमा फसेका नागरिकलाई उद्धार गर्न गठित अन्तराष्ट्रिय विभाग अन्तर्गत रहेको 'नगरवासीहरुको अन्तराष्ट्रिय समूह' मार्फत सकुशल स्वदेश फिर्ता ल्याएको हो ।
उक्त विभागको संयोजक भने कुमार लामा रहेका छन् । लामा मेयर रिसालका प्रमुख राजनीतिक सल्लाहाकार समेत रहेका छन् । उनी जयदिप नेपालीलाई स्वदेश फर्काउन संयोजनका लागि इण्डोनेसियामा रहेको नेपाली महावाणिज्य दूतावाससँग निरन्तर फोन सम्वादमा रहेका थिए ।
नगर प्रमुख दिपक रिसालले नेपालीलाई उद्धारका लागि आवश्यक १ लाख व्यक्तिगत रुपमा सहयोग गरेर स्वदेश फिर्ता ल्याउन सफल भएका छन् ।
उनी ६ महिना अघि मात्र मलेसिया हुँदै इण्डोनेसिया पुगेका हुन् । नेपालीलाई ३ महिना इण्डोनेसियाको प्रहरीले राखेको थियो । जेलमा रहेका उनलाई नगरपालिकाको समन्वयमा अन्तत: गत शुक्रवार नेपाल फर्काइएको हो ।
नेपाली सहित १७ जना इण्डोनेसियाको जेलमा थुनिएका थिए । मेयर रिसालको पहलमा नेपाली घर फिर्ता भएसँगै उनको परिवारमा खुसी छाएको छ,भने यतिबेला विभिन्न सामाजिक सञ्जाल र मिडिया मार्फत मेयर रिसालको चौतर्फी प्रसंसा भइरहेको छ ।
आफूलाई घर फर्काउन गरिएको पहलप्रति खुशी व्यक्त गर्दै जयदिप नेपालीले मेयर रिसाल सहित वडा नम्बर-५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीलाई धन्यवाद दिएका छन् । उनले इण्डोनेसियाको जेलमा आफूले भोगेका दुःख र कष्ट समेत सुनाएका छन् । उनका अनुसार प्रहरीले लगेर १५ दिन हिरातमा लिएपछि जेलमा पठाएको थियो ।
एक पटक उनलाई परिवारका सदस्यसँग त्यहाँको प्रहरीले सम्पर्क गराएको थियो । उक्त खबर वडा नम्बर-५ का वडा अध्यक्ष सुवेदीलाई प्राप्त भएपछि वडा अध्यक्ष सुवेदीले मेयर रिसाललाई खबर गरेका थिए । त्यसपछि फोनका माध्यमबाट मलेसियामा रहेको नेपाली दूतावासको सम्पर्कमा पुग्न सफल भएका नेपाली मेयर रिसाललको निरन्तर पहलमा आफू नेपाल आउन सफल भएको बताएका छन् ।
नेपालीको उद्धारपछि मेयर रिसालले आफ्नो जानकारीभन्दा बाहिर भएका धेरै नगरवासीले विभिन्न मुलुकमा दुःख पाएको हुनसक्ने भन्दै त्यस्ता सबै नागरिकलाई उद्धारका लागि पहल गर्ने बताए । उनले भने 'आफुले एउटा कार्यदल बनाएर समस्याको पहिचान गर्न लगाएको छु । त्यसको सुझावअनुसार तीव्र रुपमा उद्धारको कार्य अगाडि बढाउँछौ ।'
मेयर रिसालले सरकार र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिसँग सहकार्य गरेर रोजगारीका लागि आफ्ना नगरवासीलाई विदेश पठाउने कम्पनीहरुको कडाइका साथ नियमन गरिने पनि बताए । उनले मानव तस्कर गर्नेलाई नछाड्ने समेत बताएका छन् ।
अन्तिम अपडेट : २०८१ चैत्र ३ गते ०२:०९ बजे
Comments