सबैका प्यारा दुर्गा सर अन्तत: ४० वर्षपछि निवृत्त जीवनमा , गाउँनै बन्यो भावुक
- झरना खबर
- २०८१ फाल्गुण २८ गते ०२:१९ बजे प्रकाशित

-टि एन धमला (मुनामदन)
ओखलढुङ्गा - सरल,विनम्र र शालीन व्यक्तित्वका धनी,सबैको प्यारो नाम हो दुर्गा सर । विद्यालयका विद्यार्थी हुन् वा सभा समारोह, कार्यक्रममा आतिथ्य ग्रहण गर्दा अथवा हाट बजारमा देख्दा-भेट्दा अभिवादन गर्दा होस्, बच्चादेखि वृद्ध सम्म ,महिला पुरुष सबैले बोलाउने प्रचलित तथा लोकप्रिय नाम हो दुर्गा सर । उनलाई चिनाउने उनको असली नामभन्दा पनि यही छोटो नामले समाजमा उनलाई बहुतजसो प्रतिनिधित्व गर्छ ।
ओखलढुङ्गा जिल्ला सुनकोसी गाउँपालिका वडा नम्बर-९ मा रहेको कटुन्जे मावि कटुन्जेका स्थाथी शिक्षक थिए , दुर्गा सर उर्फ दुर्गा बहादुर श्रेष्ठ । त्यही विद्यालयको शिक्षक बनेका उनले विद्यालयलाई शैक्षिक केन्द्र बनाउन निरन्तर लागि परेर शैक्षिक योद्धाको छवि निर्माण गर्दै आएका थिए । गाउँका केटाकेटीहरुको शिक्षाका वारेमा जान्नुहुन्छ ? भनेर कटुञ्जे गाउँका स्थानीयलाई सोध्यो भने प्राय : एउटै जवाफ दिन्छन् , 'हामीलाई के सोध्नुहुन्छ , दुर्गा सरलाई सोध्नुहोस्। उहाँलाई सबै थाहा छ।' कटुञ्जे गाउँका यी दुर्गा सर सबैका प्यारा मास्टर अर्थात शिक्षक हुन् ।
चार दशकसम्म अनवरत शिक्षण पेशामा क्रियाशिल उनै प्यारा दुर्गा सरको हिजो बुधबार कटुन्जे माविले भव्य सम्मान सहित बिदाइ गरेको छ । वि सं. २०४२ साल फागुन १ गतेदेखि २०८१ साल फागुन २६ गतेसम्म निरन्तर शिक्षण सेवा गरेका शिक्षक श्रेष्ठलाई विद्यालयले दोसल्ला ओढाएर सम्मानपत्रका साथमा खादा र मालाद्वारा विदाइ गरेको छ । उनलाई विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको स्काउटको एक टुकडीद्वारा सलामी सम्मान अर्पण सहित अवकास जिवनको बिदाइ गरिएको छ ।
चार दशक बढी शिक्षण पेसामा बिताएका दुर्गा सरले हजारौं विद्यार्थीलाई ज्ञान बाँडिसके । उनको कटुञ्जे माविलाई सामान्य स्कुलबाट उत्कृष्ट विद्यालय बनाउन निकै ठ्लो भूमिका रहेको छ । श्रेष्ठले विद्यालयको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिएको र शिक्षक प्रतिनिधिको रूपमा विद्यालय व्यवस्थापन समितिमा रही विद्यालयको समग्र विकासमा महत्त्वपूर्ण भूमिका समेत निर्वाह गरेका थिए । दुर्गा सर एक शिक्षक मात्र नभई विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एक विकासप्रेमी व्यक्तिका रुपमा चिनिन्छन् ।
एउटा भनाइ छ, 'इच्छा जोस र जागर भए के हुन्न' , हरेक क्षण सम्झन योग्य हुनसक्छ,यदि कसैसँग जोस, जागर र साहस छ भने' आज उनै दुर्गा सर यतिबेला सम्झन योग्य बनेका छन् । उनी जोस र जागरका साथ शिक्षाको सन्देश बोकेर विद्यालयका कक्षा कोठामा डुल्ने गर्थे । उनी विद्यार्थीहरुमाझ निकै लोकप्रिय समेत थिए । जसले विगतदेखि दुर्गा सरले गरेको मिहिनेतको प्रतिफल झल्काउँछ ।
अब मनका कुरा साटौं है !
दुर्गा सरको चार दशक लामो उतारचढावपूर्ण यात्राका मिठा पलहरु सम्झदा मलाई पनि गर्व महसुस हुन्छ । उहाँको बलियो शैक्षिक पृष्ठभुमी र उत्कृष्ट शिक्षण शैलीका कारण विद्यार्थी र गाउँलेबीच एकदमै लोकप्रिय हुनुहुन्छ । उहाँ समाजसेवी र सबैलाई मिलाउनसक्ने क्षमता भएको व्यक्ति हो । एकदमै भुईमान्छे भएर काम गर्ने, सत्य बोल्ने र खुला किताब जस्तै भएकाले उहाँ सबैका लागि उत्प्रेरक हुनुहुन्छ । दुर्गा सर सबैसँग उत्तिकै मिलनसार हुनुहुन्छ। मनमा लागेका कुराहरु भनिदि हाल्नुहुन्छ । कुनै समस्या आएमा सबैले सम्झने पहिलो व्यक्ति नै उनै हुन् ।
कक्षा १ देखि ६ कक्षा सम्म मलाई पनि उहाँले गणित पढाएको याद ताजै छ । उहाँले १० कक्षा सम्म सहकार्यको भावनाबाट मलाई प्रदान गरेको हौसला र प्रेरणाका कारण उहाँप्रति सम्मान रहेको छ । उहाँ खुलादिलको व्यक्तित्व हो । म सँगको उहाँको विशेष अट्याचमेन्ट पनि रहेको छ।
कटुञ्जे माविका विद्यार्थीहरु जे समस्या पर्दापनि उहाँकहाँ लिएर जान्थे । पठ्नपाठनमा उहाँको छुट्टै छवि थियो । सबैसँग मिल्ने, विद्यार्थीको असलमित्र जस्तो व्यवहार गर्ने, मनमा आएको कुरा भनिहाल्ने भएकाले उहाँ विद्यार्थीहरुमाझ लोकप्रिय हुनुहुन्थ्यो ।
भनिन्छ ''असल कर्मको कुनै दिन सुनौला अक्षरले नाम लेखिनेछ” सबैको आँखाको नानी बनेर बसेका शिक्षक दुर्गा बदादुर श्रेष्ठको नाम अबकास पछि पनि सम्झिरहने नाम बनेको छ । सामान्य परिवारमा जन्मिएका दुर्गा सर कटुञ्जे गाउँका स्थानीयका लागि सहयोगका सारथी समेत हुन् । हँसिलो अनि ठट्यौलो स्वभावका दुर्गा श्रेष्ठ सर स्थानीय स्तरमा सधै सत्य अनि न्यायको पक्षमा चट्टान जस्तै भएर उभिने गर्छन् ।
शिक्षा क्षेत्रमा निकै लोकप्रिय मानिने श्रेष्ठ गुणस्तरीय शिक्षाको विकासका समेत सारथी मानिन्छन् । समग्र शिक्षाको विकास हाम्रो आवश्यकता हो,भन्ने भाव बोकेका श्रेष्ठ शिक्षा र विद्यार्थीको विकासलाई पहिलो प्राथमिकतामा राखेर शैशिक क्रियाकलापमा सामेल हुने गर्थे ।
देशको परिवर्तनकारी शिक्षाको इतिहास हेर्दा सम्पूर्ण परिवर्तनको सफलतामा शिक्षकको भूमिका महत्वपूर्ण रहेको छ । विद्यार्थीहरुको दु:खमा साथ दिने र झकझक्याउने अग्रपंक्तिमा शिक्षक नै हुन्छन् । हरेक विद्यार्थीको भविष्यको खाकालाई निर्णायक बनाउने शक्ति शिक्षकको विज्ञतामा हुन्छ , तीनै व्यक्ति मध्य एक हुन् दुर्गा श्रेष्ठ सर । अभिभावक र विद्यार्थीका हरेक समस्यासँँग प्रत्यक्ष जोडिन सक्ने दुरदर्शी विज्ञका रुपमा चिनिएका दुर्गा सर अन्तत: अनिवार्य अवकासमा गएका छन् ।
सैद्धान्तिक,बैचारिक एवम् प्रखर बक्ताका रुपमा समेत चिनिएका श्रेष्ठ सबैसँग मिल्न सक्ने र शिक्षा क्षेत्रमा समर्पित शैक्षिक विकास र सुधारमा राम्रो ज्ञान भएका इमान्दार र प्रचुर लिडरसिपको क्षमता भएका शिक्षक हुन् । आफ्नो बिदाइका क्रममा दुर्गा सरले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षाको प्रतीकका रुपमा चिनो स्वरूप एक-एक थान कलम उपहार समेत दिएका छन् । ‘कलम ज्ञानको ज्योति हो, जसले पुस्तौँ पुस्तासम्म उज्यालो फैलाउँछ’ भन्दै भावुक बनेका उनले आफुले विद्यालयको समग्र शैक्षिक उन्नयन र बालबालिकाको उज्जवल भविष्यका लागि सक्दो प्रयास गरेको बताएका छन् । दुर्गा सरको बिदाइको क्षणमा शिक्षक तथा विद्यार्थी र स्थानीय निकै भावुक बनेका थिए ।
दुर्गा सर एक शिक्षक मात्र नभई विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एक विकासप्रेमी पनि हुनुहुन्छ। शिक्षकले शिक्षा मात्र होइन, अनुशासन, नैतिकता, र जीवन जिउने कला समेत सिकाएको हुन्छ । उनै दुर्गा श्रेष्ठ सरले सिकाएको नैतिकताले म पनि आज जीवन जिउने प्रयास गरिरहेको छु ।
दुर्गा श्रेष्ठ सरको एउटा पूर्व विद्यार्थी भएको नाताले प्रत्यक्ष रुपमा केहि सहयोग गर्न नसकेपनि उहाँले लेख्न सिकाएको शब्द मार्फत नै निवृत्त जीवन अझ सक्रिय र सामाजिक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
अन्तिम अपडेट : २०८१ फाल्गुण २८ गते ०३:११ बजे
Comments