कांग्रेस एमाले ०८४ को निर्वाचनसम्म मिलून् : प्रचण्ड

  • झरना खबर
  • २०८१ फाल्गुण ९ गते ०५:१९ बजे प्रकाशित

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् । आज (शुक्रबार) पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका हुन् । उनले संविधान निर्माणको बेलामा नै आफूहरुले यस विषयमा रिजर्भेसन राखेको पनि बताए ।

संविधान संशोधन नै गर्ने हो भने आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा तयार रहेको प्रचण्डले सुनाए । ‘हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ,’– प्रचण्डले भने ।

साथै, उनले आगामी २०८४ को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर चुनाव लडेपनि आफूलाई कुनै समस्या नरहेको बताए । माओवादी एक्लै जनतामा जाने र जनताको तागतमा विश्वास रहेको प्रचण्डले बताए ।

‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस(एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु–उनीहरू मिलून्। हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ– तपाईहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्,’– प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले माओवादी उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए । आफूहरुले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका पनि प्रचण्डले स्मरण गराए । बीचमा माओवादीको वर्गपक्षधरता कमजोर भएको स्वीकार गर्दै उनले अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा आइपुगेको बताए ।स्रोत रिपोर्टस नेपाल

सम्बन्धित समाचारहरू

Comments