तामाङ धर्म-संस्कृतिको संरक्षण आवश्यक उप-प्रमुख : सान्नानी लामा
- झरना खबर
- २०८१ माघ २७ गते ०१:४२ बजे प्रकाशित

काठमाडौं - गोकर्णेश्वर नगरपालिकाका उप–प्रमुख सान्नानी लामाले तामाङ धर्म, भाषा, संस्कृतिको गर्वका साथ आत्मसाथ गर्न आवश्यक रहेको बताउनु भएको छ । शनिवार बुद्धिष्ट तामाङ सुधार समितिद्वारा माकलबारी बसपार्कमा आयोजित सोनाम ल्होछार शुभकामना आदान–प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उप-प्रमुख लामाले सो बताउनु भएको हो ।
नेपालमा विदेशीने संस्कृति बढ्दै जाँदा विदेशी संस्कृतिको अभ्यास बढेकोले नेपालको मौलिक धर्म, संस्कृति, भाषाप्रति बेवास्ता हुन थालेकोमा चिन्ता व्यक्त गर्नु हुँदै लामाले भावि पुस्ताका लागि नेपालको सांस्कृतिक विविधता तथा तामाङ धर्म भाषा संस्कृति संरक्षण आवश्यक रहेकोमा जोड दिनु भयो ।
उप–प्रमुख लामाले तामाङका विभिन्न पहिचान मध्ये डम्फु बजाउने संस्कृति तामाङ सामुदायिक जीवनको अभिन्न अंग भएकोमा जोड दिनु हुँदै लामाले परम्परागत सांस्कृतिक सीपलाई आज व्यवसायिक बनाउन सकिने अवस्था रहेको बताउनु भयो । भावि पुस्तालाई संस्कृति सिकाउन पनि यसको अभ्यास गरि संस्कार हस्तान्तरण गर्दै जानु पर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख दिपक रिसालले गोकर्णेश्वर नगरपालिकाका सबै समुदायका सांस्कृतिक पहिचानलाई सम्मान गर्दै नगरवासीका धर्म, संस्कृतिको संरक्षण प्रवद्धर्न गर्दै आएको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै गोनपा ६ का वडा अध्यक्ष नवराज लामाले संस्कृतिक अधिकार उपभोग गर्ने तर्फ समुदायमा जागरण आईरहेको भन्दै खुसी व्यक्त गर्नु भयो । यसैगरी कार्यक्रमका सभापति रुप तामाङले धर्म, संस्कृतिको विकास, प्रचार प्रसारको पवित्र उदेश्य लिएर कार्यक्रम आयोजना गरेको बताउनु हुँदै कार्यक्रम आयोजना तथा बुद्धिष्ट तामाङ सुधार समितिको विकास तथा गुम्बा निर्माणमा नगरपालिका तथा अन्य व्यक्तित्वहरुले दिनु भएको सहयोगको उच्च प्रशंसा गर्नु हुँदै सबैलाई धन्यवाद दिनु भयो ।
ल्होछारको अवसरमा माकलबारी बसपार्कमा आयोजित कार्यक्रम बुद्धिष्ट तामाङ सुधार समितिका अध्यक्ष रुप तामाङको सभापतित्वमा भएको थियो । कार्यक्रमलाई विभिन्न व्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो भनें संस्थागत तथा गुम्बा व्यवस्थापमा सहयोग गर्ने व्यक्तित्वहरुलाई नगर प्रमुख दिपक रिसाल, उप-प्रमुख सान्नानी लामा र गोनपा ६ का वडा अध्यक्ष नवराज लामाले सम्मान गर्नु भएको थियो ।
अन्तिम अपडेट : २०८१ माघ २७ गते ०१:४५ बजे
Comments