अमूल्य बहुउद्देश्यीय सहकारीको कारोबार शुभारम्भ , चुनौतीकाबिच सेवा प्रवाह

टि एन धमला (मुनामदन)

जोरपाटी- अमूल्य बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पहिलो कारोबारको शुभारम्भ गरेको छ । सहकारीले शनिवार जोरपाटीमा आयोजित कारोबारको शुभारम्भ भेला मार्फत पहिलो कारोबारको शुभारम्भ भएको जानकारी गराएको हो । सहकारीका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी तथा सर्वसाधरणहरु सहभागी भएको भेला बीच अमूल्य बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष छिरिङ तसि रोकयाले कारोबारको शुभारम्भ गरेका हुन् ।

अमूल्य बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार शुभारम्भ भेलाको प्रमुख अतिथि भने बौद्ध धर्म गुरु आचार्य नोबु शेर्पा रहेका थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले सर्वसाधरण र सहकारी अभियानबीच प्रभावकारी समन्वय हुन सक्यो भने जनतालाई आर्थिक रुपमा अगाडि लैजान अत्यन्तै सहज हुने धारणा राखे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहकारी संचालक मावङ दोर्जे शेर्पाले सहकारी क्षेत्रमा श्रम, सीप र पूँजि प्रशस्त भएकाले त्यसलाई स्थानीय विकासमा लगाउन स्थानीय सरकारको स्पष्ट र प्रभावकारी योजना बनाउन आवश्यक रहेको बताए । जनता सहकारीमा आवद्ध छन्, जनतासंग श्रम, सीप र पूँजि पनि छ, त्यसैमा राज्यको लगानी थपेर प्रभावकारी विकास निर्माणमा लाग्न उनले सबै स्थानीय तहहरुलाई आव्हान पनि गरे ।

कारोबारको शुभारम्भ समारोहमा बोल्दै सहकारीका संचालक समिति अध्यक्ष रोकयाले छिट्टै कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी सहकारीको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु अबलम्बन गर्ने बताए । उनले सहकारीको बढ्दो ब्यवसाय, कार्यालय संचालन तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरि पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको बताए ।

पछिल्लो समय सहकारी प्रति जनताको विस्वास कम हुँदै गएको अवस्थामा अमूल्य बहुउद्देश्यीय सहकारी संस्था संचालनमा आएको छ । उसले सर्वसाधारणबाट निक्षेप संकलन गर्ने तथा सर्वसाधारणलाई सर्वसुलभ व्याजदरमा ऋण प्रवाह गर्ने योजना बनाएको छ । सहकारीले उच्चस्तरीय वित्तीय सेवाहरु थप परिस्कृत रुपमा प्रदान गर्नेछ जसबाट सर्वसाधारण ग्राहकहरू लाभान्वित हुने विश्वास सहकारीले लिएको छ ।

उक्त भेलालाई संचालन गर्ने क्रममा लामो समय सहकारीमा आवद्ध भएका एवम् बिजुली बचत तथा ऋण सहकारी संस्थाका संचालक उमानाथ धमलाले अमूल्य बहुउद्देश्यीय सहकारी संस्थाको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध पारदर्शी तरिकाबाट हुने कुरा व्यक्त गरे । उनले सहकारीको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने , ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो सेवा सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे ।

त्यस्तै धमलाले देशको सहकारी तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई जनताको बचतको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे ।

सहकारीको कारोबार शुभारम्भ भेलामा उपाध्यक्ष साङगेल शेर्पा ,सचिव दावा शेर्पा , कोषाध्यक्ष सोनाम छिरिङ शेर्पा , सदस्यहरु आङ दोर्जे शेर्पा , ओङदी शेर्पा तथा लेखा समितिका संयोजक भोलानाथ खतिवडा रहेका थिए भने,सर्वसाधरणहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

देशमा सहकारी र जनताबीचको समन्वय आवश्यक रहेको छ,तर सहकारीले प्रभावकारी वित्तीय कारोबारको वातावरण नबनाउँदा जनता निरास हुँदै गएका छन् । सहकारी जनताको प्रत्यक्ष सहभागिता गरिने व्यवसाय भएकाले यसको मर्म र भावनालाई आम सदस्यका बीचमा पुर्याउनु पर्ने हुन्छ । पछिल्लो समय सर्वसाधरणले सहकारीमा बचत गरेको रकम संचालकले मनोमानी तरिकाले अपचलन गर्दा बचत फिर्ता हुन सकेको छैन । जसका कारण लाखौं जनता मारमा परिरहेका छन् । भिडियो हेर्न यो लिङ्क खोल्नुहोला :

सम्बन्धित समाचारहरू

Comments