
साँखु - काठमाण्डौ उपत्यकाकै पुरानो शहर शंखरापुर नगरपालिका भित्र रहेको साँखुलाई विश्वसामु चिनाउने उदेश्यले शंखरापुर सक्व महोत्सव-२०८१ हुने भएको छ ।
शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा यहि आउँदो माघ १६ गते देखी १९ गते सम्म ४ दिन भब्य रुपमा महोत्सव हुन लागेको आयोजकले जनाएको छ । हिजो बुधबार साँखु स्थित समरा गार्डेनको सभाहलमा आयोजित एक पत्रकार सम्मेलनबाट नगर प्रमुख तथा महोत्सव मुल समारोह समितिका संयोजक रमेश नापितले जानकारी दिएका छन।
नगर प्रमुख रमेश नापितले दिएको जानकारी अनुसार ३ हजार ३ सय २५ बर्ष पुरानो शहर साँखुको अस्तित्व,यहाँको धार्मिक, सांस्कृतिक तथा भौगोलिक सुन्दरताको विविधतालाई विश्व सामु पुर्याउने उदेश्य सहित महोत्सव हुन लागेको बताएका छन। सालीनदी,बज्रयोगिनी,मनिचुड लगायत विविध मौलिक तथा लोकप्रिय धार्मिक आस्थाको केन्द्र रहेको साँखुमा हिन्दु धर्मावलम्बीले एकपटक दर्शन अनिवार्य गर्नुपर्ने स्थल हो।जसलाई विश्व सामु पुर्याउन सकिए यहाँको महत्व विश्व सामु झल्किनुका साथै आर्थिक,धार्मिक तथा सांस्कृतिक प्रवर्द्धन हुने समेत देखिएको छ। महोत्सवको मुख्य उदेश्य नै साँखुको परिचय जिवन्त राख्दै पर्यटन प्रवर्धन रहेको नगर प्रमुख नापितले बताएका छन ।
महोत्सवमा साँस्कृतिक झाँकी, लोक दोहोरी, लाइभ कन्सर्ट, कबिता प्रतियोगिता, सामुहिक छलफल, लगायतका कार्यक्रम रहेको पनि प्रमुख नापितले जानकारी दिएका छन।
आठ ओटा ढोकाको शहर, ९ ओटा पुर्व फर्केको धाराको शहर, घर घरमा कुलो पुग्ने शहर, ८ ओटा टोलको शहर अनि जात्रै जात्राको शहर जस्ता विविधताले भरिपूर्ण शंखरापुरको परिचय फर्काउँदै विश्वमा परिचित गराउन पनि नगर पालिकाले महोत्सवको आयोजना गर्न लागेको हो ।
हरेक बर्ष सालिनदी मेलामा ३० देखी ४० लाख दर्शनार्थीले भ्रमण गर्ने तर साँखुलाई नचिन्ने धेरै भएकोले यहि मेलाको अवसर पारेर महोत्सव आयोजना गरेको पनि नगर प्रमुख नापितले बताएका थिए।
शंखरापुर सक्व महोत्सवका संयोजक, नगर प्रबक्ता एवं वडा न ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले महोत्सवमा समाबेश कार्यक्रम एवं उदेश्य बारे जानकारी गराउनु भएको थियो । संयोजक श्रेष्ठका अनुसार महोत्सवमा साँस्कृतिक झाँकी, परम्परागत जीवनशैली, ऐतिहासिक सम्पदाहरुको जानकारी, रैथाने उत्पादनको प्रदर्शनी एवं बिक्रि, ऐतिहासिक,धार्मिक स्थलहरुको जानकारी, स्थानिय जात्रा, पर्बहरुको जानकारी, स्थानिय खाजा तथा परिकारहरूको प्रदर्शनी एवं बिक्रि, नेवा भ्वयू, परम्परागत नाच, गीत, भजन, विद्यार्थीहरुको प्रदर्शनी, हस्तकला काष्ठकला, प्रस्तरकला, चित्रकला, तथा फोटो प्रदर्शनी लगायतले साँखुलाई चिनाउने छ ।
पत्रकार सम्मेलनमा शंखरापुर नगरपालिकाका कार्यकारी अधिकृत एवं शंखरापुर सक्व महोत्सव मुल समारोहका सदस्य सचिब अमृत कुमार धितालले तिनै तहका सरकारको प्रत्यक्ष सहभागितामा महोत्सव आयोजना गर्न लागेको जानकारी गराएका थिए । सदस्य सचिब धितालका अनुसार स्थानिय सरकार आयोजक बागमती प्रदेश सरकारका पर्यटन मन्त्रीले उद्घाटन गर्ने तथा केन्द्र सरकार मातहतको पर्यटन बोर्ड महोत्सवमा सह आयोजक रुपमा रहने छ ।
त्यस्तै शंखरापुरमा क्रियाशिल राजनैतिक दलहरु, स्थानिय संघ संस्थाहरु, बौद्धिक एवं प्राज्ञिक व्यक्तिहरू , कलाकार, भाषाविद् तथा इतिहासकार लगायतको महोत्सवमा प्रत्यक्ष एवं सक्रिय साथ र सहयोग रहने छ ।
उक्त अबसरमा इमेज च्यानलका महा प्रबन्धक रघु बर भक्त मानन्धरले ऐतिहासिक एवं प्राचिन शहर साँखुको महत्व दर्शाउँदै काठमाण्डौबाट नजिकै रहेर पनि छायाँमा परेको धारणा राख्नु भयो । कार्यक्रमलाई महोत्सव मुल समारोह समितिका उप संयोजक एवं वडा न ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ तथा वडा नं ८ का वडा अध्यक्ष पोते थिङ तामाङ लगायतले महोत्सवको विशेषताबारे जानकारी गराएका थिए।
अन्तिम अपडेट : २०८१ माघ ८ गते २३:०९ बजे
Comments