मेरो सुपरहीरो हजुरबुवा

  • झरना खबर
  • २०८१ कार्तिक २२ गते ०४:३४ बजे प्रकाशित

कृष्ण गोयला-हाल कोरिया

काठमाण्डौं - बाल्यकालमा हरेकलाई सोधिने एउटा साधारण प्रश्न हुन्छ, “तिमी सबैभन्दा धेरै कसलाई माया गर्छौ?” अधिकांश बालबालिकाले यो प्रश्नको उत्तरमा आफ्नी आमालाई रोज्छन्, केहीले बाबालाई। तर मेरो मामलामा भने यो फरक थियो। मेरो उत्तर सधैं एउटै हुन्थ्यो – “मेरो हजुरबुवा।” उहाँप्रति मेरो प्रेम र आदर सधैं विशेष थियो, र आज पनि उहाँ मेरो जीवनका सच्चा प्रेरणास्तम्भ हुनुहुन्छ। मेरो हजुरबुवा कुनै साधारण व्यक्तित्व मात्र होइन; उहाँको जीवन नै एउटा संघर्ष, समर्पण र समाजसेवाको गाथा हो, जसले मलाई सधैं हरेक क्षण प्रेरित गर्छ।

हजुरबुवाको जीवनको कथा एक संघर्षको उदाहरण हो। उहाँको जन्म राणा शासनकालमा भएको थियो। उहाँका पिता उहाँ जन्मनु अघि नै बित्नुभएको थियो, जसका कारण उहाँलाई आफ्नो आमाले एक्लै हुर्काउनुभयो। राणाहरूको कठोर शासनकालमा एक विधवा महिलाको रूपमा उहाँकी आमाले धेरै अपमान र कठिनाइ झेल्नु पर्‍यो। तर ती चुनौतीहरूबीच पनि उहाँले आफ्ना चार सन्तानलाई सम्मान र माया दिएर हुर्काउनुभयो। यस कठिनाइबाट नै मेरो हजुरबुवामा संघर्षशीलता र आत्मनिर्भरताको भावना विकास भएको थियो, जुन उहाँको जीवनभरि अटल रह्यो।

मेरो हजुरबुवाको किशोरावस्थामा नेपालमा ठूलो परिवर्तन भइरहेको थियो। समाजमा जनचेतनाको विकास भइरहेको थियो, र राणाहरूको अधिनायकवादविरुद्ध जनतामा विद्रोहको भावना बढ्दै गइरहेको थियो। उहाँले सानैदेखि यी परिवर्तनका प्रभावलाई महसुस गर्न थाल्नुभयो। उहाँमा पनि समाजको लागि केही गर्नुपर्छ भन्ने भावना जागृत भयो। गाउँको परिवेशमा रहनु भए पनि उहा राजनीति र सामाजिक आन्दोलनहरूको प्रत्यक्ष सहभागी हुनुभयो / उहाँ एक सचेत र शिक्षित व्यक्ति हुनुहुन्थ्यो। उहाँ राजनीतिक गतिविधिमा सक्रिय र समाजसेवामा पनि गहिरो चासो राख्नुहुन्थ्यो। पञ्चायती व्यवस्थामा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभयो र पछि नेपाली कांग्रेसमा संलग्न भएर २०४६ सालको जनआन्दोलनमा भाग लिनुभयो। यसपछि, उहाँ माओवादी आन्दोलनमा पनि संलग्न भएर समाजमा न्याय र समानताको लागि लड्न थाल्नुभयो। उहाँको यो प्रतिबद्धता र सक्रियता सामाजिक सुधार र नागरिक अधिकारको लागि थियो, जसले नेपाली समाजमा महत्वपूर्ण परिवर्तन ल्याउन मद्दत पुर्यायो।उहाँले गाउँस्तरमा सधैं न्यायका लागि आवाज उठाउनुभयो। समाजमा अन्याय भएको देख्दा उहाँ चुप लागेर बस्न सक्नुहुन्नथ्यो। अरूका हकहितका लागि उहाँले आफूलाई सधैं समर्पित गरिरहनुभयो।

मलाई बाल्यकालमा धेरै पटक उहाँका संघर्षका कथाहरू सुन्न मिल्थ्यो, र ती कथाहरूले मेरो बाल मस्तिष्कमा उहाँलाई सुपरहीरो बनायो। उहाँको साहसी व्यक्तित्व, संघर्षशीलता, र इमान्दारिताले गर्दा मलाई सधैं गर्व लाग्थ्यो। म विद्यालय जान लाग्दा उहाँ मेरो साथ लागेर जानुहुन्थ्यो, र बाटोमा भन्नुहुन्थ्यो, “कोही तिमीलाई दुःख दिन्छ भने मलाई भन।” उहाँका ती स्नेहपूर्ण शब्दहरूले मलाई सधैं सुरक्षित महसुस गराउँथ्यो। एक पटक विद्यालयको प्रधानाध्यापकले गल्तीको लागि मलाई कुट्नुभयो, र म रोएर हजुरबुवालाई सबै सुनाएँ। भोलिपल्ट उहाँ प्रधानाध्यापकसँग कुरा गर्न पुग्नुभयो र मलाई अबदेखि कुट्न नपाइने कुरा गर्नुभयो। त्यो दिन मेरो बाल मनले उहाँलाई साँचो सुपरहीरोका रूपमा देख्यो। यो अनुभव मेरो लागि जीवनभरका लागि सम्झनलायक बन्यो।

हजुरबुवा सधैं न्यायका पक्षमा उभिनुहुन्थ्यो। समाजमा जहाँ अन्याय हुन्थ्यो, उहाँको आवाज सधैं त्यहाँ गुञ्जन्थ्यो। उहाँले आफ्नो गाउँको धेरै समस्याहरू समाधान गर्न आफ्नो जीवनको ठूलो भाग समाजसेवामा बिताउनुभयो। एक पटक गाउँमा एक गरिब परिवारलाई समाजले भेदभाव गरेर हेला गरेको थियो। उहाँले त्यो परिवारको समर्थन गर्दै उनीहरूको न्यायका लागि लड्नुभयो। समाजमा कतिपयले उहाँलाई आलोचना गरे, तर उहाँले आफ्नो सिद्धान्तमा सम्झौता गर्नुभएन। उहाँले अरूका लागि आफ्नो आदर्शलाई कहिल्यै त्याग्नुभएन, जसले गर्दा उहाँ गाउँभरि एक आदर्श व्यक्तित्वको रूपमा चिनिनुभयो।

म सानैदेखि उहाँको संरक्षणमा हुर्किएँ।मेरो बाबा पूर्व सैनिक हुनुहुन्थ्यो। उहाँ कार्यरत हुँदा काठमाडौँमा स्थानान्तरणमा हुनुहुन्थ्यो र एकपटक हामीलाई सँगै बस्न लैजाने आग्रह गर्नुभयो। म बाहेक परिवारका सबै सदस्य काठमाडौँ जान तयार थिए, तर म भने दृढतापूर्वक गाउँमै रहन चाहन्थें। मेरी आमाले धेरै सम्झाउनुभयो, यहाँसम्म कि रोएर पनि मसँग कुरा गर्नुभयो, तर म आफ्नो निर्णयमा अडिग रहेँ। यो कुरा मैले हजुरबुवालाई सुनाउँदा उहाँ पनि भावुक हुनुभयो र भन्नुभयो, “संगै जाऊ, तिमी सबैलाई सजिलो हुनेछ।” तर, म उहाँलाई छोडेर जान मानेनँ। उहाँप्रति मेरो माया र लगाव यति गहिरो थियो कि उहाँ बिना म बस्नै सक्दिनथेँ।

उहाँले मलाई सधैं ‘कन्हैया’ भनेर सम्बोधन गर्नुहुन्थ्यो, जसले मलाई विशेष महसुस गराउँथ्यो। हजुरबुवाको प्रेम र स्नेहले मप्रति उहाँको विशेष माया र स्नेह देखाउँथ्यो। उहाँको मप्रतिको माया सधैं गहिरो थियो, जुन मैले जीवनभर महसुस गरेँ। उहाँले मलाई सधैं सही बाटो देखाउनुभयो र सधैं जीवनमा इमान्दार र निडर बन्न प्रेरित गर्नुभयो। उहाँले आफ्नो संघर्ष र अनुभवहरूबाट मलाई सधैं केही सिकाउनुभयो। उहाँले भन्नुहुन्थ्यो, “जीवनमा चाहे कति नै कठिनाइ आए पनि कहिल्यै आफ्नो सिद्धान्त र इमान्दारिताबाट विचलित नहुनु।” उहाँका यी शब्दहरूले मलाई जीवनभर प्रेरणा दिनेछन्।

के तपाईंले कहिल्यै आफ्नो सुपरहिरोको आँखामा आँसु देख्नुभएको छ? मलाई कहिल्यै यस्तो सिकाइएको थिएन कि सुपरहिरो पनि रुन्छन्। मेरो धारणा थियो कि आँसु भनेको कमजोरहरूको लागि मात्र हो। तर जीवनका तीन पलमा मैले आफ्नै सुपरहिरोका आँखामा आँसु देखेँ, जसले मलाई महसुस गरायो कि सुपरहिरो पनि कहिलेकाहीँ आँसुमा डुब्न सक्छ। मेरो बाल्यकालमा मैले हजुरबुवाको आँखामा कहिल्यै आँसु देखेको थिइनँ। तर, जब उहाँले मलाई काठमाडौँ पढ्न पठाउनुभयो, त्यस दिन उहाँका आँखामा आँसु देखेँ। त्यो पहिलोपटक थियो, जब उहाँको आँखामा आँसु देखेँ। दोस्रोपटक, जब एक दिन काठमाडौँमा मेरो ढोकामा कसैले ढकढक्यायो, म गएर ढोका खोलेँ, र अगाडि हजुरबुवालाई देखेँ। उहाँ मसँग भेट्न एक्लै गाउँबाट काठमाडौँ आउनुभएको थियो। हामीले अँगालो हालेर केही क्षण आँसुमा डुब्यौं। त्यो क्षण मेरो जीवनको सबैभन्दा विशेष थियो।

तेस्रोपटक, जब मैले स्नातक पूरा गरेपछि, देशको सामाजिक–राजनीतिक अवस्था, रोजगारीका अवसरहरू, र सरकारी जागिरेहरूको आर्थिक कठिनाइ देखेर मैले दक्षिण कोरिया जाने योजना बनाएँ। त्यो समय धेरै नेपाली युवाहरूको लागि कोरिया आर्थिक सन्तुष्टिको खोजीमा जाने एक सपना जस्तै थियो। कोरिया जाने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब म बिदाइको लागि पुगेँ, हजुरबुवा मलाई विदा गर्न आउनुभएको थियो। उहाँसँगै मेरो बुबा र परिवारका सबै सदस्यहरू पनि थिए। तर हजुरबुवा सबैभन्दा अलगै उभिनुभयो र आँखाभरि आँसु लिएर मप्रति एक टकले हेरिरहनुभयो। शायद उहाँलाई आफ्नो उमेरले गर्दा फेरि मलाई देख्न पाउने नहोला भन्ने डर थियो। उहाँका ती आँसुले मेरो मन भत्कायो म आसु पुछ्दै भारि मन लिएर गन्तब्य तिर लागे !ती तीन पलहरू मैले जीवनभर भुल्न सक्दिनँ। ती आँसुले मलाई यो सिकायो कि सुपरहिरोको हृदयमा पनि संवेदनशीलता हुन्छ, र तिनीहरू पनि कहिलेकाहीँ आँसुमा डुब्न सक्छन्।

समयसँगै म हुर्किदै गएँ, र अहिले म आफैं बाबु बनेको छु। मेरो पाँच वर्षको छोरा पनि आफ्ना हजुरबुवालाई ‘सुपरम्यान’ भन्छ \ मेरो बुवा र मेरो छोराको सम्बन्ध देख्दा म फेरि आफ्नो बाल्यकाल सम्झन्छु। जस्तो म आफ्नो हजुरबुवासँग धेरै नजिक थिएँ, मेरो छोरा पनि अहिले आफ्ना हजुरबुवासँग त्यही माया र स्नेहले भरिएको सम्बन्ध बनाइरहेको छ! मेरो बुवा उस्को हजुरबा ले उस्लाइ माया र स्नेह  साथ हुर्काइरहनुभएअको छ। म हजुरबाको  आदर्श र संघर्षको महत्वलाई अझ बढी बुझ्न थालेको छु।

हजुरबुवाले देशको राजनीति, समाज र समयको धेरै परिवर्तनहरू देख्नुभएको छ। उहाँले राणा शासन, लोकतन्त्र, राजतन्त्र, पञ्चायत, र संघीय लोकतन्त्रको यात्रा देख्नुभयो। यस्ता ऐतिहासिक परिवर्तनको साक्षी हुनु उहाँका लागि जीवनभरको अनुभव बन्यो। यस्ता परिवर्तनका बीच पनि उहाँले कहिल्यै आफ्नो मूल्य र आदर्शलाई त्याग्नुभएन। उहाँले सधैं समाजको भलाईका लागि कार्य गर्नुभयो र सधैं न्यायका लागि लड्नुभयो। उहाँको प्रेरणादायी जीवनले मलाई मात्र होइन, सारा गाउँलाई नै प्रभावित गरेको छ। 

अहिले हजुरबुवाको ८४ औं जन्मोत्सव नजिकै आइरहेको छ। म उहाँलाई त्यो विशेष दिनमा उपस्थित भएर श्रद्धा व्यक्त गर्न चाहन्छु। उहाँले मलाई केवल स्नेह र माया मात्र दिनुभएन, जीवनका मूल्यवान पाठहरू पनि दिनुभयो। उहाँप्रति मेरो अनन्त प्रेम, सम्मान र आभार सधैं कायम रहनेछ। उहाँको प्रेरणादायी जीवनले मलाई मेरो जीवनका हरेक चुनौतिमा अघि बढ्नका लागि हौसला दिएको छ।

सम्बन्धित समाचारहरू

Comments