ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ फागुन २३ देखि खुल्ने

  • झरना खबर
  • २०७७ फाल्गुण १४ गते १८:२४ बजे प्रकाशित

काठमाडौं – फागुन २३ गतेदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुल्ने भएको छ।

कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो।

अंकित मूल्य १ सयका दरले ६६ लाख कित्ता सेयर जारी हुनेछ। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ। 

आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। 

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। फागुन २८ गतेसम्म यसमा आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। 

नयाँ कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन्। 

ज्योतिसहित पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। 

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो। 

कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ। 

यसले कम्पनीको वित्तीय स्थिति औसतभन्दा राम्रो रहेको जनाउँछ। पछिबाट खुलेको जीवन बीमा कम्पनीमध्ये यो कम्पनीको बिजनेस वृद्धिदर राम्रो देखिन्छ। 

सम्बन्धित समाचारहरू

Comments