•  ३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित

- आश्विन ३०, २०८३ मा प्रकाशित

चार दशक लामो राजनीतिक यात्रा तय गरेका चालिसे गोकर्णेश्वरको नगर प्रमुखदेखि संसद्को अर्थ समिति सभापतिसम्मको जिम्मेवारी सम्हाल्दै केन्द्रीय नेतृत्वमा

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सन्तोष चालिसे केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। बागमती प्रदेश भूगोल खुलातर्फ भएको निर्वाचनमा चालिसेले २ हजार ५ सय ५० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।

अन्तिम मतपरिणामअनुसार प्रा.डा. सूर्यकान्त घिमिरे ३ हजार ७ सय ३ मतसहित पहिलो र इन्जिनियर रोहित पौडेल ३ हजार ६ सय २३ मतसहित दोस्रो स्थानमा विजयी हुनुभएको छ। चालिसेले पनि उल्लेख्य मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो।

चार दशकभन्दा लामो समयदेखि काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा समाजसेवा र राजनीतिमा सक्रिय रहँदै आउनुभएका चालिसेले आफ्नो राजनीतिक यात्रा वडास्तरबाट सुरु गर्नुभएको थियो। स्थानीय राजनीतिमा सक्रिय रहँदै गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख बन्नुभएका उहाँले त्यसपछि काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारी सम्हाल्नुभयो।

प्रतिनिधिसभामा रहँदा संसद्को अर्थ समिति सभापतिसमेत बन्नुभएका चालिसे स्थानीय तहको नेतृत्वदेखि संघीय संसद्सम्मको अनुभव बटुल्दै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न सफल हुनुभएको छ।

काठमाडौं क्षेत्र नं. ३ मा लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा संलग्न रहँदै आउनुभएका चालिसेको केन्द्रीय सदस्यमा भएको विजयलाई उहाँको राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

बागमती प्रदेश भूगोल खुलातर्फ केन्द्रीय सदस्यका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। उपलब्ध विवरणअनुसार बाबुराजा चित्रकारले २०७९, सुरजचन्द्र लामिछानेले २१५२, प्रमोद शर्माले १५९३, मधुकुमार श्रेष्ठले १४९९ र लाक्पा शेर्पाले १४१३ मत प्राप्त गर्नुभएको छ।

केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै चालिसेले अब नेपाली कांग्रेसको केन्द्रीय तहमा रहेर पार्टीको संगठन तथा राजनीतिक गतिविधिमा भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नुभएको छ।

झरना खबर

Comments