विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
- आश्विन २५, २०८३ मा प्रकाशित
काठमाडौं : उपत्यकाको पूर्वी क्षेत्रमा फैलिएको गोकर्णेश्वर नगरपालिका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले सम्पन्न भएसँगै यो नगर अहिले तीव्र शहरीकरणको चरणमा छ। बढ्दो जनसंख्या, बढ्दो सवारी चाप, पूर्वाधारको आवश्यकता, शिक्षा र स्वास्थ्यप्रतिको नागरिक अपेक्षा तथा रोजगारीका चुनौतीबीच स्थानीय सरकारका लागि काम गर्ने क्षेत्र पनि उत्तिकै फराकिलो बनेको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनपछि नगर प्रमुखको जिम्मेवारी दीपक कुमार रिसालले सम्हालिरहेका छन्। गोकर्णेश्वर नगरपालिका काठमाडौं जिल्लाको महत्वपूर्ण स्थानीय तह हो। धार्मिक पर्यटनका दृष्टिले गोकर्णेश्वर महादेव मन्दिरदेखि प्राकृतिक क्षेत्रसम्म यसको छुट्टै पहिचान रहेको छ। तर तीव्र शहरीकरणसँगै नगरका चुनौती पनि बढिरहेका छन्।
सडक, ढल, खानेपानी, फोहोर व्यवस्थापन, ट्राफिक, शिक्षा, स्वास्थ्य, सार्वजनिक स्थान र वातावरण संरक्षण अहिले नगरवासीका प्रमुख सरोकारका विषय हुन्। यही परिवेशमा स्थानीय सरकारले नीति, बजेट र कार्यक्रममार्फत विभिन्न क्षेत्रमा काम अघि बढाउँदै आएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि नीति, बजेट तथा कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ।
त्यसो त स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। त्यसैले स्थानीय तहको मूल्यांकन केवल ठूला भवन वा सडकबाट मात्र हुँदैन। नागरिकले सेवा लिन कार्यालय पुग्दा कति सहज भयो ? सिफारिस, घटना दर्ता, सामाजिक सुरक्षा, कर तथा अन्य प्रशासनिक सेवा कति व्यवस्थित भए ? यी प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्।
गोकर्णेश्वर नगरपालिकाले नागरिक वडापत्र, घटना दर्ता, सामाजिक सुरक्षा लगायतका सेवा र विद्युतीय शासनसँग सम्बन्धित प्रणालीलाई आफ्नो सेवा संरचनामा राखेको छ। त्यसैगरी नगरपालिकाको वेबसाइटमा सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, वार्षिक तथा चौमासिक प्रगति प्रतिवेदन लगायतका सामग्रीसमेत राखिएको छ।
गोकर्णेश्वरमा विकासको सबैभन्दा प्रत्यक्ष अनुभूति हुने क्षेत्र भनेको पूर्वाधार विकास हो । नगरका विभिन्न क्षेत्रमा सडक सुधार, ढल व्यवस्थापन, सार्वजनिक संरचना तथा अन्य भौतिक पूर्वाधारका योजना अघि बढिरहेका छन्। तर शहरी क्षेत्रको विकास केवल नयाँ सडक बनाउने विषय होइन। सडकसँगै ढल, खानेपानी, फुटपाथ, पार्किङ, सडक सुरक्षा र वातावरणलाई पनि जोडेर हेर्नुपर्ने आवश्यकता छ।
नगरपालिकाको नीति तथा कार्यक्रमले समावेशी विकास, रोजगारी सिर्जना र नगरवासीलाई आत्मनिर्भर बनाउने दिशालाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ। त्यस्तै स्थानीय सरकारको अर्को महत्वपूर्ण जिम्मेवारीमा रिहेको क्षेत्र स्वास्थ्य हो । त्यस्तैले गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै आएको छ। नगर अस्पतालको पूर्वाधार निर्माण र विस्तार त्यसैको एउटा महत्वपूर्ण उदाहरण हो।
नगरपालिकाको कार्यपालिका निर्णयमा १५ शय्याको नगर अस्पताल निर्माणसम्बन्धी आयोजना उल्लेख गरिएको छ। निर्माण कार्यमा ढिलाइ भएपछि समय थपसम्बन्धी निर्णयसमेत भएको सार्वजनिक अभिलेखमा देखिन्छ।
यसले एउटा कुरा देखाउँछ कि स्वास्थ्य पूर्वाधारमा लगानी भइरहेको छ, तर आयोजना समयमै सम्पन्न गर्ने चुनौती पनि स्थानीय सरकारसामु रहेको छ । नगरपालिकाले पूर्ण खोप सुनिश्चितता कार्यक्रम पनि अघि बढाएको छ। २०८२ मा गोकर्णेश्वरलाई पूर्ण खोप सुनिश्चितता भएको नगरका रूपमा घोषणा गरिएको नगरपालिकाको सूचना प्रणालीमा उल्लेख गरिएको छ। महिला स्वास्थ्य, स्वास्थ्य शिविर, पोषण तथा आधारभूत स्वास्थ्य सेवाका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।
गोकर्णेश्वरको विकासमा अर्को महत्वपूर्ण क्षेत्र हो शिक्षा – स्थानीय तहले विद्यालय व्यवस्थापन, विद्यार्थी सहायता, परीक्षा तयारी, छात्रवृत्ति तथा प्राविधिक र चिकित्सा शिक्षासँग जोडिएका कार्यक्रम अघि बढाउँदै आएको छ। नगरपालिकाले योग्य स्थानीय विद्यार्थीका लागि चिकित्सा शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको आधिकारिक सूचना छ। त्यसैगरी २०८३ सालमा सामुदायिक विद्यालयबाट एसईई तथा कक्षा ११ र १२ उत्तीर्ण गरेका योग्य स्थानीय विद्यार्थीमध्ये एक पुरुष र एक महिला विद्यार्थीलाई पूर्ण एमबीबीएस छात्रवृत्ति दिने घोषणा गरिएको नगरपालिकाको शिक्षा शाखाको सूचनामा उल्लेख छ।
एसईई ग्रेड वृद्धि कार्यक्रमसमेत नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट सञ्चालन गरिएको छ। शिक्षामा यस्तो लगानीले विद्यार्थीलाई अवसर दिन सक्छ। तर अर्को महत्वपूर्ण प्रश्न पनि छ— नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कसरी अझ माथि लैजाने ? शिक्षक, प्रविधि, प्रयोगशाला, अंग्रेजी तथा प्राविधिक शिक्षा र रोजगारीसँग जोडिएको सीपमा आधारित भएर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेको छ । त्यसैले नगरपालिकाले शिक्षा र रोजगारीसँगै खेलकुदलाई पनि स्थानीय विकासको महत्वपूर्ण हिस्सा मानेको छ । गोकर्णेश्वर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले खेलकुदसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नगरका विभिन्न क्षेत्रमा खेलकुद पूर्वाधार विकास, प्रतियोगिता तथा युवालाई खेलसँग जोड्ने प्रयास हुँदै आएका छन्। तर खेलकुदको विकासका लागि प्रतियोगिता मात्र पर्याप्त हुँदैन। खेलमैदानको संरक्षण, प्रशिक्षकको व्यवस्था, नियमित प्रशिक्षण, महिला खेलाडीको सहभागिता र प्रतिभावान खेलाडीलाई प्रोत्साहन पनि आवश्यक हुन्छ। त्यसैले यस्ता क्षेत्रमा नगरापलिकाले ठुलो आर्थिक लगानी वृद्धि गरेको छ ।
स्थानीय तहसँग नागरिकको अर्को ठूलो अपेक्षा हो रोजगारी – गोकर्णेश्वरले सीप विकास तथा रोजगारीसँग जोडिएका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। नगरपालिकाले इलेक्ट्रिक भेहिकल टेक्निसियन तालिम सञ्चालन गरिसकेको छ। यस्ता तालिमले युवालाई नयाँ प्रविधि र बजारको आवश्यकतासँग जोड्न सक्छ। तर तालिमपछि रोजगारी वा स्वरोजगारको अवसर कसरी सिर्जना गर्ने भन्ने विषय पनि रहेको छ । यस वारे नगरपालिकाले स्थानीय उत्पादन र व्यवसायलाई कसरी बजारसँग जोड्ने भनेर विभिन्न अनुसन्धाननात्मक कार्य गरिरहेको छ ।
गोकर्णेश्वर नगरपालिकामा शहर विकाससँगै वातावरणीय चुनौती पनि बढिरहेका छन्। फोहोर व्यवस्थापन, नदी संरक्षण, सार्वजनिक जग्गाको संरक्षण, धुलो–धुवाँ, सडकको भीड र पार्किङजस्ता समस्या नागरिकको दैनिक जीवनसँग जोडिएका छन्। त्यसैले मेयर रिसाललको सक्रियतामा बागमती करिडोर सडक किनारमा लामो समयदेखि सञ्चालन हुँदै आएको अव्यवस्थित फोहोर संकलन तथा वर्गीकरण केन्द्र पूर्ण रूपमा बन्द गरिएको छ। अहिले उक्त क्षेत्रमा हुँदै आएको फोहोर संकलन तथा वर्गीकरणको काम रोकिएको छ।
बाक्लो बस्ती नजिकै रहेको सार्वजनिक जग्गामा लामो समयदेखि फोहोर थुपारेर वर्गीकरण गरिँदै आएको उक्त क्षेत्रबाट दुर्गन्ध, फोहोर तथा वातावरणीय समस्या उत्पन्न भएको भन्दै स्थानीयवासीले लामो समयदेखि गुनासो गर्दै आएका थिए। स्थानीयको समस्या र विरोधलाई सम्बोधन गर्दै नगरपालिकाले उक्त क्षेत्र पूर्ण रूपमा खाली गराएको हो। फोहोर संकलन तथा वर्गीकरणका लागि बनाइएको छाप्रोसमेत भत्काइ सकिएको छ। नगरपालिकाको यो कदमसँगै बागमती करिडोर आसपासका स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको फोहोर तथा दुर्गन्धको समस्या समाधान भएको छ।
गोकर्णेश्वरजस्तो तीव्र शहरीकरण भइरहेको नगरका लागि पूर्वाधार विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण विषय हो। गोकर्णेश्वर नगरपालिकाको वर्तमान नेतृत्वमा नगर प्रमुख दीपक कुमार रिसाल रहेका छन्। स्थानीय तह निर्वाचनपछि नेतृत्व सम्हालेका रिसालले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा नगर व्यवस्थापनलाई प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेका छन्।
उनको राजनीतिक यात्राअघि पनि गोकर्णेश्वर नगरपालिकासँग सम्बन्धित विभिन्न भूमिकामा काम गरेको सार्वजनिक अनुभव रहेको छ। स्वास्थ्य र शिक्षामा भएका पछिल्ला कार्यक्रम, छात्रवृत्ति, नगर अस्पताल तथा सेवा प्रवाहका योजनालाई उनको नेतृत्वकालका प्रमुख नीतिगत विषयका रूपमा हेर्न सकिन्छ।
स्थानीय सरकारको मूल्यांकन केवल नेतृत्वको दाबीबाट मात्र हुन सक्छ भन्ने उदाहरण मेयर रिसालले प्रमाणित गरिदिएका छन् । रिसालले कामको परिणाम, बजेटको उपयोग, योजनाको गुणस्तर र नागरिकको सेवा प्रवाहलाई महत्वपूर्ण हिस्सा बनाएका छने । त्यसो त गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालको कार्यकालसँग जोडिएका विभिन्न अवार्ड तथा सम्मान पनि सार्वजनिक भएका छन्।
२०८० साल भदौ २२ गते स्वास्थ्य खबर पत्रिकाले आयोजना गरेको हेल्थ अवार्डमा मेयर सिराललाई नसर्ने रोगको न्यूनीकरण तथा नियन्त्रणमा योगदान पुर्याएको भन्दै स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा गठित छनोट समितिले उहाँलाई उक्त विधामा छनोट गरेको थियो । त्यस्तै २०८३ वैशाख १९ गते बी डी त्यागी स्मृति केन्द्रले साहित्यिक क्षेत्रमा योगदान पुर्याएको भन्दै उहाँलाई ‘नेपथ्य सम्मान’ प्रदान गरेको थियो ।
रिसालले प्राप्त गरेका अवार्डहरुको श्रृङखला यतिमा मात्र सिमित छैनन् २०८३ साल भदौ ६ गते थाइल्याण्डमा सम्पन्न नेपाल–थाइल्याण्ड फ्रेन्डशिप फेस्टिभल तथा एसिया ग्लोबल एक्ससेलेन्स अवार्ड मा उहाँलाई ग्लोबल एसिया नेपाल एक्ससेलेन्स मेयर अवार्ड प्रदान गरिएको थियो । स्थानीय शासन, ग्रामीण विकास र पर्यटन प्रवर्द्धनमा योगदान गरेकाले उक्त सम्मान प्रदान गरिएको हो। यसरी हेर्दा स्वास्थ्य, साहित्य, जनप्रतिनिधि तथा स्थानीय शासनसँग सम्बन्धित विभिन्न कार्यक्रममा मेयर दीपककुमार रिसाल सम्मानित भएको सार्वजनिक अभिलेख रहेको छ ।
गोकर्णेश्वर नगरपालिका अहिले विकासको एउटा महत्वपूर्ण चरणमा छ। सडकदेखि स्वास्थ्यसम्म, शिक्षादेखि खेलकुदसम्म, सुशासनदेखि रोजगारीसम्म— नगरले विभिन्न क्षेत्रमा योजना र कार्यक्रम अघि बढाइरहेको छ। केही काम देखिने गरी अघि बढेका छन् भने केही आयोजना अझै निर्माण वा कार्यान्वयनको अन्तिम चरणमा रहेका छन्। त्यस्तै केही क्षेत्रमा नागरिकको अपेक्षा अझै बाँकी छ।
गोकर्णेश्वर नगरपालिकाको अबको चुनौती भनेको- विकासलाई दिगो बनाउने, सेवा प्रवाहलाई अझ सरल बनाउने, सार्वजनिक स्रोतको प्रभावकारी उपयोग गर्ने र नागरिकको विश्वास कायम राख्ने हो। गोकर्णेश्वरको भविष्य केवल नगरपालिकाको भवनभित्र मात्र सिमित छैन । सडकमा, विद्यालयमा,अस्पतालमा, खेलमैदानमा, व्यवसायमा र सबैभन्दा महत्वपूर्ण नगरवासीको दैनिक जीवनमा फैलिएको छ ।
सार्वजनिक सेवा प्रवाहमा सुधारसँगै नागरिकको विश्वास बढाउने प्रयास-गोकर्णेश्वर नगरपालिकाको वर्तमान कार्यदिशाको एउटा महत्वपूर्ण पक्ष बनेको छ। नागरिकलाई सहज, छिटो र प्रभावकारी रूपमा सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यसहित गोकर्णेश्वर नगरपालिकाले सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ।
नगरपालिकाबाट प्रदान हुने प्रशासनिक तथा सामाजिक सेवामा प्रविधिको प्रयोग, नागरिकको सहज पहुँच, स्वास्थ्य तथा शिक्षा सेवाको विस्तार र स्थानीय तहबाटै समस्या समाधान गर्ने प्रयासलाई जोड दिइएको छ। सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकले अनावश्यक झन्झट व्यहोर्न नपरोस् भन्ने उद्देश्यले विभिन्न सेवाहरूलाई सरल र पहुँचयोग्य बनाउने प्रयास भइरहेको छ।
नगरपालिकाको नेतृत्वले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। यद्यपि, नागरिकको अपेक्षा र आवश्यकताअनुसार सेवा अझ प्रभावकारी बनाउन निरन्तर सुधार र अनुगमन आवश्यक देखिन्छ। नागरिकको अपेक्षा पूरा गर्ने लक्ष्य, सेवा प्रवाहमा निरन्तर सुधार र व्यवस्थित शहर निर्माणको अभियान—गोकर्णेश्वरको आगामी यात्राको मुख्य परीक्षा यही हुनेछ।
यही परिवर्तनको यात्रालाई निरन्तर नियाल्दै, झरना खबर प्रस्तुत गर्दछ — “गोकर्णेश्वरमा विकासको यात्रा, नागरिकको अपेक्षा ” विकास र समृद्धिको नयाँ संकल्प सहित गोकर्णेश्वर नगरपालिका विकास , सुशासन , शिक्षा , स्वास्थ्य , खेलकुद , नागरिक सरोकार र समृद्धिको आधार नामक एक वृत्त चित्र ।
झरना खबर
ट्रेन्डिङ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
-
आश्विन २३, २०८३गोकर्णेश्वरमा डिजिटल स्वास्थ्य बीमा सेवा, नौवटै वडाका कर्मचारीलाई ट्याब वितरण
-
आश्विन २३, २०८३रसुवाका बाढीपीडितलाई नेपाल पानी उद्योग महासंघको ३ लाख ४५ हजार रुपैयाँभन्दा बढी सहयोग
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments