•  २८ कार्तिक २०८३, शुक्रबार

बहुजन समुदायलाई राजनीतिक रूपमा संगठित हुन रिजवान अन्सारीको आह्वान

- कार्तिक २८, २०८३ मा प्रकाशित

सर्लाही । नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले उत्पीडित समुदायको अधिकार, सम्मान र मुक्तिका लागि राजनीतिक शक्ति निर्माण अपरिहार्य रहेको बताएका छन् ।

सर्लाहीको चक्करघट्टामा बहुजन एकता पार्टीद्वारा आयोजित बहुजन अधिकार सभा तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अन्सारीले दलित, बहुजन, मधेसी, आदिवासी जनजाति, मुस्लिम र थारूलगायत उत्पीडित समुदाय राजनीतिक रूपमा संगठित र शक्तिशाली नभएसम्म विभेद तथा शोषण अन्त्य हुन नसक्ने बताए ।

उनले उत्पीडित समुदाय अब अरूको राजनीतिक एजेन्डा र सत्ताको भरिया बनेर बस्न नहुने उल्लेख गर्दै आफ्नो अधिकार, प्रतिनिधित्व र शासनसत्तामा हिस्सेदारीका लागि आफैँ नेतृत्वमा स्थापित हुनुपर्ने धारणा राखे ।

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै अन्सारीले जातीय, सामाजिक तथा अन्य विभाजनबाट माथि उठेर उत्पीडित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । वर्षौंदेखि अरूलाई निर्वाचित गराएर आफ्नो अधिकारका लागि याचना गर्ने अवस्थाको अन्त्य गर्दै अब आफैँ नेतृत्व र निर्णय गर्ने ठाउँमा पुग्नुपर्ने उनको भनाइ थियो ।

उनले राजनीतिक सत्ता र राज्यका निर्णायक संरचनामा उत्पीडित समुदायको अर्थपूर्ण सहभागिताबिना सामाजिक न्याय, समानता र वास्तविक लोकतन्त्र सम्भव नहुने बताए । त्यसका लागि एकता, संगठन र संघर्षलाई सँगसँगै अघि बढाउनुपर्ने उनले उल्लेख गरे ।

वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै अन्सारीले सरकारका निर्णय राष्ट्रिय हित र जनभावनाविपरीत भइरहेको आरोप लगाए । जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीयता, समावेशिता, गणतन्त्र तथा धर्मनिरपेक्षताजस्ता उपलब्धि संकटमा परेको दाबी गर्दै उनले प्राप्त अधिकारको रक्षा र थप अधिकारका लागि एकजुट हुन आग्रह गरे ।

‘संघीयता, समावेशिता, गणतन्त्र र धर्मनिरपेक्षता कुनै शासकले जनतालाई उपहार दिएको उपलब्धि होइनन् । यी जनताको संघर्ष, त्याग र बलिदानबाट प्राप्त अधिकार हुन्,’ उनले भने, ‘त्यसैले यी उपलब्धिमाथि हुने कुनै पनि प्रतिगामी प्रहार स्वीकार्य हुन सक्दैन ।’

कार्यक्रममा नेपाल जनजागृति पार्टीका अध्यक्ष डा. धुपलाल निषादले बहुजन समुदायको अधिकार र सामाजिक न्यायका लागि आपसी एकता, सहकार्य तथा संगठन विस्तार आवश्यक रहेको बताए ।

त्यस्तै, मधेश प्रदेशकी पूर्व गृह, कानुन तथा सञ्चारमन्त्री एवं प्रदेश सभा सदस्य बिमला अन्सारीले सामाजिक विभेद र असमानता अन्त्य गर्न महिला, दलित तथा पछाडि पारिएका समुदायको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

बहुजन एकता पार्टीका कोषाध्यक्ष जितेन्द्र रामले पनि संगठन सुदृढीकरण, बहुजन समुदायको अधिकार र राजनीतिक जागरणका विषयमा धारणा राखेका थिए ।

बहुजन एकता पार्टीका नेता सुधीश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, अगुवा व्यक्तित्व तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा अन्सारीले छठ, तिहार तथा दीपावलीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामनासमेत व्यक्त गरेका थिए ।

Comments