•  २० भाद्र २०८३, शनिबार

काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण

- भाद्र १९, २०८३ मा प्रकाशित

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि काठमाडौं पानी संघले मानवीय सहायता उपलब्ध गराएको छ। संघले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको अभावलाई सम्बोधन गर्न राहत स्वरूप ८४० केस (१ लिटरका बोतलहरू) तयारी पिउने पानी हस्तान्तरण गरेको हो।

काठमाडौंको सामाखुसीस्थित राधे स्वामी केन्द्रमा स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयको आधिकारिक राहत संकलन केन्द्रमा पुगेर संघका अध्यक्ष गोकुल थापाको नेतृत्वमा पदाधिकारीहरूले उक्त राहत सामग्री एकमुष्ट बुझाएका हुन्।

राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष गोकुल थापासहित अमराज लामा, हरि गिरी, वीरबहादुर रुम्बा, भीमसेन खतिवडा, लाल बहादुर गुरुङ लगायत अन्य प्रतिनिधि तथा पानी उद्योगीहरूको विशेष उपस्थिति रहेको थियो। बाढी प्रभावित क्षेत्रमा दूषित पानीका कारण हुनसक्ने महामारी तथा संक्रामक रोगको जोखिमलाई न्यूनीकरण गर्न र तत्कालै स्वच्छ पानीको पहुँच पुर्‍याउन यो सहयोग केन्द्रमार्फत रसुवा पठाइने संघले जनाएको छ।

पानी हस्तान्तरण गर्दै संघका अध्यक्ष गोकुल थापाले भन्नुभयो,“रसुवामा आएको यस भयानक प्राकृतिक विपद्को घडीमा प्रभावित नागरिकहरूलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्नु हाम्रो मानवीय कर्तव्य हो। आगामी दिनमा पनि आवश्यकता अनुसार संघले थप राहत र सहयोगका कार्यहरूलाई जारी राख्नेछ।”

यसैगरी, उक्त राहत अभियानमा देशभरी स्वच्छ पानी आपूर्ति गर्दै आएका विभिन्न पानी उद्योगका सञ्चालक तथा प्रतिनिधिहरूको समेत विशेष सहभागिता रहेको थियो। राहत बुझाउन केन्द्रमा पुग्नुभएका उद्योगीहरूमा:

  • रामसुन्दर श्रेष्ठ – हिमाल मिनरल वाटर उद्योग
  • दिगज अमात्य – बोशी गाउँ फ्रेस फुड एण्ड वेभरेज
  • कपिल शाक्य – टी आर इन्टरनेसनल प्रा. लि.
  • सञ्जय अधिकारी – त्रिकोण वेभरेज
  • मनोज महेश्वरी – एम. बी. वेभरेज उद्योग
  • विनोद बस्नेत – हिमालयन स्प्रिङ
  • तेज प्रसाद दाहाल – सलम्बु खानेपानी
  • सबन श्रेष्ठ – अनीमेस प्रा. लि.
  • पशुपती श्रेष्ठ – अक्वा टिक उद्योग

बाढीपीडितका लागि देशैभरबाट राहत संकलन र वितरण तीव्र पारिएको अवस्थामा, काठमाडौं पानी संघले स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै यस्ता परोपकारी कार्यमा ऐक्यबद्धता जनाउँदै आएको छ।

Comments