•  ९ भाद्र २०८२, सोमबार

रोयल्टी कलेजद्वारा आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न : प्रेरणाको स्रोत बन्दै

- भाद्र ८, २०८२ मा प्रकाशित


काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा नम्बर-६ जोरपाटीमा रहेको रोयल्टी कलेजले ११ कक्षामा नयाँ भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि लक्षित गरेर राखेको अभिमुखिकरण तथा सकारात्मक सचेतनामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कलेजले जोरपाटी स्थित दिप ज्योति बैंकुटको सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो।

अभिमुखीकरण कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको नियम, आचारसंहिता, शैक्षिक प्रक्रिया तथा सहायक सेवाहरूको जानकारी दिने रहेको थियो । कार्यक्रम कलेजका अध्यक्ष टुकुमान लामाको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

कलेजका शैक्षिक संयोजक ध्रुब प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्दै ११ कक्षामा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा गौरवको अनुभूति भएको बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित गोकर्णेश्वर नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष नवराज लामाले सम्बोधन गर्दै वैज्ञानिक जस्तै आत्मनिर्भर, जिम्मेवार र समाज परिवर्तनका अग्रदूत बन्न विद्यार्थीहरुलाई प्रेरणा दिएका थिए । उनले विद्यार्थीहरूलाई आफ्नो कर्तव्य, समाज, परिवार र देशप्रतिको भूमिका बुझ्न, अध्ययन गर्न र सक्रिय रहन सन्देश पनि दिए ।

कलेजका कार्यकारी प्रमुख देवेन्द्र चन्द ठकुरीले सबै संकायका विद्यार्थीहरूलाई एउटै मञ्चबाट कलेजको बारेमा जानकारी दिई समयको सदुपयोग र आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए । रोयल्टी कलेजले शिक्षित मात्रै बनाउने नभई सर्वपक्षीय विकास गर्ने दक्ष जनशक्ति निर्माण गर्ने उहाँको भनाई थियो।

त्यसैगरी कलेजकी प्रिन्सिपल मिरा श्रेष्ठले कलेजको ‘टिम वर्क मेक्स ड्रीम वर्क’ भन्ने धारणा र ”कम्पिटिसन विथ आवर सेल्फ” भन्ने मूल्यमान्यतामा आधारित नेतृत्व संस्कृतिबारे उल्लेख गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा झरना खबरका अध्यक्ष टि एन धमला सहित शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले झनै रौनकता थपेको थियो । साँस्कृतिक, शैक्षिक र जानकारीमूलक आयामलाई समेट्दै सम्पन्न कार्यक्रमले कक्षा ११ का विद्यार्थीहरूका लागि सकारात्मक र प्रेरणादायी शैक्षिक यात्राको थालनी गराएको कलेज प्रशासनको भनाइ रहेको छ । साथै, सांगीतिक प्रस्तुति, नृत्य जस्ता विविध कार्यक्रमले उपस्थित विद्यार्थीहरूमा जोश थपेको थियो।

रोयल्टी कलेजको अभिमुखीकरण कार्यक्रम केवल जानकारी दिने औपचारिकता मात्र नभई विद्यार्थीको जीवनमा प्रेरणा, जोश र मार्गनिर्देशन भर्ने एक समर्पित प्रयास थियो। यहाँबाट सुरु भएको यात्रा भोलिका नेता, वैज्ञानिक, पत्रकार र समाज परिवर्तन कर्ताहरूको आधार बन्ने विश्वास सबैको अनुहारमा झल्किएको थियो।

कार्यक्रम संचालिका श्रृङ्खला चन्दले रोयल्टी कलेजमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन्। जीवनको नयाँ यात्रामा एउटा पाइला चाल्दै गरेका विद्यार्थीहरूले सही निर्णय गरेको र रोयल्टी कलेजबाट निस्किँदा आफ्नो रुचि र क्षमता भएको क्षेत्रको नेतृत्वकर्ता भएर निस्कने उनले उल्लेख गरिन् ।

पछिल्लो समय रोयल्टी कलेज प्रविधिमैत्री शिक्षासँगै विद्यार्थीको रोजाईमा पर्न थालेको छ । विषयवस्तु सहज रुपमा बुझ्नसक्ने गरी पढाइ हुने यो कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको हो । भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा अब्बल रोयल्टी कलेज विद्यार्थीहरुको पहिचान नै बनिसकेको छ ।

रोयल्टी कलेजले कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक शिक्षिका र विद्यार्थी क्षमताको प्रस्फुटनमा जोड दिदै आएको छ । कुशल व्यवस्थापनको नीति अनुसार संचालित यो कलेज ख्यातिप्राप्त बनेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर