टेलिभिजन कार्यक्रम इन्द्रेणीले हेलम्बुका बाढी प्रभावितलाई ६२ लाख सहयोग : आवास निर्माण प्रारम्भ

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १३:२४ बजे प्रकाशित

काठमाडौँ : सिन्धुपाल्चोक  हेलम्बुका बाढी पिढितलाई लोकप्रिय टेलिन कार्यक्रम इन्द्रेणीले ६२ लाख सहयोग गरेका छन् । हाल हेलम्बुका बाढी प्रभावितहरुले  अस्थायी आवास निर्माण प्रारम्भ गरेका छन् । 

इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । 

हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितहरुको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले बताउनु भयो । मंगलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको थियो । तीन लाख ६६ हजार रुपैयाँ बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले ६२ लाख रुपैयाँ हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आवास निर्माण कार्य पुरा गरेरै छाड्ने प्रतिबद्धता जनएका छन् ।

गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताएका छन् ।

सम्बन्धित समाचारहरू

Comments