भारतमा हालसम्मकै बढी कोरोना संक्रमित फेला, ३ हजार ९ सय बढीको मृत्यु

  • झरना खबर
  • २०७८ बैशाख २३ गते १२:३८ बजे प्रकाशित

काठमाडौं : छिमेकी राष्ट्र भारतमा दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी कोरोना संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भारतमा ४ लाख १२ हजार ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस अगाडि भारतमा ३० अप्रिलमा सबै भन्दा बढी ४ लाख २ हजार ३५१ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ९८० जना संक्रमितको मृत्यु भएको छ ।
त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ राज्यमा एक लाख बढी, सात राज्यमा ५० हजार बढी र १७ राज्यमा ५० हजार भन्दा कम कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।

त्यस्तै, २४ वटा राज्यहरुमा १५ प्रतिशत भन्दा बढी कोरोनाको पोजेटिभिटी रेट रहेको छ । मन्त्रालयका अनुसार भारतमा हरेक दिन २।४ प्रतिशत संक्रमितहरु बढिरहेका छन् ।

भारतको महाराष्ट्रमा ५७ हजार भन्दा बढी नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ९२० संक्रमितको मृत्यु भएको छ ।

जसमध्ये पनि सबै भन्दा बढी मुम्बईमा कोरोना संफमित फेला परेका छन् । मुम्बईमा मात्रै ७७ संक्रमितको मृत्यु भएको छ । त्यस्तै, महाराष्ट्रको नागपुरमा पनि पछिल्लो २४ घण्टामा थप ८७ जना संक्रमितको मृत्यु भएको छ ।

दिल्लीमा २० हजार बढी संक्रमित थपिए, ३ सय बढीको मृत्यु

भारतको केन्द्रीय राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा २० हजार ९६० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, ३ सय ११ संक्रमितहरुको मृत्यु भएको छ । दिल्लीमा संक्रमित दर २६ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिल्लीमा हालसम्म कोरोनाका कारण १८ हजार बढीको मृत्यु भइसकेको छ । हाल दिल्लीका अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ ।

सम्बन्धित समाचारहरू

Comments