
काठमाडौं । नेपालीका लागि क्रिकेट खेल मात्र होइन । खेलमा हुने जित र हारसँग खुसी जोडिएकाले पनि क्रिकेट भावना नै बनेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको सहभागिता हुन थालेको दुई दशक भन्दा बढी भइसक्यो । विगतको तुलनामा यो दशक भने विशेष उपलब्धिमूलक रह्यो ।
सिनियर क्रिकेट टोलीले यो अवधिमा थुप्रै सफलता हात पार्याे । डिभिजन पाँचमा रहेको नेपाली टोली एकदिवसीय तथा टी–२० मान्यता पाउने राष्ट्र बन्न सक्यो ।
यही अवधिमा टी–२० विश्वकप नै खेल्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) तथा एसियाली क्रिकेट परिषद् (एसीसी) का प्रतियोगिताहरु पनि बग्रेल्ती खेल्यो । यी अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये केहीमा ठूला सफलता हात पर्याे भने केहीमा नमिठो पराजय पनि । तर अन्तर्राष्ट्रिय मञ्चमा नेपाली ब्याटसम्यानले चौका र छक्का हानेको र बलरले बोल्ड र कटबिहाइन्ड गरेको साक्षी हुन पाउँदा समर्थक सधैं नै खुसी हुने गरेका छन् ।
कीर्तिपुरको घाँसे मैदान होस् वा खाडी तथा अन्य मुलुकका क्रिकेट मैदान, नेपाली समर्थकले जुनसुकै अवस्थामा पनि टोलीलाई हौसला दिन र क्रिकेटको मज्जा लिन मैदानमै जाने गरेका छन् । तर, नेपाली क्रिकेटमा एउटा कालो दिन पनि थियो । सन् २०१० को डिभिजन–५ अन्तर्गत नेपाल र अमेरिका बीच खेल भएको दिन ।
त्यसलाई सम्झँदा अझै पनि समर्थकहरु लज्जाबोध गर्छन् । अहिले त्यसको सम्झना अलि बढी नै आएको छ, चर्चा पनि चलिरहेको छ । तर, त्यो दिन मैदानमा उपस्थित सिमित दर्शकको व्यवहारले भने समर्थक मात्र नभइ खेलाडी, क्रिकेट संघलाई नै नैतिक संकट परेको थियो ।
घटना यस्तो थियो
डिभिजन–५ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र अमेरिकाबीच सन् २०१० फेब्रअरी २६ मा खेल भएको थियो । नेपाल र अमेरिकामध्ये विजयी हुने टोलीले माथिल्लो डिभिजनमा बढुवा हुन पाउने र हार्ने टोली अगाडि बढ्ने बाटो रोकिन्थ्यो ।
प्रतियोगिताको अर्को टोली सिंगापुरको राम्रो रनरेटको कारण दुबै टोली दबाबमा थिए । खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १ सय ६२ रन मात्र बनायो । जवाफी ब्याटिङ गरेको अमेरिकाले खेल सहजै जित्ने परिस्थिती बन्यो ।
सोही बेला दर्शक दीर्घाबाटबाट एउटा बोतल अमेरिकी क्रिकेटरलाई लक्षित गर्दै मैदानमा फालियो । एकैछिनमा एउटा हुलले बोतल र ढुंगा नै फाल्न थाले । मैदानमा तनाव देखिएर खेल नै रोक्नु पर्ने अवस्था आयो ।
पछि पुनः खेलाइँदा अमेरिकाले सहजै खेल जित्यो तर ओभर घटाएर खेलाइएकाले रन रेटका आधारमा नेपाल र अमेरिकाले चौथो डिभिजनमा उक्लने भए ।
तर, त्यो अस्वभाविक घटनाका कारण सिंगापुरलाई ठूलो क्षति भयो । यो विषयले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा स्थान पायो । सो घटनामा भिडियो फुटेज खुब चले । नेपालसहित अन्य देशका क्रिकेट समर्थक सबैले त्यो घटनाको भत्सर्ना गरे ।
ती केही उच्छृंखल दर्शकले गरेको व्यवहारको दोष १५ हजारको संख्यामा मैदानमै उपस्थित दर्शक र लाखौंको संख्यामा टेलिभिजन र इन्टरनेटमार्फत् हेरिरहेका दर्शकले सहनु पर्यो ।
अहिले फेरि यसकै त्रास
नेपालले आगामी माघ २२ देखि क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमान सम्मिलित त्रिदेशीय सिरिज खेल्दैछ ।
ओमान र अमेरिकाको पछिल्लो तयारी र प्रदर्शन विश्लेषण गर्दा नेपाल भन्दा ती दुबै राष्ट्र बलियो देखिएका छन् । नेपाली क्रिकेट अहिले खासै लयमा छैन । तर घरेदु मैदानको फाइदा भने नेपालले लिन सक्छ ।
हार र जितको सम्भावना बराबर नै छ । अझ भनौं जितका लागि नेपालले कठिन मेहनत गर्नै पर्छ । तर, नेपालले हार्ने अवस्था आउँदा दर्शकले त्यस्तै व्यवहार गर्छन् की भन्ने सम्भावना उत्तिकै देखिन्छ । तर याे पटक भने क्रिकेट संघले सुरक्षा निकायसँग मिलेर विशेष सुरक्षा रणानीति बनाइसकेकाे छ ।
नेपाली दर्शकका पनि छन् 'फ्यान'
अन्तर्राष्ट्रिय क्रिकेटका हस्तीका समर्थक जो सुकै हुन सक्छन् । तर अन्तर्राष्ट्रिय क्रिकेटमा जमेका कतिपय खेलाडी नेपाली समर्थकका प्रशंसक पनि हुन् ।
प्रशंसकको सूचीको पहिलो स्थानमा आयरल्याण्डका केभिन ओब्रायन छन् । उनले नेपाली दर्शकको खुलेरै प्रशंसा गर्ने गरेका छन् । नेपाली दर्शकको संख्या रउत्साह देखेर लोभिएका उनी यसअघि एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आइसकेका छन् ।
यस्तै हङकङका बाबर हायात नेपालमा फ्राञ्चाइज टी–२० लिग खेल्न आउँदा भनेका थिए – ‘म यहाँ पैसा कमाउन होइन, नेपाली दर्शकका लागि आएको हूँ । ’
उनलाई नेपाली दर्शकको व्यवहार मन पर्ने बताउँदै आएका छन्। यस्तै युएईका कप्तान रोहन मुस्तफा, हङकङका अन्शुमन राथलगायत नेपाली दर्शकका फ्यान नै हुन् । यी सबैको एकमत छ, नेपाली क्रिकेट दर्शककै कारण जीवन्त छ ।
अन्तिम अपडेट : २०७६ माघ २० गते ०४:५८ बजे
Comments