राष्ट्रिय जङगल मासिदा पनि वडा अध्यक्षको ध्यान अन्तै

  • झरना खबर
  • २०७७ फाल्गुण ८ गते ११:०० बजे प्रकाशित

दाङको तुलसीपुर उपमहानगरपालिका—८ स्थित गुह्य डाँडाको बहुमूल्य सालको बन गाँउले मिलेर मासेका छन्।

यो डाँडा राष्ट्रिय बन हो। यहाँका २ सय ४८ सालका रूख कटकुँईया गाउँका केही ब्यक्ति मिलेर दुई दिनमै काटेर स्वाहा पारेको तुलसीपुर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले सेतोपाटीलाई बताए। 

भूमिहिन, दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबास गरिरहेका ब्यक्तिलाई पूर्जा वितरण गर्न सरकारले लगत संकलन गरिरहँदा जग्गा प्राप्तिको लालचाले केही गाउँले मिलेर सालका ती रूख दुई दिनमै काटेको साहले जानकारी दिए।

‘भूमिहीन जनतालाई पूर्जा वितरण गर्ने कार्यक्रम अनुरुप सरकारले लगत संकलन गर्न थालेपछि जनताको गलत बुझाईले काट्न नपाईने सालका रूख धमाधम काटेर नष्ट गरेको पाइयो,’ उनले भने, ‘स्थानीयहरू लोभले लाभ लापले विपाल भनेझै जग्गाको पूर्जा अहिलै पाउने आशामा सबै रूख काटेर नष्ट गरेको पाइएको छ।’

जग्गाको पूर्जा पाउने लालचमा फागुन ४ गते पछि राष्ट्रिय वन अन्तर्गत रहेको गुह्य डाँडाको एक विगाहा क्षेत्रफल बढी जग्गाका २ सय ४८ वटा सालका मझौला तथा साना रूख काटेर नष्ट पारिएको सहायक वन अधिकृत साहले बताए।

तुलसीपुर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साह
गुह्य डाँडाका बहुमूल्य सालका रूख त्यसको सोझै मुन्तिर प्रति जग्गा भएका कटकुँईया गाउँका १३ जना मिलेर दुई दिनमै काटेका हुन्।

‘ती सबै सालका रूख दुई दिनमै काटेर त्यहाँ डोजर लगाएर पहाडलाई दुई चिरा पारि बाटो पनि रातारात खोले,’  एक स्थानीयले सेतोपाटीसँग भने, ‘राष्ट्रिय वन फडानी गर्न वडा सदस्य चित्रबहादुर डाँगीका परिवारको पनि मिलेमतो छ।’

यसबारे नेपाली कांग्रेसबाट निर्वाचित ६० वर्षीय वडा सदस्य डाँगीलाई भेट्दा रूख काटेकोबारे अनभिज्ञता ब्यक्त गरे। ‘म बिहान ६ बजे घरबाट निस्कन्छु र राति १० बजेतिर मात्रै घर पुग्छ,’ डाँगीले सेतोपाटीसँग भने, ‘मैले रूख काटेको पत्तै पाइनँ। कसले र कसरी काटे केही थाहा छैन।’

वडा सदस्य चित्रबहादुर डाँगी
तपाईँलाई घर परिवारका सदस्यले पनि यसबारे जानकारी दिएनन् भन्ने प्रश्नमा उनले भने, ‘मलाई रूख काटेको बारे कसैले पनि जानकारी दिएनन्।’

उनले आफ्ना तीन भाइ छोरा छुट्टिएर भिन्न भइसकेको भन्दै आफ्नो नाममा एक धुर पनि जग्गा नहरेको जिकिर गर्दै आफू शुद्ध सुकुम्बासी रहेको दाबी गरे।

यता स्थानीयकाअनुसार डाँडाको मुन्तिर जग्गा रहेका उनकै परिवारका सदस्यसमेत रूख काट्न गएका थिए।

‘त्यो डाँडोको मुन्तिर ज(जसको जग्गा जमिन छ, ती सबैले मिलेर रूख काटेका हुन्,’ एक स्थानीय युवाले भने, ‘उनीहरूले डाँडोमा डोजेर चलाएर बाटोसमेत निकालिसके।’

त्यो जग्गा आफ्नो नाममा ल्याउने उद्धेश्यका साथ आसपासमा जग्गा भएका स्थानीय केही ब्यक्ति मिलेर रूख काटेको उनले दाबी गरे।

स्थानीय सर्वसाधारणले सामुहिक रूपमा सेतोपाटीसँग छलफल गरे पनि फोटो खिच्न र नाम उल्लेख नगर्न आग्रह गरे। ‘यहीँ कारण हाम्रो गाउँमा झगडा पर्छ र एकले अर्कोलाई ढुकेर आक्रमण गर्ने अवस्था आउनसक्छ। त्यसैले कृपया हाम्रो नाम र फोटो नराख्नुहोला,’ उनीहरूले आग्रह गरे।

त्यहाँ भेटिएका अधिकांश बोल्नै डराए। हामीसँग कुरा गरेका मध्ये ६५ वर्षीय रमनकुमार चन्दले आफू दुई दिन अगाडि मात्रै रोल्पाबाट आउँदा डाँडो उजाड देखेको प्रतिक्रिया दिए। तर, उनले त्यो डाँडाको सामुन्ने जसको जग्गा थियो उनीहरू नै मिलेर रूख फँडानी गरेको बारे आफूले जानकारी नपाएको बताए।

६५ वर्षीय रमनकुमार चन्द
‘हिजो यहाँ कचहरी थियो,’ चन्दले भने, ‘त्यो कचहरीमा रूख काट्ने सबै गुह्य डाँडाको सोझै जग्गा जमिन रहेका केही ब्यक्ति हुन् भन्ने कुरा भइरहेको थियो।’

यहीका ५९ वर्षिय स्थानीय देविराम वलीले आफू उपचारका लागि कोहलपुर गएर दुई दिन अगाडि मात्रै फर्किएको हुँदा गुह्य डाँडाका रूख कसले काटेर उजाड बनायो भन्ने बारेमा केही जानकारी नभएको प्रतिक्रिया दिए।

विद्यालयबाट फर्किरहेको दुई विद्यार्थीले पनि सेतोपाटीसँगको कुराकानीमा आफूहरूले दिनदाहाडै सालका रूखहरू धमाधम स्थानीयले काट्दै गरेको देखेको प्रतिक्रिया दिए। ‘ यहीँका स्थानीयहरू बञ्चराले धमाधम रूख काटिरहेका थिए,’ दुई विद्यार्थीले एकै स्वरमा भने, ‘हामी त्यो देखेर आश्चर्यमा पर्‍यौं, त्यसरी रुख काट्न् क्रम करिब दुई दिन चलेको थियो।’

संवाददाता त्यहाँ पुग्दा गुह्य डाँडाभरी जताततै काटिएका सालका ठूटा मात्रै देखिन्थ्यो। तर, त्यहाँ काटिएका सालका रूख एउटा पनि थिएनन्। कारवाहीमा पर्ने डरले स्थानीयले लुकाएर राखेको केहीले प्रतिक्रिया दिए ।

गुह्यडाँडाको उत्तरतर्फ महालक्ष्मी सामुदायिक वन र पश्चिममा चुकिले खोला बगिरहेको छ। त्यसपछि अश्वारा सामुदायिक वन छ। महालक्ष्मी सामुदायिक वनका अध्यक्ष ५५ वर्षीय ताराप्रसाद देवकोटाले कटकुँईयाका केही स्थानीयले अक्षम्य अपराध गरेकाले कानुन अनुसार कारबाही हुनुपर्ने माग गरे ।

महालक्ष्मी सामुदायिक वनका अध्यक्ष ५५ वर्षीय ताराप्रसाद देवकोटा
कटकुँईया गाउँ तुलसीपुर बजारदेखि साढे ३ किलोमिटर पश्चिममा पर्छ। जहाँको जग्गाको प्रचलित  मूल्य प्रतिकठ्ठा २० लाख भन्दा बढी छ।

एक बिगाहा बढी क्षेत्रको राष्ट्रिय वन मासेर करोडौं मूल्य बराबरको जग्गा आफ्नो नाममा पार्न केही व्यक्ति मिलेर फारम भर्न खोजे स्थानीयले आरोप लगाए।

राष्ट्रि वन अन्तर्गतको गुह्य डाँडा यसअघि नै पटक पटक अतिक्रमणमा  परेको छ। त्यहाँ शेरबहादुर वलीलगाएतले घर टहरासमेत बनाएर बस्न थालेका छन्।

सहायक वन अधिकृत विनोद साहले कुनै पनि मानिसले नाम खुलाउन नचाहे पनि आफूहरूले खोजी तथा अनुसन्धान जारी राखेको जानकारी दिए।

अनुसन्धान भइरहेको भन्दै उनले रूख काट्ने व्यक्तिको नाम दिन खुलाएनन्। स्थानीयले  सहायक वन अधिकृत साहलाई क(कसले मिलेर रूख काटेका हुन् भन्नेबारे सबै जानकारी दिइसकेका छन्।

वन पदाधिकारी, वडाध्यक्ष बेदबहादुर केसीसहितको टोलीले घटनाबारे फागुन ४ गतेदेखि घटनास्थल पुगेर निरन्तर अनुसन्धान तथा सोधपुछ गरिरहेको छ ।

उनले काट्नै नपाईने साना गोलिया आकारका सालका रूख काटेको देख्दा मन रोएको बताए। ‘काटेका सबै रुख त्यहीँ खोला नजिकै संकलन गरेर राखिएको छ,’ साहले भने, ‘हामी ती सबै काठ शनिबार बोकाउँछौं।’

उनले आइतबारसम्म आफूहरूले छलफल गरि मोटामोटी निचोड सार्वजनिक गर्ने जानकारी दिए। उनले स्थानीयले केही कुरा भन्न नचाहेको बताउँदै ती रूख फागुन ४ गतेपछि मात्रै काटेको प्रतिक्रिया दिए।

‘लगभग दुई दिन भित्रै ती सबै रूख काटेको जस्तो देखिएको छ,’ सहायक वन अधिकृत साहले भने, ‘रूख काट्ने काममा संलग्नलाई जति बिगो हुन्छ त्यहीँ अनुसार वन ऐन अन्तर्गत मुद्दा चलाएर कारबाही गर्छौं।’

उनले रूख काटेर उजाड पारिएको डाँडालाई पुनः तारबार गरेर राष्ट्रिय वन क्षेत्र कायम गरिने बताए। ‘ काठ दाउराको मूल्याङकन गरेर बिगोको निर्धारण हुन्छ। बिगो अनुसार दोषीलाई जेल सजाय हुन्छ,’ साहले भने,‘रूख काटिएर घडेरी निकालिएको ठाउँमा पुनः तारबार गरेर राष्ट्रिय बन क्षेत्र बनाइन्छ।’

यता स्थानीयले केही नेता र वन पदाधिकारीसमेत राष्ट्रिय वनका रूख काटेर त्यो जग्गालाई आफ्नो नाममा पूर्जा निकाल्ने चाहानेलाई चोख्याउन प्रयासरत रहेको आशंका गरिरहेका छन्। 

सम्बन्धित समाचारहरू

Comments