खेलकुदको क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाले अपेक्षित प्रगति हाँसिल गरेको छ - अध्यक्ष लामा (भिडियो सहित)

  • झरना खबर
  • २०८१ आश्विन ३ गते ११:२२ बजे प्रकाशित

जोरपाटी - गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अर्थात युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्जय लामाले नगरपालिका क्षेत्रको खेलकुदको विकास र खेलाडीको समृद्धिका लागि आवश्यक योजना र पूर्वाधार विकास क्षेत्रको काम तिब्र रुपमा भइरहेको बताएका छन् ।

नगरपालिकाले नीति तथा कार्यक्रम मार्फत खेलकुदको क्षेत्रमा बजेट बाँडफाँडको समेत राम्रो प्रबन्ध गरेको र खेलकुदको क्षेत्रमा नगरपालिकाले अपेक्षित प्रगति हासिल गर्न सफल भएको लामाले बताएका छन् ।

उनले समग्र नगरपालिकामा खेलकुद पूर्वाधार विकासमा खेलाडीले चाहे अनुसार काम भइरहेको बताएका छन् । झरना खबरबाट प्रसारणहुने नियमित कार्यक्रम 'हाम्रो चासो' मा पत्रकार टि एन धमला सँगको कुराकानीमा लामाले खेलकुदका लागि भौतिक पूर्वाधारको विकास तथा खेलाडीको सामाजिक विकासमा यो वर्षको आर्थिक बजेट केन्द्रित रहेको बताएका छन् । यस पटक खेलकुद क्षेत्रको विकास बजेटको आकारमा कमि नभएको र पूर्वाधार विकासमा समेत चामत्कारिक काम भएको उनले बताएका छन् ।

नगरपालिकामा खेलकुदको क्षेत्रमा भएको प्रगतिबाट गोकर्णेश्वर नगरपालिकालाई विश्वले चिन्ने समय आउन लागेको लामाले बताए। “विभिन्न शक्तिसम्पन्न राष्ट्रहरुले खेललाई पेशा, व्यवसाय र उद्योगका रुपमा विकास गरेका छन्”, उनले भने, “खेलकुदका लागि गोकर्णेश्वर नगरपालिका हरेक हिसाबले अनुकूल छ, हावापानी र प्रकृतिले उत्तिकै साथ दिएको छ।” उनले खेलकुदको क्षेत्रमा आफु संयोजक भएर आएपछि कसैले पनि पछुतो मान्न पर्ने अवस्था नरहेको बताए। “खेल र खेलाडीलाई सम्मान गर्ने परिपाटीको विकास भएको छ”, उनले भने, “खेलकुदप्रति खेलाडीको आकर्षण पनि निकै बढेर गएको छ।”

युवा तथा खेलकुद विकास समितिका अध्यक्ष लामाले नगरपालिकाले संचालन गरेका नगर मेयर कप तथा उप-मेयर कप जस्ता प्रतियोगिताले नगरको इज्जत र प्रतिष्ठामा उल्लेख्य वृद्धि भएको बताए। “खेलाडीलाई नगरपालिकाको तर्फबाट आवश्यक प्रोत्साहन र हौसला प्रदान गर्न कुनै कमि नगर्ने बताएका छन् । उनले नगरपालिका र युवा तथा खेलकुद विकास समिति खेलाडीलाई आवश्यक पर्ने जुनसूकै पूर्वाधार विकास गर्न पछि नहट्ने विश्वास दिलाए।

अध्यक्ष लामाले नगरपालिकाले विश्वसँग भिड्न सक्ने एकमात्र माध्यम खेलकुदलाई समेत बनाएको बताए। “हामी बम बारुदमा अरूसँग लड्न सक्दैनौँ”, उनले भने, “खेलकुदमा जीत हासिल गरेर पुरै देशमा गोकर्णेश्वर नगरपालिकाको शिरलाई उच्च पार्न सक्छौँ।”

उनले खेलकुदलाई संस्कृति र पर्यटनसँग जोडेर नगरलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत रहेको युवा तथा खेलकुद विकास समितिले वडा नम्बर १ देखि ९ नम्बर सम्म विभिन्न खेल अन्तर्गतका कार्यक्रमहरु संचालन गर्दै आएको समेत लामाले बताएका छन् ।

लामा खेलाडीहरुको सुझाव र आवश्यकता पहिचानका आधारमा खेलकुद क्षेत्रको विकास गर्दै गइरहेका छन् भने खेलाडीहरुको चौतर्फी विकासको लागि सदैब लागि परिरहेका छन् । अध्यक्ष लामासँग गरिएको बाँकी कुराकानीको अंश भिडियोमा हेर्नुहोस्..... 

सम्बन्धित समाचारहरू

Comments