म्यानमारमा प्रदर्शन झन चर्कीयो,सरकारी कर्मचारी र प्रहरी पनि आन्दोलनमा

  • झरना खबर
  • २०७७ फाल्गुण ४ गते ०८:२७ बजे प्रकाशित

विदेश : म्यानमारमा फेब्रुअरी १ मा सेनाले कुमार्फत सत्ता लिएपछि पछिल्लो साता म्यानमारमा दिनदिनै ठूल्ठूला प्रदर्शनहरू भइरहेका छन्। कतिपय सरकारी कर्मचारीहरूले काम गर्न छोडेका छन्। नागरिक अवज्ञामा पछिल्लो समय केही प्रहरी अधिकारीहरूले पनि साथ दिएको समचारमा जनाईएको छ ।दुई साताअघि सैन्य कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनलाई निस्तेज पार्न सडकमा बख्तरबन्द गाडी गुडाईरहेका छन् ।

सोमबार साँझ राजधानी नेपिदअसहित व्यापारिक सहर रंगुन, रखाइन प्रान्तको राजधानीलगायत सहरका सडकमा बख्तरबन्द गाडी गुडेका छन्। कूपछि पहिलो पटक सेनाले सडकमा बख्तरबन्द गाडी पठाएपछि नागरिकमा त्रास छाएको छ। आइतबार रातिदेखि इन्टरनेट पनि बन्द गरिएको छ।

यसअघि म्यानमारस्थित अमेरिकी दूतावासले सेनाले केही कदम चाल्न थालेको र इन्टरनेट बन्द हुन सक्ने बताएको थियो। उसले राति १ बजेदेखि बिहान ९ बजेसम्म टेलिफोनमा पनि समस्या आउन सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । सोमबार राति साढे १ बजेदेखि देशभरिको इन्टरनेट सामान्य समयभन्दा १४ प्रतिशतमात्र सुचारू रहेको इन्टरनेट मनिटरिङ गर्ने नेटब्लक्सले जनाएको छ।

अमेरिका, बेलायत, क्यानडा, इयूसहितका राजदूतहरूले आइतबार एक विज्ञप्ति जारी गर्दै गत साता सेनाले गरेका गिरफ्तारी र इन्टरनेट बन्दजस्ता विषयमा चासो राखेका थिए। उनीहरूको विज्ञप्तिमा भनिएको छ,‘म्यानमारका जनताको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र सम्मृद्धिको खोजीमा हाम्रो सहयोग छ। संसारले हेरिरहेको छ।’ यसअघि अघिल्लो शनिबार पनि इन्टरनेट बन्द गरिएको थियो। २४ घन्टापछि फेरि सुचारू भएको थियो।

सैनिक कूविरूद्ध प्रदर्शन गर्नेमध्ये धेरै युवा पुस्ता छन्। उनीहरू प्रदर्शन आयोजना गर्न, त्यसको भिडिओ र फोटो खिच्न र सुरक्षाकर्मीको प्रतिक्रिया रेकर्डमा राख्न इन्टरनेट प्रयोग गर्छन्, कतिले त लाइभ पनि गर्छन्। एजेन्सीको सहयोगमा

सम्बन्धित समाचारहरू

Comments