•  २३ आश्विन २०८३, शुक्रबार

रसुवाका बाढीपीडितलाई नेपाल पानी उद्योग महासंघको ३ लाख ४५ हजार रुपैयाँभन्दा बढी सहयोग

- आश्विन २३, २०८३ मा प्रकाशित

विभिन्न प्रदेश तथा जिल्लाका पानी उद्योग संघबाट रकम संकलन, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा हिमबाढीबाट प्रभावित परिवारको राहतका लागि नेपाल पानी उद्योग महासंघले ३ लाख ४५ हजार ९ सय २१ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढी तथा हिमबाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले महासंघले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो।

महासंघले शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेको छ। महासंघका अध्यक्ष विक्रम लिम्बु चेम्जोङ, कोषाध्यक्ष देवनारायण चौलागाईं, काठमाडौँ पानी उद्योग संघका अध्यक्ष गोकुल थापा तथा महासचिव अमराज लामाले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन्।

महासंघका अध्यक्ष विक्रम लिम्बु चेम्जोङले महासंघअन्तर्गतका विभिन्न प्रदेश तथा जिल्ला संघहरूबाट रकम संकलन गरी बाढीपीडितका लागि आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी झरना खबरलाई दिए।

महासंघका अनुसार कोशी प्रदेश पानी उद्योग संघले १ लाख रुपैयाँ र मधेस प्रदेश पानी उद्योग संघले १६ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, मकवानपुर पानी उद्योग संघले १५ हजार रुपैयाँ, काठमाडौँ पानी उद्योग संघले ५१ हजार रुपैयाँ, भक्तपुर पानी उद्योग संघले ३० हजार रुपैयाँ, ललितपुर पानी उद्योग संघले ४१ हजार रुपैयाँ र रुपन्देही पानी उद्योग संघले ३० हजार रुपैयाँ सहयोग गरेका छन्।

यसैगरी, कर्णाली प्रदेश पानी उद्योग संघ र सुदूरपश्चिम प्रदेश पानी उद्योग संघले क्रमशः ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। महासंघका अध्यक्ष चेम्जोङले व्यक्तिगत रूपमा ३० हजार ५ सय ९९ रुपैयाँ योगदान गरेका छन् भने महासंघका एसोसिएट सदस्यद्वय मित्र दाहाल र आनन्द पाण्डेले जनही ५ हजार रुपैयाँ सहयोग गरेका छन्।

महासंघका अनुसार रुपन्देही पानी उद्योग संघले यसअघि नै आफ्नो तर्फबाट थप २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ। रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले महासंघलाई हार्दिक धन्यवाद सहितको पत्र प्रदान गरेको छ।

महासंघले विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग रकम संकलन गरेको जनाएको छ। बाढी तथा हिमबाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न र राहत कार्यमा सहयोग पुर्‍याउन उक्त रकम उपयोगी हुने अपेक्षा गरिएको छ।

विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै महासंघले विभिन्न संघ तथा सदस्यहरूको सहकार्यमा आर्थिक सहयोग जुटाएको जनाएको छ।

झरना खबर

Comments