•  ३१ भाद्र २०८३, बुधबार

बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा

- भाद्र ३१, २०८३ मा प्रकाशित

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, जोरपाटीस्थित आनन्द गणेश टोल नजिकै बागमती करिडोर सडक किनारमा लामो समयदेखि सञ्चालन हुँदै आएको अव्यवस्थित फोहोर संकलन तथा वर्गीकरण केन्द्र पूर्ण रूपमा बन्द गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल, बौद्ध प्रहरी वृत्त र नगर प्रहरीको प्रत्यक्ष उपस्थितिमा उक्त क्षेत्रमा हुँदै आएको फोहोर संकलन तथा वर्गीकरणको काम रोकिएको हो। स्थानीय प्रहरीसँगको समन्वयमा फोहोरका गाडीहरू रोकेर राख्ने कार्यसमेत बन्द गराइएको नगरप्रमुख रिसालले बताउनुभएको छ।

(जोरपाटीको सार्वजनिक जग्गामा वर्षौंदेखि हुँदै आएको अव्यवस्थित फोहोर संकलन तथा वर्गीकरण रोकियो, छाप्रो भत्काएर क्षेत्र खाली)

बाक्लो बस्ती नजिकै रहेको सार्वजनिक जग्गामा लामो समयदेखि फोहोर थुपारेर वर्गीकरण गरिँदै आएको थियो। यसबाट दुर्गन्ध, फोहोर तथा वातावरणीय समस्या उत्पन्न भएको भन्दै स्थानीयवासीले लामो समयदेखि गुनासो गर्दै आएका थिए।

स्थानीयको समस्या र विरोधलाई सम्बोधन गर्दै नगरपालिकाले उक्त क्षेत्र पूर्ण रूपमा खाली गराएको हो। फोहोर संकलन तथा वर्गीकरणका लागि बनाइएको छाप्रोसमेत भत्काइएको छ।

खाली गरिएको सार्वजनिक जग्गालाई तत्काल नगर प्रहरीमार्फत तारबार गरी सुरक्षित बनाउने तयारी गरिएको छ। नगरपालिकाले अब उक्त स्थानमा फोहोर थुपार्ने वा वर्गीकरण गर्ने कार्य नगरी सार्वजनिक पार्क निर्माण गर्ने योजना अघि सारेको छ।

नगरपालिकाको यो कदमसँगै बागमती करिडोर आसपासका स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको फोहोर तथा दुर्गन्धको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

मेयर रिसाल र प्रहरीको उपस्थितिमा फोहोर केन्द्र हटाइएपछि उक्त स्थानलाई व्यवस्थित र सार्वजनिक प्रयोजनमा प्रयोग गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

Comments