हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी
- असार ३१, २०८३ मा प्रकाशित
काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर हर्ट अट्याक भएका ५५ वर्षीय एक बिरामीको नेपाल मेडिकल कलेजमा समयमै गरिएको एन्जियोग्राफी तथा एन्जियोप्लास्टीमार्फत सफल उपचार गरिएको छ । चिकित्सकको तत्परताका कारण मृत्युको मुखबाट फर्किएका बिरामी अहिले पूर्ण रूपमा खतरामुक्त अवस्थामा छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदी निवासी पदमबहादुर तामाङ (५५) लाई असार २४ गते बिहान अचानक तीव्र छाती दुख्ने, रिंगटा लाग्ने तथा अत्यधिक असहज महसुस हुन थालेपछि परिवारले सुरुमा सामान्य समस्या ठानेका थिए । स्थानीय झाँक्रीसमेत देखाइए पनि स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत नेपाल मेडिकल कलेजको इमरजेन्सी विभागमा ल्याइएको थियो ।
अस्पताल पुगेलगत्तै चिकित्सकहरूले तत्काल ईसीजी र आवश्यक रक्त परीक्षण गरेपछि उनलाई गम्भीर हर्ट अट्याक भएको पुष्टि भयो । त्यसपछि एक क्षण पनि ढिलाइ नगरी उनलाई क्याथल्याबमा लगिएको थियो ।
नेपाल मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुर्यराज पाठक नेतृत्वको कार्डियाक टोलीले एन्जियोग्राफी गर्दा मुटुका दुईवटा महत्वपूर्ण धमनी पूर्ण रूपमा बन्द भएको पत्ता लगाए । तत्पश्चात तत्काल एन्जियोप्लास्टी गरी स्टेन्टमार्फत दुवै नसा सफलतापूर्वक खोलिएको थियो ।
“बिरामी अस्पताल आइपुग्दा अवस्था निकै गम्भीर थियो । समयमै परीक्षण गरेर तुरुन्तै क्याथल्याबमा लग्यौं । एन्जियोग्राफी गर्दा दुईवटा मुख्य नसा बन्द भएको देखियो र तत्काल उपचार गरी रक्तसञ्चार पुनः सुचारु गर्यौं,” डा. पाठकले बताए ।
उनका अनुसार बिरामी लामो समयदेखि मधुमेहबाट पीडित भए पनि औषधि नियमित रूपमा सेवन नगरेकाले जोखिम बढेको थियो । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलको मात्रा बढी हुनु, धुम्रपान, मद्यपान तथा शारीरिक निष्क्रियता हर्ट अट्याकका प्रमुख जोखिम कारक हुन् । “जसलाई उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोलको समस्या छ, धुम्रपान वा मद्यपान गर्नुहुन्छ अथवा शारीरिक रूपमा सक्रिय हुनुहुन्न, उहाँहरूमा हर्ट अट्याकको जोखिम धेरै हुन्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने, पसिना आउने वा रिंगटा लाग्ने जस्ता लक्षण देखिए तुरुन्त अस्पताल पुग्नुपर्छ,” उनले सुझाव दिए ।
उपचारपछि स्वास्थ्य लाभ गरिरहेका पदमबहादुर तामाङले घर नजिकै सुविधा सम्पन्न अस्पताल र मुटुरोग विशेषज्ञ उपलब्ध भएकै कारण आफ्नो ज्यान जोगिएको बताए । “हामी सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने मान्छे हौं । यति छिटो र सहज रूपमा उपचार पाइन्छ भन्ने सोचेको थिइनँ । समयमै अस्पताल ल्याइएकाले आज नयाँ जीवन पाएँ । नेपाल मेडिकल कलेज र उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति म आभारी छु,” उनले भने ।
डा. पाठकका अनुसार नेपाल मेडिकल कलेजमा क्याथल्याब सेवा सञ्चालनमा आएपछि काठमाडौंको उत्तरपूर्वी क्षेत्र तथा आसपासका जिल्लाका मुटुरोगीहरूलाई ठूलो राहत पुगेको छ । पछिल्ला केही महिनायता मुटुरोग तथा विशेषगरी हर्ट अट्याकका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको उनले जानकारी दिए ।
उनले हर्ट अट्याकको शंका लाग्नेबित्तिकै समय खेर नफाली विशेषज्ञ सेवा उपलब्ध हुने अस्पताल पुग्न आग्रह गर्दै समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिने बताए ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments