प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
- बैशाख २९, २०८३ मा प्रकाशित
काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सक (PABSOK) को छैटौँ अधिवेशन आज सम्पन्न भएको छ । यही वैशाख २८ गते सोमबार काठमाडौंको चाबहिलमा रहेको केएल टावर स्थित इम्पेरियल बैङ्कुटमा र दिउँसो १ बजेदेखि सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
अधिवेशनबाट मिरा सिलवाल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । प्याब्सकको २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष चयन भएको भन्दै यसलाई संस्थाको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
सिलवालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुदीप काफ्ले तथा महासचिवमा रामेश्वर तिवारी निर्वाचित हुनुभएको छ ।

शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी निर्वाचित सिलवालले निजी विद्यालय क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय तथा समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई अझ विश्वासिलो बनाउँदै शैक्षिक सुधारका लागि सहकार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
अधिवेशनमार्फत चयन भएको नयाँ कार्यसमितिले निजी विद्यालयहरूको हकहित संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।
प्याब्सकको इतिहासमा पहिलो महिला अध्यक्ष चयन भएको अवसरलाई शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन र समावेशी नेतृत्वको संकेतका रूपमा हेरिएको छ ।
वास्तवमा सिलवालको सक्रियता विद्यालयमा मात्र सीमित छैन । उहाँले सामाजिक सेवामा पनि आफ्नो नेतृत्व क्षमता देखाइरहनु भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सक (PABSOK) लाई नयाँ उचाइमा पुऱ्याउन, संगठन विस्तार र बृहत शैक्षिक एकता सहितका एजेण्डालाई मुर्तरुप दिने सिलवालको विशेषताले पनि उहाँलाई अध्यक्षमा निवार्चित गराउन भूमिका खेलेको हो ।
निजी विद्यालयमा देखिएका कमीकमजोरीको समाधान गर्ने प्रणालीमा निरन्तर लाग्नुभएकी सिलवाल शिक्षा क्षेत्रको विकासका लागि राजनीतिभन्दा माथि उठेर शैक्षिक संस्थालाई गुणस्तरीय र अब्बल बनाउन क्रियाशिल रहँदै आउनुभएको छ ।
















Comments
[gs-fb-comments]