•  १९ फाल्गुन २०८२, मंगलवार

आर्थिक अनियमितता आरोपका बिच चुनाव जित्ने दाउमा काठमाडौं क्षेत्र नम्बर-३ का काँग्रेस उम्मेदवार रमेश अर्याल

- फाल्गुन १९, २०८२ मा प्रकाशित


काठमाण्डौं-पाठकवर्ग फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता अन्र्तगत मौन अवधि सुरु भइसकेको छ । काठमाडौँ क्षेत्र नम्बर-३ मा कांग्रेसको तर्फबाट रमेश अर्याल उम्मेदवारका रूपमा चुनावी मैदानमा रहेका छन्। अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित भएर काम गरिसकेकका पूर्व वडा अध्यक्ष हुन । कतिपयले अर्याललाई कांग्रेसको भरोसायोग्य र जनआधारित उम्मेदवारका रूपमा समेत विश्लेषण गरेका छन् ।

अर्यालले वडा अध्यक्ष हुँदा स्थानीय आवश्यकता, विकास योजना र ठोस परिणाममा रहेर काम गरेका छन् । अर्यालले वडामा काम गर्दा जनताको अपेक्षा अनुसार नै काम गरेका थिए । अर्याल आफूलाई परम्परागत राजनीतिभन्दा फरक ढंगले प्रस्तुत गर्न चाहन्छन् । यस पटक जेनजी आन्दोलन र युवाको असन्तुष्टिले जन्मिएको राजनीतिक असन्तुष्टी हटाउन राजनीतिमा नयाँ सोच र कार्यशैली ल्याउनुपर्ने उनको बुझाइ छ । जेनजी आन्दोलनपछिको अवस्थामा फरक ढंगले काम गर्नुपर्ने छ । विगतको भन्दा नयाँ शैलीमा जनताका भावना समेट्नु पर्ने छ ।

रमेश अर्यालले गोकर्णेश्वर नगरपालिकाभित्रका प्राय सबै क्षेत्रमा सामाजिक पहुँच बलियो बनाएका छन् । वडा अध्यक्ष हुँदा निरन्तर जनसम्पर्कमा रहेका अर्याल जनताको संकटमा सक्रियता र परिणाममुखी कामका कारण मतदातामाझ काम गर्ने नेताका रूपमा परिचित छन् । वि.सं.२०२३ साल जेठ २२ गते काठमाडौंमा जन्मिएका अर्यालको स्थायी ठेगाना गोकर्णेश्वर नगरपालिकाको अर्याल गाउँ हो । स्नातक तहसम्म अध्ययन गरेका उनी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका अर्याल स्थानीय तहमा काम गरेको अनुभव छ ।

यद्यपी अर्याललाई केहि आरोप समेत लाग्ने गरेको छ । अर्यालले गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-६ जोरपाटी चोक स्थित सरकारी जग्गामा बसेको तत्कालिन सानो बजार रहँदा सानो बजार व्यवसायी समूह र उक्त समूहका तत्कालिन अध्यक्ष समेत रहेका बद्री खतिवडासँगको मिलेमतोमा धेरै पैसामा सटर भाडा लगाउने र नगरपालिकालाई भाडा वापत कम पैसामा सम्झौता गराएर रकम अपचलन गर्ने गरेको आरोप लाग्दै आएको स्थानीयहरु बताउँछन् । तर उक्त आरोप निराधार र कपोकल्पित भएको उनका समर्थकहरुले बताएका छन् । अर्यालले कोभिडको समयमा पर्याप्त काम नगरेको, विद्यालय शिक्षा सुधारमा कुनै भूमिका नखेलेको भन्ने जस्ता आरोप समेत लाग्दै आएका छन् । यद्यपी आर्थिक अनियमितताको आरोपका बिच चुनाव जित्ने दाउमा अर्याल रहेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर-३ मा यसपटकको निर्वाचन नारा र व्यक्तित्वभन्दा बढी काम,अनुभव र परिणामको प्रतिस्पर्धा बनेको छ । यही प्रतिस्पर्धामा रमेश अर्याल नेपाली कांग्रेसको तर्फबाट एक व्यवहारिक, अनुभवी र जनआधारित विकल्पका रूपमा प्रस्तुत भएका छन् ।

काठमाडौं-३ मा यसपटक प्रतिस्पर्धा कडा छ । अघिल्लो चुनावमा यो क्षेत्रमा कांग्रेस नै विजयी भएको थियो । तर यसपटक नयाँ दलहरूले चुनौती दिइरहेका छन् । क्षेत्र नम्बर-३ मा अर्याल बाहेक एमालेका रामेश्वर फुँयाल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ , रास्वपाका राजुनाथ पाण्डे लगायतका २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । खासगरी २०७९ को चुनावमा काठमाडौं-३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।

एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १ सय ९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८ सय ६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले भने २ हजार ५ सय ११ मत ल्याएका थिए । काठमाडौं क्षेत्र नम्बर ३ मा ४८ हजार ४ सय ८९ कुल मतदाता रहेका छन् ।

Comments
[gs-fb-comments]

सम्बन्धित खबर