•  ३० भाद्र २०८२, सोमबार

प्रधानमन्त्रीलाई चिठी

- भाद्र २९, २०८२ मा प्रकाशित


सम्माननीय प्रधानमन्त्रीमा विशेष नमस्कार !

महोदय, सर्वप्रथम त देशको सर्वोच्च कार्यकारी पदारोहणका लागि यहाँलाई बधाई छ । यसमा पनि यहाँको पदार्पणले नेपाली महिला वर्गको गरिमा र ल्याकत धेरैपछि भएपनि उजागर गरेको छ । सम्बन्धित वर्ग मार्फत् सम्पूर्ण समाज नै पुनर्जागृत गर्ने यो जनचेत अक्षुण्ण रहनेछ र सामाजिक सहिष्णुता अझ दर्बिलो बन्दै जानेछ ! शुभकामना !

सम्माननीय प्रधानमन्त्री ज्यु ,अन्यथा लाग्दैन भने मैले छाप्नखोजेको समाचार सम्पूर्ण अक्षरमनमा पुर्याउन चाहन्छु, सहयोग हुने आशा छ ।

समाचार: जेन्जी आन्दोलनको झड्का… अनि तत्कालीन प्रधानमन्त्रीको राजीनामा !

काठमाडौं , भाद्र २९ : जेनजी आन्दोलनले युवा एकताको सन्देश मुखरित गरेको छ र तत्कालीन प्रधानमन्त्रीको राजीनामासहित द्रुत राजनीतिक परिवर्तनको सङ्केत गरेको छ । नेपो बेबी ट्रेण्ड अनि भ्रष्टाचारको पराकाष्ठाले एक छिमलका सचेत युवावर्ग अघिसर्दा देशमा एक हलचल पैदा गर्नपुगेको हो । पहिलो दिन व्यापक हताहती भएको यस आन्दोलनको दोस्रो दिन प्रधानमन्त्रीको राजीनामा आएबाट राजनीतिक अवस्थाले नेपाल फेरि एक पटक सङ्क्रमणकालीन मोडमा प्रवेश गरेको प्रष्ट छ। पञ्चायत, प्रजातन्त्र अनि गणतन्त्रका स्वरूप हुँदै पछिल्लो चरणमा कहिले राजा फाल्ने त कहिले राजतन्त्र पुनर्बहाली गर्ने जुवारी चलीरहँदा जनता जहिलेको झमेला व्योहर्न बाध्य हुनेगरेको प्रसङ्गमा अहिलेको राजनीतिक तरलता देखापरेको हो । एक राजा फालिएको पृष्ठभूमिमा धेरै साशक रहने बहुदलीय व्यवस्था विद्यमान रहँदा पनि नेतामाझ व्याप्त भ्रष्टाचार, बेथिति र व्यवहारगत असमानताले व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भन्दै जनतामा आक्रोश बढेको अवस्थामा विशेषगरी कम्प्युटर पुस्ताका युवा ‘जेन्-जी पुस्ता’ले भ्रष्टाचारमुक्त समाज र स्थिर सरकार भन्ने दुई प्रमुख एजेन्डा अघिसार्दै आन्दोलन थालेको बताइएको छ । भदौ २३ गते राजधानीसहित देशका विभिन्न स्थानमा भएको जेन्जी प्रदर्शन शान्तिपूर्ण तरिकाले अघि बढिरहेका बेला सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गरेपछि प्रदर्शन भड्किएको बताइन्छ । पाँच दर्जनजति नागरिकले ज्यान गुमाएको र दुई सयको हाराहारीमा घाइते उपचाररत रहेको सूत्रको दावी छ । यस घटनापछि आन्दोलन अझ सशक्त बन्दै गएको र भोलिपल्ट अन्य समूह पनि सडकमा उत्रिएसँगै आन्दोलनले नयाँ रूप लिएको बुझिन्छ। सर्वत्र विरोधको दवाब र अदूरदर्शी व्यवस्थापनको मार सहन नसकी प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेसम्मको अवस्था आएको जानकारहरू बताउँछन् । त्यसयता, आक्रोशित जनलहरले भ्रष्टाचारको दाग लागेका नेता, तिनका मतियार अनि मोहरामाथि प्रत्यक्ष प्रहार गरेको छ। कतिपय नेताको मकैचुटाइ गरिएको छ भने सम्पत्ति सडकमा हुर्याउने, तोडफोड र आगजनी गर्नेजस्ता गतिविधि बढेका छन्। यसले द्रुत राजनीतिक परिवर्तनको माहौललाई झनै उग्र पारेको देखिन्छ। यसैबीच गोली चलाउने आदेश दिने प्रमुख जिल्ला अधिकारी, गोली प्रहार गर्ने प्रहरी र प्रत्यक्ष सहयोगीहरूलाई सार्वजनिक कार्बाही गर्नुपर्ने माग तीव्र बनेको छ। तर, पछिल्लो चरणमा सेनाप्रमुखको सहमतिसहित सरोकारीसित वार्ता आह्वान गरिएपछि स्थिति केही हदसम्म सामान्य हुन थालेको बुझिएको छ। तथापि, देशका अमूल्य धरोहर मास्ने गरी भएको तोडफोड र आगजनी, तथा संवेदनशील संस्थाहरूलाई लक्षित गरिएको घटनाले गम्भीर चिन्ता निम्त्याएको छ। यसमा कतिपयले केही अवसरवादी वैश्विक संस्था, स्थानीय राजनीतिक खेमा र हुल्लडसमूहको नियोजित षडयन्त्र अनि अवाञ्छित घुसपैठसमेत रहेको आशङ्का व्यक्त गरेका छन् । भित्री अनि बाहिरी चलखेलको पनि आशङ्का गरिएको यस्तो अन्योलपूर्ण वर्तमान परिस्थितिमा बहुमत जनताले तत्काल लागु गर्नुपर्ने व्यवस्था र कार्यसूचीप्रति स्पष्ट सुझाव दिएका छन्।

-विधि जान्ने मान्ने र विधिको शासन सम्भाल्न सक्ने साझा कार्यदल गठन गरी सत्ता सञ्चालनलाई सुचारु गर्ने र निर्वाचनको आधार मजबुत गर्ने।
-भौगोलिक सीमा सुरक्षामा तत्काल सेना र बिओपीजस्ता सुरक्षात्मक संयन्त्र सक्रिय पार्ने र एकीकृत निगरानी बढाउने।
-अराजकतामूलक गतिविधि रोक्न आवश्यक कानुनी प्रक्रिया थाल्ने।
-द्वेष होइन सद्भाव साझा गर्ने कार्यक्रम उत्पादन र प्रसारण गर्ने अनि जाति, वर्ग र देशहित प्रतिकूल द्वेषपूर्ण गतिविधि र त्यससम्बन्धी सामग्री छापा वा विद्युतीय सञ्जालबाट हटाउने।
-वर्तमान द्वन्द्वका पीडित तथा लक्षितवर्गको न्यायको प्रत्याभूति अविलम्ब गराउने ।
-राजनीतिक नियुक्तिका सबै पद र सुविधा यथाशीघ्र कटौती तथा बदर गर्ने।
-अनावश्यक भिआइपीका सुविधाबोझबाट देशलाई मुक्त राख्ने।

-विगतका सरकारद्वारा भएगरेका गैह्र-न्यायिक माफी मिनाहा उल्टाउने र उचित नियमन गर्ने ।
-नयाँ सहमतिबाट नियुक्त प्रतिनिधिहरूको आर्थिक पाटो सार्वजनिक गर्ने ।
-आवश्यक न्यायिक छानबिन संयन्त्र बनाई बद्नाम जनप्रतिनिधि अनि भ्रष्टाचारीमा जोडिएका कर्मचारी तथा व्यवशायी सबैको गैह्रकानूनी सम्पत्ति राष्ट्रियकरण गर्ने।
-विभिन्न कालखण्डका काण्डमा व्यक्तिका नाममा गैह्र-कानूनी हकाधिकारमा पारिएको चल-अचल सबै सम्पत्ति एकल आदेशले राष्ट्राधीनमा ल्याउने ।
-शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका विभेदपूर्ण र अनावश्यक लूटमाथि कार्बाही गर्ने।
-खाद्यान्न, तरकारी र फलफूलमा विषादी प्रयोगबारे अनुगमन र कार्बाही सशक्त पार्ने।

-घूस र करछली गर्ने ठूला–मझौला उत्पादक, व्यक्ति, सेवाप्रदायक र संस्थामाथि नियमन कडा गर्ने।
-वातावरणीय सफाइ, कृषिविकास, औद्योगिकीकरण र रोजगारी सिर्जनामा विशेष पहल गर्ने।
-चोक, बजार एवम् सामाजिक मञ्चमा देखिने अनि सुनिने अश्लीलता नियमन तदारुख राख्ने तथा एकता, शान्ति र विकासका हरसम्भव उपाय अवलम्बन गर्ने।
-कमिसनका लागि थालिएका भनिएका आयोजना, सामाजिक सुरक्षा कोष, राष्ट्रिय परिचयपत्र, इम्बोस्ड नम्बर प्लेटको प्रयोगबारे पुनर्विचार, वा आवश्यक परे खारेज गर्ने।
-जेन्जी प्रतिनिधि, राजारसेना अनि आवस्यक विज्ञसमूह राखी स्थिर र प्रत्यक्ष, परोक्ष वा समानुपातिक जे हुने बुझी योग्य समावेशी सरकारको प्रत्याभूति दिने।
-राष्ट्रिय मुद्दाका साझा उपाय अपनाउने र सन्तुलित परराष्ट्रनीति अवलम्बन गर्ने।
-लोककल्याण र न्याय सुनिश्चित गर्न समयसापेक्ष पारदर्शी तथा जवाफदेही संयन्त्र लागु गर्ने। -जेन्जीको हवाला दिँदै सञ्चार सञ्जालमा पोखिएका सर्वपृय माग सम्बोधनमा सम्भवप्राय कार्बाही थाल्ने।

इति…

अन्त्यमा, देशमा विद्यमान गम्भीर तर निर्णायक मोडमा सम्बन्धित सबै आन्दोलनका उपलब्धीहरू संस्थागत गर्ने दिशामा एकजुट भएर अघिबढ्नुको विकल्प देखिँदैन । यसैगरी, आन्दोलनका क्रममा भएका तोडफोड र धरोहरमाथिका आक्रमण र बेथिति रोक्न र पुनर्निर्माण गर्न वाञ्छनीय छ । जेन्जी अनि जागरुक विविध युवापुस्ताले उठाएका तारिफयोग्य कदमको शुभकामना अनि अबको बाटोमा सहमति, पारदर्शिता र सुशासन हुँदै देशको स्थायित्व र विकासमा लागिपर्न नेपालीत्व पनका सबै मनमा यहाँमार्फत् सुझाव पनि छ । पुनश्च: देशको नाम बढाउने, समयानुसारका सम्भाव्य विकास गर्ने र व्याप्त बेथितिबाट मुलुकले निकास पाउने कुरामा विधिको साशनको अपरिहार्यता सम्झाउँदै अहिलेलाई विदा भन्नचाहन्छु । भवतु राष्ट्रमङ्गलम् ! (नारायण !)

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर