भ्रामक सामग्री प्रति मेयर रमेश नापितको ध्यानाकर्षण:निकाले प्रेस विज्ञप्ति
- असार २२, २०८२ मा प्रकाशित

साँखु – शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितले पछिल्लो समय विभिन्न मिडिया र सामाजिक सञ्जालमा भ्रामक सामग्री आएको भन्दै ध्यानाकर्षण सहित प्रेस विज्ञप्ति जारी गरेका छन् । मेयर नापितले विज्ञप्ति मार्फत विभिन्न मिडिया र सामाजिक सञ्जालमा महालेखा परिक्षकको कार्यालयले प्रकाशन गरेको शंखरापुर नगरपालिकाको आ.व २०८०-०८१ को वार्षिक प्रतिवेदनको विषयलाई तोडमोड गरी, चरित्र हत्या गर्ने कुत्सित मनासय राखी भ्रामक सामग्री प्रशारण गरेकोप्रति आफ्नो गंभीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भ्रामक सामग्रीको पछि नलाग्न शंखरापुर नगरबासिलाई आग्रह समेत गरेका छन् ।
मेयर नापितले प्रेस विज्ञप्तिमा महालेखाको प्रतिवेदन आधिकारिक वेबसाइटमा उपलब्ध छ, जहाँबाट प्रतिवेदनको वास्तविक आशय सजिलै बुझ्न सकिन्छ । तर सो प्रतिबेदनले सुझाएको विषयको तथ्य र सन्दर्भ बिनै व्यक्तिगत पूर्वाग्रह राखेर आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यका साथ सामाजिक सञ्जालमा सामग्री प्रशारण गरिएको छ । प्रतिशोध साँध्ने गरी तयार पारिएको भ्रामक सामग्री आपत्तिजनक र गैरजिम्मेवार छ । महालेखाले दिएको सुझावलाई तोडमोड गरी भष्ट्राचारको संगीन आरोप लगाई मेरो चरित्र हत्या गरिएको भ्रामक सामग्रीप्रति घोर आपत्ति व्यक्त गर्दछु उनले भनेका छन् ।
त्यस्तै नगर प्रमुख नापितले कुनै भूमिका नै नरहने सार्वजनिक खरिदको विषय, ठेक्का सम्झौता जस्ता विषयलाई अनावश्यक ढंगले बङ्ग्याएर अतिरञ्जित, भ्रामक सामग्री निर्माण गरी मेरो चरित्र हत्या गर्ने कामप्रति आपत्ति जनाउँदै त्यस्ता सामग्रीको विश्वास नगर्न सम्पूर्ण नगरबासीहरुलाई आग्रह गरेका छन् । उनले तथ्य बंग्याएर आक्षेप र आरोप लगाइएका जुन–जुन विषयहरु छन् यहाँ सम्बन्धित स्थानमा आएर हेर्दा आफै खण्डित हुन्छ समेत प्रेस विज्ञप्तिमा भनेका छन् ।
महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक भएको प्रतिवेदनप्रति हामी पूर्णतः गम्भीर, सजग र जिम्मेवार छौं । बेरुजु घटाउने दिशामा नगरपालिकाले निरन्तर सुधारात्मक पहल गरिरहेको तथ्य स्पष्ट नै छ । महालेखाको प्रतिवेदनद्धारा यस नगरपालिकालाई सुझाएका विविध विषयहरुलाई मिति २०८२ साल असार ६ गते सम्पन्न नगर अधिवेशनबाट नियमित गर्ने निर्णय भई सोही बमोजिम नगरपालिकाबाट नियमित गर्ने प्रक्रिया समेत अगाडि बढिसकेको छ ।
महालेखाको प्रतिवेदनलाई बंग्याएर गलत व्याख्या गरी न्यूनतम मापदण्ड समेत पालना नगरी गलत, भ्रामक सूचना प्रवाह कसैले नगर्न समेत नापितले आग्रह गरेका छन् । उनले बिना आधार बदनाम गराउने उदेश्यका साथ तयार पारिएको सामग्री प्रति कानुनी उपचारको प्रक्रियामा अघि बढ्ने तयारी समेत गरिरहेको जानकारी गराएका छन् ।
मेयर नापितले प्रेस विज्ञप्ति मार्फत देशको प्रचलित कानून, नगरपालिकाको विद्यमान ऐन, नियम भित्र रहि कार्य सम्पादन गर्दै आएकोमा आगामी दिनमा समेत नगरबासीको चाहना, विद्यमान ऐन कानूनको परिधीभित्र रही कार्य सम्पादन गर्ने बेहोरा समेत नगरबासीलाई जानकारी दिएका छन् ।
Comments