जोरपाटीमा आरोग्य वेल केयर क्लिनिक संचालनमा
- बैशाख २८, २०८२ मा प्रकाशित

काठमाण्डौं-मुलुककै स्थापित चिकित्सकहरूको संलग्नतामा राजधानीको गोकर्णेश्वर—५ जोरपाटीमा आरोग्य वेल केयर क्लिनिक संचालनमा आएको छ । वैशाख २७ गते शनिबार बिहान एक औपचारिक कार्यक्रम बीच काठमाडौं क्षेत्र नम्बर तीनका संघीय सांसद एवं अर्थ समितिका सभापति सन्तोष चालिसेले क्लिनिकको उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले स्वास्थ्यको क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाले विगतदेखि नै उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्दै आरोग्य क्लिनिकबाट स्थानीय लाभान्वित हुने धारणा राख्नुभयो । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसालले चाँडै नै आरोग्य क्लिनिकसँग नगरपालिकाले सहकार्य गर्ने जानकारी गराउँदै स्वास्थ्य क्षेत्रमा नगरपालिकाको कार्य सबैका लागि उदाहरणीय भएको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालले उच्च घनत्व रहेको जोरपाटी आसपास विशेषज्ञ चिकित्सिकहरूको संलग्नतामा आरोग्य क्लिनिक खोलिनु सुखद भएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख कार्यकारी यमनारायण गौलीले स्थानीयलाई स्वस्थ्य राख्नु सबै पालिकाको पहिलो कर्तव्य भएको बताउँदै निजी र सरकारी स्वास्थ्य संस्थाको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता नारायणबहादुर सुवेदीले गुणस्तरीय स्वास्थ्य सेवा सबैको अधिकारी भएको बताउँदै यसका लागि नगरपालिका प्रयासरत भएको बताउनुभयो । कार्यक्रममा क्लिनिकका अध्यक्ष रहनु भएका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर राजीवकुमार देवले स्थानीयवासीको सुवास्थ्यलाई उच्च प्राथमिकतामा राखी क्लिनिकले नाफामुखीभन्दा पनि सेवामुखीभावले सेवा प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो ।
मानवअधिकार तथा शान्ति समाजका निवर्तमान सभापति रामकृष्ण बरालले स्वस्थ्य नागरिकबाट नै स्वस्थ्य समाजको कल्पना गर्न सकिने बताउँदै स्वस्थ्य समाज निर्माणका लागि सबै एकहुनुपर्ने धारणा राख्नुभयो । हेल्थ कन्सर्नका प्रमुख कार्यकारी डाक्टर सुवास प्याकुरेलले शुरुमा क्लिनिकको रुपमा खोलिएतापनि निकट भविष्यमै आरोग्यले सबै विधामा विशिष्टकृत सेवा उपलब्ध गराउने लक्ष्य लिएको बताउनुभयो ।
कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू सहित समाजका सबै तह र तप्काका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । क्लिनिकले स्थानीय चिकित्सक तथा पेशाकर्मीहरू मार्फत समुदाय लक्षित हेल्थ स्क्रिीनिङ, रोकथाममुखी सेवा पद्धति लगायतका बिरामी र नागरिक केन्द्रित सेवा मोडल अङ्गिकार गरीइलोक्ट्रिोनिक मेडिकल रेकर्डयुक्त हेल्थ कार्डको सेवा समेत प्रदान गर्नेछ ।
Comments