मेयर रिसालले गरे गोकर्णेश्वरमा मेलम्चीको पानी डाइभर्ट , दैनिक २ करोड लिटर पानी घरघरमा
- बैशाख २१, २०८२ मा प्रकाशित

टि एन धमला (मुनामदन)
काठमाण्डौं – गोकर्णेश्वर नगरपालिकामा मेलम्चीको पानी डाइभर्ट गरिएको छ । हिजो शनिबार सुन्दरीजल स्थित मेलम्ची खानेपानी बितरण केन्द्रबाट दैनिक २ करोड लिटर पानी वितरण हुने गरि गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सबै स्थानहरुमा पथान्तरण गरिएको हो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालको अथक प्रयासपछि मेलम्ची खानेपानी विकास समितिले गोकर्णेश्वर नगरपालिकामा खानेपानी वितरण गरेको छ ।
मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट नै जाने भएपनि त्यहाँका जनताका घरका धारामा भने पानी झरेको थिएन । गोकर्णेश्वर नगरपालिकाका मेयर रिसालले आफ्नो नगरपालिकामा मेलम्चीको खानेपानी उपलब्ध गराउन भन्दै मेलम्ची खानेपानी विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई केहि समय अगाडि पत्र काटेका थिए । । उक्त पत्रमा मेलम्चीको पानी यहि नगर भएर अन्यत्र लैजाने तर गोकर्णेश्वर नगरबासीलाई बेवास्ता गर्ने हो भने पानी वितरणमा अवरोध समेत सिर्जना हुन सक्ने भन्दै मेयर रिसालले चेतावनी दिएका थिए ।
अन्तत: मेलम्ची खानेपानी विकास समिति गोकर्णेश्वर नगरपालिका क्षेत्रमा पानी वितरण गर्न सहमत भएको हो । मेलम्चीको पानी सुन्दरीजलको पानी ट्याङ्कीमा पठाएसँगै सोमबारदेखि नागरिकका घरघरका धारामा पानी वितरण हुने मेयर रिसालले बताएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बनाएको पुरानै संरचनाबाट मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिकाका धारामा पुग्ने भएको छ। सोमबार देखि मेलम्चीको पानी केयुकेएलले सञ्चालन गरिरहेको पुरानै वितरण प्रणालीबाट नियमित रुपमा गोकर्णेश्वरका जनताको घरका धारामा वितरण गरिने मेयर रिसालले जानकारी दिए। उनले मेलम्ची खानेपानी आयोजना अन्तर्गत आयोजना कार्यान्वय निर्देशनालयले विस्तार गरेको पाइपलाइनको काम पूरा नभए पनि केयुकेएलको पुरानै सञ्जालबाट अर्थात् सुन्दरीजलको पानी वितरण भइरहेको पाइपलाइनबाट खानेपानी वितरण हुने बताए।
बाग्मती नदीको पानी सुक्खा मौसममा पनि दैनिक नौ करोड लिटर उपत्यकामा पिउनका लागि निर्यात गरिन्छ। बत्तीमुनिको अँध्यारो भनेझैँ सुन्दरीजल, नयाँपाटी, गोकर्णेश्वर, जोरपाटी क्षेत्रको धारामा भने खानेपानी आउन सकेको थिएन ।
पानीको स्रोत भएकै क्षेत्रमा खानेपानी नपाइने भएपछि ३६ महिना अगाडि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मेयर रिसालले स्वच्छ खानेपानीको व्यवस्था गरिदिने विषयलाई चुनावी मुद्दा बनाएका थिए। उनले नगर क्षेत्रको पानी नआउने वडाका सबै भागमा पानी पुर्याइदिने प्रतिबद्धता समेत जनाएका थिए।
पानी ल्याइदिने प्रतिबद्धता अनुसार नै शनिबार मेयर रिसालले मेलम्चीको पानी सुन्दरीजलमा डाइभर्ट गरेका हुन् । मेलम्चीको पानी गोकर्णेश्वरको सुन्दरीजल क्षेत्रमा आएपछि दैनिक २ करोड लिटर पानी प्रशोधन भई वितरण हुने भएको छ।
लामो समयदेखि मेलम्चीको पानी गोकर्णेश्वरमा वितरण नगरी सहरतिर लैजाने गरिएकोमा नगरपालिकाका मेयर रिसालले विरोध जनाउँदै आएका थिए । नगर प्रमुख रिसालले बाग्मतीको मुहान क्षेत्रका नागरिकलाई पानी पुगेपछि मात्र उपत्यकामा वितरण गर्न लिमिटेड, खानेपानी तथा ढल निकास विभागलगायत सरोकार भएका निकायमा अनुरोध गर्दै आएका थिए ।
गोकर्णेश्वरमा मेलम्चीको पानी वितरण गर्न रिसालले आन्तरिक तयारी गरिरहेका थिए । शनिबार मेलम्चीको पानी सुन्दरीजलमा रहेको वितरण केन्द्रमा ल्याउन सफल भयौँ मेयर रिसालले भने । मेलम्चीको पानी वितरण सुरु भएसँगै गोकर्णेश्वरका करिब ५० हजार घरका धारामा पानी झर्ने भएको छ,भने पानीको अभाव नहुने भएको छ ।
मेयर रिसालले नगरपालिका भित्रका कुन कुन ठाउँमा पानी आउँदैन त्यस्तो अवस्थामा नगरपालिकामा खबर गर्न अनुरोध समेत गरेका छन् । उनले केही कारणवस पानी नआए त्यसको तत्काल समाधान गरिने समेत बताएका छन् । नगर क्षेत्रमा खानेपानीको समस्या बढि रहेको बेला मेयर रिसाल मेलम्चीको पानी वितरण गर्न सफल भएका छन् , भने व्यवस्थापनको लागि नयाँ योजना निमार्णमा जुटेका छन् । अब खानेपानीको क्षेत्रमा सुधार हुने आशा पलाएको मेयर रिसालले बताए । खानेपानीको समस्याका कारण जनताले भोग्नुपर्ने असहज अवस्थाको अन्त्य भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
Comments