•  २ मंसिर २०८३, मंगलवार

विशेष प्रकृतिको भन्दै बोरिङको पानी जार र बोतलमा बेचेर उपभोक्ता ठगी, सरोकारवाला निकाय मौन

- मंसिर १, २०८३ मा प्रकाशित

काठमाडौँ । बजारमा सामान्य ‘प्रोसेस्ड ड्रिङ्किङ वाटर’ (प्रशोधित पिउने पानी) लाई ‘मिनरल वाटर’ र विशेष प्रकृतिको पानी भन्दै जार तथा बोतलमा प्याकेजिङ गरी बेच्नेको बिगबिगी बढेको छ । बोरिङबाट तानिएको सामान्य पानीलाई जारमा भरेर बाहिरबाट प्लाष्टिकले बेरी (र्याप गरी) उच्च मूल्यमा बजारमा पठाउने गरिएको पाइएको हो ।

सरकारले काठमाडौँ उपत्यकाभित्र २० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य (MRP) ४७ रुपैयाँ र १ लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकेको छ । तर, उपत्यकामा कतिपय उद्योगीहरूले ‘विशेष प्रकृतिको पानी’ भन्दै उद्योगबाट ढुवानीसहित प्रतिजार ७० देखि ८० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

त्यस्तै, १६ रुपैयाँ तोकिएको १ लिटर बोतलको पानीलाई पनि विशेष प्रकृतिको भन्दै ४० देखि ४५ रुपैयाँसम्ममा बिक्री हुने गरेको पाइएको छ । भ्रामक लेबलिङ र आकर्षक प्याकेजिङको आडमा भइरहेको यस्तो मनपरीका कारण दैनिक हजारौँ उपभोक्ता निर्धारितभन्दा दोब्बर-तेब्बर बढी मूल्य तिर्न बाध्य छन् ।

यस्ता उद्योगीहरूले सामान्य पानी प्रशोधन गरेर विशेष प्रकृतिको भन्दै काठमाडौँ उपत्यकाका विभिन्न होटल, रेष्टुरेन्ट तथा खुद्रा बजारमा पठाउने गरेका छन् । कानुनको धज्जी उडाउँदै खुलेआम भइरहेको यस्तो ठगी धन्दामा धेरै पानी उद्योगीहरू संलग्न रहेको पाइएको छ ।

नेपालको प्रचलित कानुन र खाद्य मापदण्डअनुसार प्राकृतिक मूलबाट निस्किएको र प्राकृतिक रूपमै खनिज तत्व (Minerals) भएको पानीलाई मात्र ‘मिनरल वाटर’ भन्न पाइन्छ । बोरिङको पानीलाई मेसिनबाट प्रशोधन गरिएको पानी ‘प्रोसेस ड्रिङ्किङ वाटर’ को श्रेणीमा पर्दछ ।

एउटा वस्तुलाई अर्को भनी झुक्याउनु र तोकिएको भन्दा बढी मूल्य असुल्नु उपभोक्ता संरक्षण ऐन विपरीतको दण्डनीय अपराध हो । तर, बजार अनुगमन गरी यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सरोकारवाला निकायहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय तह भने मौन बसेका छन् । जिम्मेवार निकायको यही मौनताका कारण उपभोक्ताहरू दिनदहाडै ठगिन बाध्य भएका छन् ।

संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशन र सरकारले तोकेको अधिकतम खुद्रा मूल्य (MRP) लत्याउँदै बजारमा मनपरी मूल्य असुल्ने पानी उद्योगीहरूको सूची लामो देखिएको छ।

नियामक निकायको निर्देशन अटेर गरी उपभोक्ता ठग्ने ती उद्योगहरू र तिनका पानीका ब्रान्डहरूको विस्तृत विवरणसहितको विशेष रिपोर्ट लिएर आउनेछौं। प्रतीक्षा गर्नुहोस्!

Comments