•  ६ आश्विन २०८३, मंगलवार

त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान

- आश्विन ६, २०८३ मा प्रकाशित

सोमबार त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । काठमाडौं प्रहरीका अनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ रहेका छन् ।

त्रिपुरेश्वरमा सोमबार भएको घटनामा दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र उनले प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने तथ्यहरू खुलेका छन्।

प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजु बस पल्टिँदा तीन जना घाइते भएको घटनामा उनी संलग्न रहेका थिए । त्यसयता उनी फरार थिए । उक्त घटनामा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको हो । करिब तीन महिना अघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत अर्जुनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको छ ।

अर्जुनले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजातहरू समेत प्रयोग गरेको हुन सक्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments