यस्तो हुनेछ नयाँ संसदको पहिलो बैठक प्रक्रिया:ज्येष्ठ सदस्यबाट अध्यक्षता
- फाल्गुन २४, २०८२ मा प्रकाशित
काठमाडौं – फागुन २१ गतेको निर्वाचनपछि प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छैन। यद्यपी प्रत्यक्ष तर्फको मत परिणाम धेरै जसो क्षेत्रको आइसकेको छ । दलहरुले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन्। दलहरुले समानुपातिक सूची सच्याएर पठाइसकेपछि आयोगले सम्पूर्ण सांसदहरुको नाम राष्ट्रपतिसमक्ष प्रस्तुत गर्छ। सम्पूर्ण निर्वाचन परिणाम आइसकेपछि सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ।
संसदीय प्रक्रिया अघि बढाउनका लागि सभामुख निर्वाचित गर्नुपर्छ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उप-सभामुखको निर्वाचन गर्नेछन्।
संसद सचिवालयले उमेरका आधारमा सबैभन्दा पहिला ज्येष्ठ सदस्यको पहिचान गर्छ। ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि राष्ट्रपतिको कार्यालयमा पत्र पठाइन्छ। ज्येष्ठ सदस्यले शपथग्रहण गरिसकेपछि ज्येष्ठ सदस्यबाट अन्य प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराउन संसद सचिवालयले सम्पूर्ण दल र सदस्यहरुमा सूचना जारी गर्छ।
शपथग्रहणपछि सम्बन्धित दलहरुसँग सम्पर्क स्थापित गर्ने र दलहरुलाई संसदीय दलका कार्यालय उपलब्ध गराउने काम संसद सचिवालयको रहन्छ। सबै दलहरुसँगको सम्पर्क स्थापित गरिसकेपछि सर्वदलीय बैठकको तयारी र व्यवस्थापनको काम संसद सचिवालयले गर्नेछ।
पहिलो सर्वदलीय बैठकमा सबै दलको प्रतिनिधि रहनेगरी बैठक बोलाउने र बैठकमा आगामी संसदको पहिलो बैठकको एजेण्डा के-के हुने ? के कस्ता विषयहरु लैजाने ? भन्नेबारे छलफल र निर्णय हुन्छ। त्यही सर्वदलीय बैठकमा नै सभाको अध्यक्षता गर्ने अध्यक्ष मण्डल चयन हुनेछ। सर्वदलीय बैठकमा संसदको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने की नगर्ने ? भन्नेबारे निर्णय समेत हुने छ ।
त्यही बैठकमा नै दलहरुलाई सिट प्लानको बारेमा पनि जानकारी संसद सचिवालयले गराउँछ। संसद बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ। सरकारले राष्ट्रपति समक्ष संसद आह्वानका लागि पेस गरेको पत्र राष्ट्रपति कार्यालयले संसद सचिवालयमा पठाइसकेपछि संसद आह्वानको पत्र संसदमा ज्येष्ठ सदस्यले पढेर सुनाउनुहुनेछ।
संसद आह्वानको पत्र पढेर सुनाइसकेपछि ज्येष्ठ सदस्य सभामुखबाट सदस्यहरुको स्वागत हुन्छ। दलका नेताहरुले बोल्ने निर्णय सर्वदलीय बैठकमा तय भएमा दलका नेताहरुले सम्बोधन गर्नेछन्। आगामी दिनमा सभामुख, उप-सभामुखको निर्वाचन नभएसम्मका लागि बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डलको पनि सँगै चयन हुने र सोही बैठकमा यस बीचमा सरकारबाट कुनै अध्यादेशहरु जारी भएका भए ती अध्यादेशहरु पनि पहिलो बैठकमा पेस गर्नुपर्ने हुन्छ।
दलहरुले सहमतिबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने कुरा सर्वदलीय बैठकमा नै टुंगो लागेमा पहिलो बैठकबाट नै सभामुखको निर्वाचनको प्रक्रिया प्रारम्भ हुनेछ। संसदको पहिलो बैठकमा नै आगामी बैठकको बारेमा पनि जानकारी गराइन्छ।
सम्भवत: अहिले सम्मको आंकलनमा यस पटकको संसदीय प्रक्रियामा ज्येष्ठ सदस्यको रुपमा दुई जना सांसद रहेका छन् । जस मध्यमा पहिलो रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र दोस्रोमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार रहेका प्रतिनिधिसभा सदस्य निर्वाचित डा.महाविर पुन छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को जन्म वि.सं. २०११ मंसिर २६ गते काँस्की जिल्लाको ढिकुरपोखरीमा भएको हो। त्यस्तै डा.महावीर पुनको जन्म वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा भएको हो।
प्रचण्ड र महावीरको उमेर २ महिनाको फरक रहेको छ । महावीर पुन भन्दा प्रचण्ड २ महिनाले जेठा रहेका छन्। त्यसो त संसदमा अन्य सांसद जेष्ठ उमेरका नभएको अवस्थामा अबको नयाँ संसदको पहिलो बैठक ज्येष्ठ सदस्यबाट अध्यक्षता हुँदा प्रचण्डले संसदको बैठक चलाउने देखिन्छ । बैठक सभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यबाट संचालन गर्ने संसदीय प्रक्रिया रहेको छ ।
यसरी थालिन्छ सभामुखको निर्वाचन प्रक्रिया :
संसदको कुनै एक बैठकले सभामुखको निर्वाचनको मिति तोक्छ। सम्भवतः पहिलो बैठकबाट नै सभामुख र उप-सभामुखको निर्वाचनको मिति तोकिन्छ । संसद बैठकले निर्वाचनको मिति निर्धारण भएपछि सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्न महा-सचिवलाई निर्देशन दिन्छ। त्यसपछि मात्रै संसद सचिवालयका महा-सचिवले सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्नेछन्।
निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गर्नुपर्ने हुन्छ। निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गरेको भए त्यस्तो प्रस्तावक र समर्थक सदस्यहरुले संसदमा बोल्नुपर्ने हुन्छ। त्यस्ता प्रस्तावक र समर्थक सदस्यले पालैपालो बोलिसकेपछि ती प्रस्तावलाई निर्णयार्थ पेस गरिने प्रावधान छ।
एकभन्दा बढी प्रस्ताव आए दर्ता क्रमअनुसार पालैपालो निर्णयार्थ पेस गरिनेछ। प्रस्तावमाथि निर्णय गर्न बैठकमा मत विभाजन पनि गरिन्छ। एक मात्रै प्रस्ताव आए मत विभाजनमा लैजानु पर्दैन। त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ। निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा ज्येष्ठ सदस्यले गर्नेछन्। प्रतिनिधि सभाको बैठकबाट नै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया पनि अघि बढ्छ। संविधानको धारा ७६ को १ बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ।
त्यसपछि उसैको अध्यक्षतामा मन्त्रीपरिषदको गठन हुनेछ। तर निर्वाचनबाट कुनै एक दलको मात्र स्पष्ट बहुमत नपुगेका खण्डमा संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ।
प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा ( २ ) बमोजिम प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ( ४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ। संविधानको धारा ७६ को उपधारा ४ को ( २ ) वा ( ३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

















Comments
[gs-fb-comments]