•  २५ फाल्गुन २०८२, सोमबार

बालेनले उठाएको जोखिम जनअनुमोदित-जेनजी विद्रोहले ओलीको सत्ता ढल्यो

- फाल्गुन २४, २०८२ मा प्रकाशित


काठमाडौँ – राजनीतिमा जब कोही व्यक्ति स्थापित परम्परा र सुरक्षित बाटो छोडेर अकल्पनीय जोखिम मोल्न तयार हुन्छ, तब इतिहास कोरिन्छ । ३६ वर्षीय इन्जिनियर, पूर्व र्‍यापर तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले त्यस्तै एउटा इतिहास कोरेका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीको गढ मानिएको झापा ५ मा गएर चुनाव लड्ने घोषणा गर्दा धेरैले यसलाई बालेनको ‘अपरिपक्व राजनीतिक स्टन्ट’ वा ‘आत्मघाती कदम’ भनेका थिए । गत निर्वाचनमा २८ हजार ५ सय ७६ मतान्तरसहित विजयी भएका ओलीलाई उनकै आधार क्षेत्रमा हराउनु विना संगठनको पार्टीका लागि ‘फलामको च्युरा चपाउनु’ सरह मानिएको थियो । तर, बालेनले त्यो फलामको च्युरा चपाएर मात्र छाडेनन्, ६८ हजार ३ सय ४८ मतको विशाल आँधी ल्याएर ओलीलाई १८ हजार ७ सय ३४ मतमै खुम्च्याइदिए । बालेनले ओलीलाई ४९ हजार ६ सय १४ को विशाल मतान्तरले पराजित गरेका हुन् ।

कुनै बेला झापा ५ भन्नासाथ नेपाली राजनीतिमा एउटा यस्तो अभेद्य किल्लाको चित्र बन्थ्यो, जसको ढोका फोड्ने कल्पना विपक्षी दलहरूले सपनामा पनि गर्दैनथे । २०४८ सालदेखि लगातार जनअनुमोदन खोज्दै आएका, २०७४ र २०७९ सालको चुनावमा झन्डै २९ हजारको विशाल मतान्तरले विजयी भएका केपी शर्मा ओलीका लागि यो क्षेत्र ‘कम्फर्ट जोन’ थियो । स्थानीय मतदातामाझ ‘झापाको विकास भनेकै केपी ओली’ भन्ने भाष्य यति गहिरोसँग स्थापित थियो कि, विपक्षी उम्मेदवारहरू केवल चुनावको औपचारिकता पूरा गर्न मात्र मैदानमा उत्रिन्थे । तर, जेनजी विद्रोहपछि आम निर्वाचनको परिणामले परम्परागत राजनीतिक दलहरूमा महाभूकम्प नै गएको छ र यसको इपिसेन्टर बन्यो झापा ५ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका ३६ वर्षीय बालेन शाह ले ६८ हजार ३ सय ४८ मत ल्याएर ऐतिहासिक छलाङ मार्दा, चारपटक देशको प्रधानमन्त्री बनिसकेका ७४ वर्षीय ओली जम्मा १८ हजार ७ सय ३४ मतमा खुम्चिएका छन् ।निर्वाचनको प्रारम्भिक मत परिणामले झापा ५ बाट ओली मात्र होइन, देशव्यापी रूपमा एमालेलगायत स्थापित पुराना पार्टीहरूलाई नै किनारीकृत गरिदिएको छ ।

यो केवल ओलीको हार नभएर अहंकारको उडानबाट उनी निर्मम रूपमा जमिनमा बज्रिएको दृश्य पनि हो । ओलीसँगै महाधिवेशनमा चुनिएका एमालेका सबै पदाधिकारीहरू पराजित भएका छन् भने एमाले २०१५ सालको जनमत आसपास खुम्चिएको छ । काठमाडौंमा एमालेका केवल २ उम्मेदवारको मात्र जमानत बचेको छ भने अधिकांश ठाउँमा तेस्रो चौथो बनेका छन् ।

Comments
[gs-fb-comments]

सम्बन्धित खबर