कोशीको डिलमा कोशी ब्यारेज : नेपालले भोगिरहेको दु:ख यस्तो छ इतिहास
- आश्विन २४, २०८२ मा प्रकाशित

टि एन धमला (मुनामदन) : काठमाण्डौं – पाठक वर्ग पूर्वी नेपालको सप्त कोशी नदीमाथि बनाइएको बिसाल बाँध कोशी ब्यारेज हो । म त्यही कोशी बाँध अथवा कोशी ब्यारेजको डिलमाथिबाट बताइरहेको छु की,यो नेपाल भारत सीमाक्षेत्रमा नेपालको सुनसरी र सप्तरी जिल्लाको बीचमा बनेको छ । यो बाँध नेपाल भारत सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो । कोशी बाँध नेपालमा रहेता पनि सम्झौता अनुरूप सय वर्षसम्म भारतीय अधिकारीहरुद्वारा नियन्त्रित रहने छ ।
यस बाँधमा ५६ ओटा ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ । खासगरी यसको अधिकार भारतीय अधिकारीहरूसँग भएकाले नेपालले चाहेर पनि आफुले चाहेका बेलामा खोल्न वा बन्द गर्न सक्दैन । त्यसैले कुनै बेला ठुलो बाढि आयो भने र नेपाली भूमी जलमल्ल भयो भने नेपाली पक्षले भारतीय पक्षहरूलाई सुचना दिनुपर्ने हुन्छ । जसको कारण कहिलेकाहीँ ढिला हुनेगरेको इतिहास छ । खास गरेर भारतको बिहारको दु:खको उपनामले परिचित नेपालको कोशी नदीबाट हुने बाढीको प्रकोपबाट बच्न भारतले यस प्रकारको कार्य गरिरहेको छ।
जानकारहरुका अनुसार कोशी नदी प्राकृतिक बहावमा रहँदा भारतको विहारमा बर्खायामका बेला निकै फराकिलो क्षेत्रमा फिँजाएर बग्ने गर्थ्यो। तर नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले सन् १९५४ अप्रिल २५ अर्थात बि.सं २०११ सालमा नेपाललाई कोशी सन्धिमा हस्ताक्षर गरायो। नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला नेतृत्वको तत्कालिन सरकारले यो सम्झौतामा हस्ताक्षर गरेको थियो।
कोशी सम्झौता हुँदा सप्तकोसीको चौडाइ १० किलोमिटर हाराहारी थियो। नदीको गहिराई ३० मिटरसम्म रहेको अनुमान थियो। संसारकै सबै भन्दा बढी बालुवा बोक्ने नदीका रुपमा चिनिने सप्तकोसीमा अहिले बालुवा थुप्रिँदा यसको गहिराई १० मिटरको हाराहारीमा मात्र रहेको बताइन्छ।
त्यो बेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र राजा महेन्द्रले कोशी ब्यारेज शिलान्यास गर्दा होस् वा भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले ब्यारेज उद्घाटन गर्दा होस् निकै त्रुटिपूर्ण कामहरू भएका छन्। जसले गर्दा नेपालले हरेक वर्ष बर्खाको समयमा समस्या झेल्दै आएको छ।
नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले आफ्नो दुनो सोझाएर हरेक वर्ष नेपालीको खेतिपाती नष्ट गरेर नेपाली किसानका आँखामा आँशु झार्दै आइरहेको हुन्छ । यस वारेमा सम्बन्धित निकाय कानमा तेल हालेर बसीरहेको छ । कोशी ब्यारेजको कुल लम्बाई १ हजार १ सय ५० मिटर रहेको छ । ठूलो बाढीपहिरो आउँदा र नेपाली भुमी डुबानमा पर्दा पनि आफ्नै भूमिमा बनाइएको बाँध खोल्न नेपालले सक्दैन। भारतीय पक्षलाई सुचना दिएर मात्र खोल्नुपर्छ। बाँध खोल्न भारतले अटेरी गरिदिँदा पटक-पटक नेपालले ठूलो क्षति ब्यहोर्नुपरेको छ।
कोसी ब्यारेज १ सय वर्ष भारतले सञ्चालन गर्ने गरी भएको सम्झौताअनुसार बनेको बाँध बल्ल ७१ वर्षको भएको छ । तर, अझै २९ वर्ष भारतले नै सञ्चालन गर्नेछ । कानुनी वैधता लामो भए पनि बाँधको इन्जिनियरिङ क्षमता सकिएको छ । ७१ वर्ष नाघेकाले बाँध कुनै पनि वेला भत्किन सक्ने चेतना नेपाल र भारत दुवै पक्षलाई छ । तर, यो विषयमा सार्थक सहमति भएको छैन । कोसी सम्झौता अनुसार ब्यारेज भारतबाट सञ्चालित छ र पटनास्थित कार्यालयबाट यसको सञ्चालन भइरहेको छ ।
कोशी सम्झौता वारे छोटो जानकारी जानौं :
कोशी सन्धिमा हस्ताक्षर वि सं २०११ साल वैशाख १२ गते (सन् १९५४ अप्रिल २५ ) हो । हस्ताक्षर कर्तामा नेपालका तत्कालिन भूमीसुधार मन्त्री महावीर शमशेर ज.ब.रा. र भारतका तत्कालिन योजना मन्त्री गुल्जारीलाल नन्दन थिए । यो सन्धिमा हस्ताक्षर हुँदा नेपालका राजा त्रिभुवन विर विक्रम शाह रहेका थिए भने प्रधानमन्त्रीमा मातृका प्रसाद कोइराला थिए त्यस्तै भारतका प्रधानमन्त्री जवहारलाल नेहरु थिए । यो सम्झौता पश्चात कोशी नदी माथि १९५८ देखी १९६२ सम्म चार वर्ष लगाएर ५६ वटा ढोका भएको कोशी ब्यारेज निर्माण गरिएको थियो । यो ब्यारेजले सुनसरी र सप्तरी जिल्लालाई जोड्दछ । कोशी ब्यारेजको उद्घाटन सन् १९६५ मा नेपालका तत्कालिन राजा महेन्द्र विर विक्रम शाह र भारतका प्रधानमन्त्री लाल बहादुर शास्त्रीले गरेका थिए । कोशी सम्झौतामा १८ वटा धारा रहेका छन् । कोशी सम्झौतालाई एक राष्ट्रघाती सन्धिका रुपमा चित्रण गरिदै आएको छ ।
Comments