जेन-जी युवा र माओवादीले उठाएको मुद्दा समान : प्रचण्ड
- भाद्र २६, २०८२ मा प्रकाशित

काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवा र आफ्नो पार्टीले उठाइरहेको मुद्दा समान रहेको बताएका छन् । उनले आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सुशासनको विषयमा निर्णायक पहलकदमी लिएको स्मरण गराएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबीनका लागि अधिकारसम्पन आयोगका पक्षमा माओवादीले आवाज उठाएको पनि उनले बताएका छन् ।
जेन–जी पुस्ताले समेत माओवादीले नै उठाएको मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु गर्वको कुरा रहेको प्रचण्डले बताएका छन् । जेन–जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि माओवादीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको पनि प्रचण्डले स्मरण गराएका छन् ।
आन्दोलनको दोश्रो दिन आयोजकको पूर्ववत घोषणाविपरीत अवाञ्छित तत्वहरूको घुसपैठ देखा परेको प्रचण्डको निष्कर्ष छ । ‘जेन‘जी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो रु यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ। यसखालका घटना जेन जी पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन,’– प्रचण्डले भनेका छन् ।
अध्यक्ष प्रचण्डले जनयुद्ध कुनै रहरको कुरा नभएर तत्कालीन सत्ताले जनताका कुरा नसुन्दा जनयुद्ध सुरु गर्नुपरेको उल्लेख गरेका छन् । जनयुद्धलाई उनले जनतामाथि भइरहेको चरम शोषण, दमन र हिंसाविरुद्धको प्रतिरोध भनेका छन् ।
साथै उनले संविधान कार्यान्वयनमा पर्याप्त गम्भीरता देखाउन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको पनि बताएका छन् । संविधान जारी गर्ने बेलामा नै माओवादीले फरक मत राखेर प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणालीको वकालत गरेको, दलित, महिला, आदिवासी, जनजातिलगायतका समुदायका थप अधिकार सुनिश्चित गर्नुपर्ने एजेण्डाहरू अगाडि सारेको पनि उनले बताएका छन् ।
अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् । आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेको पनि उनले बताएका छन् । लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै रहेको उनले बताएका छन् । जेनजी पुस्ताको माग लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध नरहेको उनको भनाइ छ । जेन–जी संसद् विघटनका पक्षमा पनि नरहेको प्रचण्डले बताएका छन् ।
संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढन शान्ति, संविधान र गणतन्त्र पक्षधरसँग प्रचण्डले आग्रह गरेका छन् । स्रोत : रिपोर्टस नेपाल
Comments