निर्वाचन आयोगको त्रुटिका कारण नागरिक मताधिकार प्रयोग गर्नबाट वञ्चित

  • झरना खबर
  • २०७९ आषाढ १२ गते ०९:५६ बजे प्रकाशित

काठमाडौं : धादिङ घर भएकी २७ वर्षीया सुस्मिता लामिछानेले मतदाता नामावलीमा नाम समावेश गर्न शुक्रबार फोटो खिचाइन्। उनले यसरी फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएको यो पहिलोपटक भने होइन। यसअघि दुईपटकसम्म नाम लेखाउँदा पनि आफ्नो गाउँठाउँमा नामावली नभेटिएपछि सुस्मिताले तेस्रोपटक नाम लेखाएकी हुन्। ‘भोट नहाल्दा उत्पात नै हुन्छ भन्ने त होइन।

नागरिकको सबैभन्दा ठूलो अधिकार मतदान गर्नु भएकाले त्यसलाई सुरक्षित गर्न मात्र खोजेकी हुँ,’ स्वास्थ्य क्षेत्रमा कार्यरत उनले भनिन्, ‘तर निर्वाचन आयोगको गैरजिम्मेवारीले अधिकार प्रयोग गर्न त टाढाको कुरा, नामावलीमा नाम लेखाउन पनि पाएकी छैन।’

१८ वर्ष उमेर पुगेका हरेक नेपाली नागरिक मताधिकार प्रयोग गर्न सक्षम हुन्छन्। तर निर्वाचन आयोगले फोटोसहितको नामावली संकलन गर्ने क्रममा गरेको त्रुटिका कारण सुस्मिताजस्ता धेरै नागरिक मताधिकार प्रयोग गर्नबाट वञ्चित हुँदै आएका छन्।

नामावली संकलनका क्रममा आयोगका कर्मचारीले सही ठेगाना नलेख्दा झन्डै ३ लाख नागरिक गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन्। मतदाताको नाम, फोटो र ठेगाना मिले पनि उमेरदेखि परिवार ९बाबु, आमा, श्रीमान्, श्रीमती० का नाममा अनगिन्ति त्रुटि छन्।

आवधिक र स्वस्थ निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका सुन्दर पक्ष हुन्। स्वस्थ, निष्पक्ष र भयरहित निर्वाचन गराउन निर्वाचन आयोग हरसमय तयारी अवस्थामा रहनुपर्छ । तर २०७४ सालको आम निर्वाचनपछि आयोगले चुनावका लागि अन्य तयारी होइन, मतदाता नामावली अद्यावधिकसमेत नगरेको देखिएको छ।

यसको अर्को उदाहरण हो मृत्युवरण गरेका व्यक्तिको नाम पनि मतदाता नामावलीमा हुनु। पछिल्ला पाँच वर्षमा निधन भएका देशभरका ७ लाखभन्दा बढीको नाम मतदाता नामावलीमा छ। आयोगका एक अधिकारीले भने, ‘निधन भइसकेका मानिसको नाम पनि मतदाता नामावलीमा हुँदा आयोगको काममाथि प्रश्न उठेको छ।’

निर्वाचन आयोगको कमजोरी मतादाता नामावली संकलनमा मात्र होइन, संघ, प्रदेश वा स्थानीय तह निर्वाचन ऐन दुवैको प्रतिकूल हुनेगरी निर्वाचन मिति घोषणा गर्न आयोगले सरकारमाथि निरन्तर दबाब दिएको छ। तर दुईपटक स्थानीय तह निर्वाचन मिति प्रस्ताव गरेको आयोगसँग मतदान स्थल र केन्द्रको अद्यावधिक विवरणसमेत नरहेको देखिएको छ।

विगतमा भएका स्थानलाई आधार बनाएर आयोगले स्थानीय तह निर्वाचनमा १० हजार ६ सय ५६ स्थानमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको थियो। तीमध्येको एउटा मतदानस्थल हो, चितवनको माडी नगरपालिका–९ बाँदरझुलास्थित राष्ट्रिय प्राथमिक विद्यालय। तर उक्त विद्यालय केही वर्षअघि प्राविबाट निमावि हुँदै सगरमाथा माविमा परिणत भएको थियो।

बाँदरझुलाको नाम नै परिवर्तन भएर अहिले हनुमानझुला भए पनि आयोग त्यसबाट अनभिज्ञ देखिएको छ। राप्रावि अहिले सगरमाथा माध्यमिक विद्यालय भएको जानकारी दिएको बताउँदै माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले भने, ‘ठाउँ होइन, नाम मात्र परिवर्तन भएको हो।

आयोगले पुरानै राप्राविलाई मतदानस्थल कायम गरेको थियो।’ निर्वाचन भएको एक महिनापछि अर्थात् जेठ ३१ गते मात्र निर्वाचन आयोगले उक्त मतदानस्थलको नाम परिवर्तनसहितको विवरण अद्यावधिक गरेको छ। नागरिक दैनिकबाट

सम्बन्धित समाचारहरू

Comments