व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो: गगन थापा

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १५:२९ बजे प्रकाशित

काठमाडौँ–  कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो भन्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले  बताएका छन्।

हाल भारतमा उपचाररत पूर्वप्रधानमन्त्री खनाल र प्रधानमन्त्री शेरबहादुर देउवा बिच  मंगलबार भएको टेलिफोन संवादमा प्रधानमन्त्री  देउवाले उपचार खर्च सरकारले व्यहोर्ने बताएको समाचार सार्वजनिक भएपछि बुधबार थापाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

विदेशमा उपचार गर्ने कुनैपनि व्यक्तिको उपचार खर्च सरकारले उपलब्ध गराउन नमिल्ने कानुनी व्यवस्था रहेको उनको बताएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘२०७४ सालमा बनेको जनस्वास्थ्य  ऐनमा हाम्रै पहल र संशोधनमा ”प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन” भन्ने व्यवस्था छ र उक्त कानुन २०७५र६र२ गतेदेखि लागू भइसकेको छ।’

अहिलेको अवस्थामा कसैको पनि उपचार खर्च सरकारले व्यहोर्न नपाउने उनको भनाइ छ।

थापाले यो पनि भनेका छन् ,‘ यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचार खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’

उनको उपचारमा पार्टी र परिवार लागिरहेको भन्दै उपचार खर्च जुटाउनै पर्ने अवस्था आए नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याएका खनालका लागि देश विदेशमा रहेका सबै नेपाली तयार हुने थापाको भनाइ छ।

ओली नेतृत्वको सरकारले खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो। जुन गैरकानुनी निर्णयको हो र यो सरकारले यस्तो निर्णय गर्न  नहुने थापा बताउँछन्। 

सम्बन्धित समाचारहरू

Comments