ठाकुर पक्षका पाँच सांसदले यादव पक्षलाई दिए साथ

  • झरना खबर
  • २०७८ श्रावण ३ गते १०:१३ बजे प्रकाशित

काठमाण्डौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने निश्चित भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन्। यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षका चार सांसदको उपस्थिति थियो भने एक सांसदले बैठकमा उपस्थित नभए पनि यादवलाई साथ दिने आश्वासन दिएका छन्।

यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानीमण्डल र नरमाया ढकाल बैठकमै उपस्थिति भए। रुही नाथले आफू काठमाडौंबाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन्। ‘उहाँ (रुही नाथ) हाम्रो पक्षमा आइसक्नुभएको छ। आज (शनिबार) सर्लाहीमा भएकाले बैठकमा आउन नसक्नुभएको हो,’ नेता मृगेन्द्रसिंहले भने, ‘उहाँले यो कुरा हाम्रो अध्यक्षज्यूलाई जानकारी गराउनुभएको छ।’

ठाकुर पक्षका सांसद प्रमोद साहले आफूलगायत ६ सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको प्रस्ट पारे। उनले थप एक सांसद दुलारीदेवी खतवेले पनि कित्ता परिवर्तन गरेको दाबी गरे। ‘हामी ६ जना सांसद अब महन्थ ठाकुर पक्षमा छैनौं,’ साहले भने, ‘पार्टी बचाउन उपेन्द्र यादव पक्षमा पुगेका छौं।’

केपी ओली नेतृत्व सरकारमा मन्त्री नभएपछि साह महन्थ ठाकुरसँग असन्तुष्ट छन्। कित्ता परिवर्तन गरेकाहरू ओली सरकारमा मन्त्री नभएकाहरू मात्रै छन्। ओली सरकारमा मन्त्री भएकाहरूले भने कित्ता परिवर्तन गरेका छैनन्। कित्ता परिवर्तन गरेकाहरू शुक्रबार महन्थ ठाकुरले बोलाएको जसपाको संसदीय दलको बैठकमा सहभागी भएका थिएनन्। नागरिक दैनिकबाट

सम्बन्धित समाचारहरू

Comments