माओवादी केन्द्रीय समिति बैठकमा पछि हट्ने मुडमा छैनन् उप-महासचिव जनार्दन शर्मा
- झरना खबर
- २०८१ पौष २१ गते १०:१७ बजे प्रकाशित

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो स्मार्ट दरबार बैंक्वेट धुम्बाराहीमा हुने छ । त्यसअघि आज केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने छ । स्थायी समिति बैठक केन्द्रीय समिति बैठककै तयारीमा केन्द्रित हुने छ ।
एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । प्रचण्डको प्रतिवेदनमा राजनीतिक परिस्थितिको समीक्षा, संगठन पुनर्निर्माण, नेताहरुको कार्यविभाजनका साथै जनपरिचालन अभियान लगायतका विषय समेटिएका छन् ।
एक नेताका अनुसार उनको प्रतिवेदनमा आफू नेतृत्वको पछिल्लो सरकारले गरेका सुशासनका कामको विवरण समेटिएको छ । त्यसपछि बनेको कांग्रेस–एमालेको गठबन्धन सरकारले अलोकप्रिय भएको भन्दै उनले जनताले माओवादी केन्द्रलाई नै रुचाएको निष्कर्षसमेत प्रतिवेदनमा छ । त्यसको आधारको रुपमा उनले स्थानीय तह निर्वाचनको परिणामलाई समेत उद्धृत गरेका छन् । साथै प्रचण्डले माओवादी घटकलाई एकठाउँमा ल्याउने विषय पनि प्रतिवेदनमा समेटेको स्रोतले बतायो ।
केन्द्रीय समितिको बैठक सुरु हुनुअघि बसेको स्थायी समिति बैठकमा अधिकांश नेताहरुले पार्टीको आन्तरिक एकतामा जोड दिँदै अन्तरसंघर्ष तत्काल थाती राखेर महाधिवेशनबाट हल गर्नुपर्ने धारणा राखेका थिए । अन्तरसंघर्षको बहस थाती राख्ने प्रस्तावमा उपमहासचिव शर्मा भने तयार छैनन् ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी रुपान्तरणका लागि विशेष महाधिवेशनमा जानुपर्ने मत राख्दै आएका छन् । ‘पार्टीलाई विधिमा चलाउन विशेष महाधिवेशनमा जाने भनेर स्वयं प्रचण्डले भन्नु भएको कुरा हो । विधान महाधिवेशनमा पनि विशेष महाधिवेशनको कुरा भएको थियो । जनार्दन शर्माले राख्दै आएको कुरा पनि त्यही हो,’ शर्मा निकट एक नेताले अनलाइनखबरसँग भने ।
शर्मा अडानमा टसमस नभएपछि स्थायी समिति बैठक जारी रहँदा प्रचण्डले शर्मा निकट नेताहरुलाई खुमलटारस्थित निवासमै बोलाएर छलफल समेत गरेका थिए ।
गत साउनमा बसेको स्थायी समिति बैठकमा शर्माले १४ पृष्ठको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसमा हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने, अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने लगायत विषय छन् । विहीबार र शुक्रबारको स्थायी समिति बैठकमा पनि उनले ती विषय टुङ्गो लगाउन विशेष अधिवेशनमा जानुपर्ने अडान राखेका थिए ।
तर मिडियामा अन्तरसंघर्षको बहस थाती राख्ने निर्णय स्थायी समिति बैठकबाट भएको भनी समाचार सार्वजनिक भएको भन्दै शर्माले असन्तुष्टि जनाएका छन् । स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठकका लागि एजेन्डा प्रस्तुत गरिएको, स्थायी समिति सदस्यले आफ्ना सुझाव प्रस्तुत गरेको र केन्द्रीय समितिमा छलफल बहस पश्चात निष्कर्षमा पुग्ने अध्यक्षले उद्घोष गरेको बाहेक कुनै निर्णय नभएको शर्माको भनाइ छ ।
उनले आफ्ना प्रस्तावमाथि केन्द्रीय समिति बैठकमै बहस गरेर आवश्यक निर्णय होस् भन्ने चाहेको निकटस्थहरुलाई बताएका छन् । ‘उहाँ ९जनार्दन शर्मा० पछि हट्ने मुडमा हुनुहुन्न । पार्टी रुपान्तरणका लागि राखेका प्रस्तावमाथि बहस गर्दै निर्णय होस् भन्ने उहाँको चाहना छ,’ उनी निकट एक केन्द्रीय सदस्यले भने, ‘विशेष महाधिवेशनमा गइयो भने अध्यक्ष प्रचण्डले भनेका कुरा पनि पूरा हुन्छ र जनार्दन शर्माको माग पनि सम्बोधन हुन्छ ।’
अर्का एक नेताका अनुसार माओवादी केन्द्रले ६ महिनासम्म राजनीतिक अभियान चलाएर महाधिवेशनको मिति तोक्ने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मध्यपहाडी र हुलाकी राजमार्ग केन्द्रित गरी ६ महिनासम्म राजनीतिक अभियान चलाउने प्रस्ताव गरेका छन् । सो प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गरिसकेको छ । अब केन्द्रीय समितिबाट पनि निर्णय गराएर अभियान चलाउने र त्यसपछि महाधिवेशनको मिति तोक्ने माओवादी केन्द्रको तयारी छ । स्रोत : अनलाइन खबरबाट
अन्तिम अपडेट : २०८१ पौष २१ गते १०:१७ बजे
Comments