•  १७ श्रावण २०८३, आईतवार

विश्वकपपछि मैदान फर्किए मेसी , जियानी इन्फान्टिनोमाथि अविश्वासको प्रस्तावदेखि राजीनामासम्म

- श्रावण १७, २०८३ मा प्रकाशित

काठमाण्डौं : विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन् । मेसी मैदानमा पुगेको खेलमा इन्टर मियामी मेजर लिग सकर (एमएलएस) अन्तर्गत भएको खेलमा कोलम्बस क्रुसँग २-२ को बराबरीमा रोकिएको छ।

विश्वकपको फाइनलमा अर्जेन्टिना स्पेनसँग पराजित भएको दुई सातापछि मैदान उत्रिएका मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। मियामीको ‘न्यु स्टेडियम’मा ५३ औँ मिनेटमा मैदान छिरेका मेसीलाई समर्थकले स्वागत गरेका थिए। यद्यपि, पुनरागमन खेलमा उनले दुई वटा प्रहार पोस्टभन्दा बाहिर पठाउँदा गोल भने गर्न सकेनन्।

खेलको १६ औँ मिनेटमा उरुग्वेली स्ट्राइकर लुइस सुआरेजले गोल गर्दै मियामीलाई १-० को अग्रता दिलाएका थिए। सुआरेजको यो पछिल्ला चार खेलमा सातौँ गोल हो। तर, ३४ औँ मिनेटमा मियामीका म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्वमध्यपङ्क्तिका खेलाडी कासेमिरोबाट आत्मघाती गोल हुन पुगेपछि खेल १-१ को स्थितिमा पुगेको थियो।

त्यसपछि सुआरेजकै पासमा नोआ एलेनले हेडमार्फत गोल गर्दै हाफ टाइमअघि मायामीलाई पुनः २-१ को अग्रता दिलाए। तर, ८४ औँ मिनेटमा कोलम्बसका लागि स्पेनिस क्लब रियल सोसिदादबाट आएर डेब्यु खेल खेलिरहेका ब्राइस मेन्डेजले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए।

यो बराबरीसँगै मायामीको लगातार छ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। मियामी इस्टर्न कन्फरेन्सको दोस्रो स्थानमा कायमै छ। शीर्ष स्थानमा रहेको न्यासभिल एससीले पनि डिसी युनाइटेडसँग २-२ को बराबरी खेलेको छ।

त्यस्तै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो आफ्नै विवादास्पद निर्णयका कारण गम्भीर सङ्कटमा परेका छन्। फिफाका प्रतियोगिताहरूको सेयर अन्य कार्यकारीहरूलाई जानकारी नै नदिई निजी लगानी कम्पनीहरूलाई बेच्ने प्रस्ताव अघि सारेपछि उनी चौतर्फी दबाबमा परेका हुन्।

युरोपेली फुटबल महासङ्घ (युइएफए) ले विश्वकपसहित फिफाका सम्पूर्ण प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोको पद जोखिममा परेको छ। युइएफएले इन्फान्टिनोप्रति विश्वास गुमाएको औपचारिक घोषणा गर्दै उनलाई पदबाट हटाउने रणनीति बनाइरहेको छ।

इन्फान्टिनोलाई आफ्नै निकट मानिएका महासङ्घ र सहयोगीहरूले समेत साथ छाड्न थालेका छन्। सन् २०२६ को विश्वकप आयोजनाको सहकार्य गरिरहेको कन्काकाफ (उत्तरी, मध्य अमेरिका र क्यारिबियन फुटबल महासङ्घ) ले फिफाको नेतृत्वबारे पूर्ण समीक्षाको माग गरेको छ। यस्तै, एसियाली फुटबल महासङ्घ (एएफसी) का सदस्य राष्ट्रहरू तथा इन्फान्टिनोका प्रमुख सल्लाहकार कार्लोस कोर्डेरो र मुख्य सञ्चालन अधिकृत (सीओओ) केभिन लामुरले समेत इन्फान्टिनोको साथ छाडेका छन्।

चौतर्फी विरोधपछि इन्फान्टिनोले आफ्नो प्रस्ताव फिर्ता लिएका छन्, तर उनीविरुद्धको राजनीतिक घेराबन्दी झन् कडा बनेको छ। इन्फान्टिनोलाई पदमुक्त गर्ने सबैभन्दा सहज बाटो उनका पूर्ववर्ती सेप ब्लाटरले सन् २०१५ मा गरेझैँ राजीनामा दिनु हो। तर, अझै पनि केही महासङ्घको समर्थन कायमै रहेकाले उनी आगामी मार्चमा हुने चौथो कार्यकालको निर्वाचनसम्म पदमा टिकिरहने रणनीतिमा देखिन्छन्।

राजीनामा नआएमा फिफा काउन्सिलको आपत्कालीन बैठक डाकेर उनलाई राजीनामाका लागि दबाब दिन सकिने प्रावधान छ। ३७ सदस्यीय काउन्सिलका कम्तीमा १९ जना सदस्यले माग गरेमा दुई साताभित्र आपत्कालीन बैठक बस्नुपर्छ। यद्यपि, तत्काल १९ जनाको समर्थन पुग्नेमा आशङ्का व्यक्त गरिएको छ।

दोस्रो विकल्पका रूपमा २११ सदस्य राष्ट्र सम्मिलित विशेष महाधिवेशन बोलाउन सकिन्छ। कुल सदस्य राष्ट्रको पाँचौँ भाग अर्थात् ४३ वटा महासङ्घले लिखित माग गरेमा दुईदेखि तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्छ। ५५ सदस्य रहेको युइएफए एक्लैले यो महाधिवेशन आह्वान गर्न सक्ने तागत राख्छ।

महाधिवेशनमार्फत अध्यक्षलाई हटाउन कम्तीमा १०६ राष्ट्रको अविश्वासको मत (बहुमत) आवश्यक पर्छ। लगानी प्रस्तावको विपक्षमा १३६ देश उभिएका भए पनि ती सबै देश इन्फान्टिनोलाई नै पदबाट हटाउने पक्षमा मतदान गर्छन् भन्ने निश्चित छैन। उदाहरणका लागि, कतारले इन्फान्टिनोलाई खुला समर्थन गरिसकेको छ भने मेक्सिकोले पनि युइएफएको कडा वक्तव्यबाट आफूलाई अलग राखेको छ।

मार्चमा हुने अध्यक्ष पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम म्याद नोभेम्बर १८ सम्म रहेको छ। युरोपेली महासङ्घ युइएफए अहिले इन्फान्टिनोविरुद्ध सर्वसम्मत र बलियो उम्मेदवारको खोजीमा जुटेको छ।

यस घटनापछि इन्फान्टिनोको नेतृत्व क्षमतामाथि थप दबाब सिर्जना भएको छ । उनी यसअघि पनि सन् २०२६ को विश्वकपका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धका कारण आलोचित भएका थिए । ट्रम्पले अमेरिकी खेलाडी फोलारिन बालोगुनलाई देखाइएको रातो कार्डबारे इन्फान्टिनोलाई फोन गरेको सार्वजनिक रूपमा बताएका थिए । त्यसपछि उक्त निर्णय एक वर्षका लागि स्थगित गरिएको र बालोगुनले अर्को खेल खेल्न पाएका थिए ।

इन्फान्टिनो आगामी सन् २०३१ सम्मका लागि अन्तिम कार्यकाल सुनिश्चित गर्न फेरि निर्वाचन लड्ने तयारीमा छन् । आगामी मार्च १८ मा मोरक्कोमा हुने निर्वाचनमा उनी निर्विरोध हुने अनुमान गरिएको थियो । तर पछिल्लो विवादपछि उनको नेतृत्वमाथि खुलेर प्रश्न उठ्न थालेको छ । इन्फान्टिनो सन् २०१६ देखि फिफाको अध्यक्ष छन् । उनी सेप ब्लाटरपछि ज्युरिखमा भएको फिफाको विशेष महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । सुरुमा उनले ब्लाटरको बाँकी कार्यकाल (२०१६–२०१९) पूरा गरे । त्यसपछि २०१९ र २०२३ मा पुन: निर्विरोध निर्वाचित भए । अब उत्तरी अमेरिकी फुटबल महासंघ (कन्का काफ) का अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई आगामी निर्वाचनमा इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको अलजजिराले जनाएको छ ।

Comments