•  ९ माघ २०८२, शुक्रबार

बालेनको रफ्तार बढ्यो,ओली थप संकटमा (भिडियो सहित)

- माघ ९, २०८२ मा प्रकाशित


झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले चुनावी अभियानलाई तीब्र बनाएका छन् । उनले बिहीबार एकैदिन तीन वटा जिल्लाको चुनावी सभामा सहभागी भएर चुनावी अभियानलाई तीब्र बनाएका हुन् ।

बालेन विहान इलाम सदरमुकाम चोकबजारमा आयोजित सभामा सहभागी भएका थिए । त्यहाँ उनले रास्वपाबाट इलाम–२ का उम्मेदवार गोकुल राई र इलाम–१ का उम्मेदवार विमल गदालसँग भेटवार्ता गरेका थिए ।

इलामको कार्यक्रम सकेर बालेन पाँचथरको फिदिम बजारमा पुगेका थिए । त्यहाँ उनले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेन्द्र विक्रम थाम्सुहाङलाई भेटेका थिए । इलामबाट कार्यक्रम सकेर बालेन ताप्लेजुङ पुगेका छन् ।

ताप्लेजुङमा बालेनले रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठ र समानुपातिक उम्मेदवार निर्मला खिम्दिङ लगायतसँग भेट गरेका छन् । बालेनले भने झापा क्षेत्र नम्बर-५ बाट मनोनयन दर्ता गराएका छन् । बालेनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । झापा-५ मा बालेन र ओलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बालेन शाह चुनाव प्रचारका लागि झापा आउने कार्यक्रम तय भएको छ । उनले बुधबार झापामा घरदैलो गरे भने कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन् ।

इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर-२ का उम्मेदवार गोकुलबहादुर राई पनि थिए । झापा-५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहले बिहीबार बिहान इलाममा आफ्ना दलका उम्मेदवारलाई पनि भोट मागेका छन् ।

मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए । उनले झापा, मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवारसँग पनि भेटघाट गरिसकेका छन् । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेनलाई रास्वपाले झापा क्षेत्र नम्बर-५ मा उम्मेदवार बनाएपनि अन्य क्षेत्रको प्रचारप्रसारमा समेत उनलाई प्रयोग गर्ने रणनीति बनाएको छ ।

उता चुनाव प्रचारमा बालेनको रफ्तार बढिरहेको बेला बालेनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली थप संकटमा परेका छन् । उनी आफ्ना समर्थक र कार्यकर्तासँग भेटघाट गर्न निकै व्यस्त रहेका छन् भने पार्टीका प्रतिनिधहरुसँग गोप्य बैठक समेत संचालन गरिरहेका छन् ।

त्यस्तै बालेनले चुनावकै संघारमा पाथिभरा पुगेर पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका हुन् । झापा-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन बिहीबार इलाम, पाँचथर हुँदै चुनावी अभियानका लागि ताप्लेजुङ पुगेका हुन्।

उता झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर-५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५ सय ३७ कुन मतदाता रहेका छन् ।

त्यस मध्य क्षेत्र नम्बर-५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २ सय ९६ महिला र अन्य दुई गरी एक लाख ६३ हजार ३ सय ७९ मतदाता रहेको नेपाल जानकारी दिएका छन् । यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १ सय ८५ वटा मतदान केन्द्र रहेका छन् ।

बालेनले चुनाव जित्न र वैकल्पिक शक्ति निर्माण गर्न रास्वपाका राजनीतिमा सक्रिय नेता, अभियन्ता, उद्यमी-व्यवसायी, सञ्चारकर्मी र जेन-जी अगुवासँग भेटघाट तीव्र बनाएका छन् । भेटघाटमा सहभागी सबैलाई उनले चुनावमा मतदान गर्न स्पष्ट आग्रह गरेका छन् । यतिबेला झापा क्षेत्र नम्बर-५ को चुनावी माहोल तातेको छ भने बालेनको रफ्तार झनै बढेको छ ।

उता २०६४ को संविधान सभा बाहेकका निर्वाचनमा सहजै चुनाव जित्दै आएका केपी ओलीलाई बालेन आएपछि चुनौति थपिएको छ । पार्टी भित्रको आन्तरिक कलह ओलीका लागि अर्को चुनौती हो । पार्टीको जिम्मेवारी र राजकीय जिम्मेवारीलाई ओलीले आफ्‌नो क्षेत्र र झापालाई केन्द्रमा राख्दा नेतृत्व तहका नेता सन्तुष्ट छन् । तर तल्लो तहका कार्यकर्तामा असन्तोष र नैराश्यता देखिन्छ ।

एमालेका कार्यकर्ता झापामा ओलीको रुखो शैली र पार्टी भित्र प्रतिस्पर्धा गर्ने समूहलाई गरेको व्यवहारका कारण रुष्ट छन् । जसका कारण ओलीको कार्यशैलीप्रति असन्तुष्ट भएकाहरू खुलेर बोल्ने आँट गर्दैनन् ।

त्यस्तै ओलीको उमेर र कार्यशैली प्रति पनि कार्यकर्ताले असन्तुष्टि जनाउँदै आएका छन् । अझ झापाका मतदाता र जनताको आकांक्षा युवालाई नै रोज्ने भएकाले अबको झापा-५ बाट संसदीय यात्रामा बालेन नै पठाउने गरि मतदाता लागेका छन् । यतिबेला झापाको दमकदेखि गौरीगञ्जसम्मका व्यापारी, सिटी सफारी चालक, युवा, महिला र वृद्धको प्रतिक्रिया मिश्रित रहेको छ । मतदाताले हामीलाई युवा चाहिएको हो, ओली बुढो हुनुभयो भन्दै बालेनलाई चुनावमा जिताएर पठाउने बताउन थालेका छन् ।

उसो त ओलीलाई आफ्‌नाबाटै खतरा रहेको छ । बालेनको चुनावी कमाण्डर सन्तोष दुलाल एमाले नगर अधिवेशनमा अध्यक्षको आकांक्षी थिए । नगर अधिवेशनमा अध्यक्ष जितेका श्याम पौडेलले १ सय ६५ मत ल्याएका थिए । दोस्रो भएका भगवान बस्नेतले ७७ र तेस्रो युवराज घिमिरेले ७५ मत ल्याएका थिए । रास्वपा प्रवेश गरेका दुलालले २७ मत ल्याएका थिए । ओलीका आलोचक उनी बालेनलाई झापामा बोलाउने नेताहरू मध्येमा पर्छन् । ‘हिजो नगर अधिवेशनमा राम्रै मत ल्याएका नेता अहिले बालेनको चुनावी कमाण्डर छन् ।

झापा-५ मा ओलीका लागि पहिलो चुनौती आफ्‌नै बोली र दोस्रो बालेन भएको एमालेका नेताहरुको बुझाइ रहेका छ । झापा क्षेत्र नम्बर-५ को निर्वाचन आउँदा विश्वदीप लिङ्देन चर्चामा आउँछन् । कारण हो, २०६४ सालमा उनले ओलीमाथि हासिल गरेको जित । तत्कालिन माओवादीबाट ओलीलाई पराजित गरेपछि राष्ट्रिय राजनीतिमा उदाएका लिङदेन अहिलेका दुवै चर्चित अनुहारसँग जनताका वास्तविक एजेन्डा नभएको टिप्पणी गर्छन् ।

२०७९ को संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए । रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।

समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८ सय ७२ मत ल्याएको थियो । रास्वपाको १८ हजार २ सय ५ मत थियो । रास्वपा दोस्रो हुँदा तेस्रो भएको कांग्रेसले १६ हजार ८ सय ५९ मत पाएको थियो । फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेका छन् । यो पटक करिब १० हजार मतदाता नयाँ थपिएका छन् ।

उता बालेन पाथीभराको दर्शन सकेर निर्वाचन क्षेत्र झापा फर्किँदै छन् । उनी चुनाव प्रचार प्रसारको सिलसिलामा हिजो इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेका थिए । उनले श्रीपञ्चमीको दिन पाथिभरा माताको दर्शन गर्नुलाई विशेष रुपमा हेरिएको छ । बालेन आजै निर्वाचन क्षेत्र झापा-५ मा फर्किने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर