•  ९ पुष २०८२, बुधबार

गोकर्णेश्वर नगरपालिकाद्वारा TikTok प्रतियोगिता घोषणा, सहभागिता जनाउन मेयर रिसालको आह्वान

- पुष ९, २०८२ मा प्रकाशित


काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगरको पहिचान, कला र प्रवर्द्धनलाई जोड दिन खुल्ला TikTok प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा इच्छुक व्यक्ति सहभागी हुन सक्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाको जोरपाटी चोक नजिक वडा नं. ६ को कार्यालयसँगै निर्माण गरिएको नगरपालिकाको विभिन्न चिनारी झल्काउने 3D Art तथा ‘जोर + पाटी’ लेखिएको फल्चा समावेश गरी TikTok भिडियो बनाई पोस्ट गर्न सकिनेछ। उक्त प्रतियोगितामार्फत नगरको सांस्कृतिक र भौतिक पहिचानलाई डिजिटल माध्यमबाट व्यापक प्रचार–प्रसार गर्ने लक्ष्य लिइएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले प्रतियोगिताका विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था समेत गरेको छ। जसअनुसार

  • प्रथम पुरस्कार: ७५ हजार रुपैयाँ
  • द्वितीय पुरस्कार: ४० हजार रुपैयाँ
  • तृतीय पुरस्कार: २५ हजार रुपैयाँ
  • चौथो पुरस्कार: १५ हजार रुपैयाँ
  • पाँचौँ पुरस्कार: १० हजार रुपैयाँ
  • छैटौँ पुरस्कार: ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले २०८२ पौष १० गतेदेखि पौष ३० गतेभित्र TikTok भिडियो पोस्ट गर्नुपर्नेछ। अन्तिम मितिपछि २० दिन अर्थात् माघ २० गते Likes र Views को आधारमा विजेता घोषणा गरिनेछ। प्रतियोगिताका शर्तअनुसार भिडियोमा सो स्थानको 3D Art र दुईवटा फल्चा सहितको दृश्य अनिवार्य देखिनुपर्ने छ।

नगरपालिकाले TikTok Video Boost गर्न नपाइने, विवरणमा #Gokarneshwor ह्यासट्याग प्रयोग गरी स्थानको वर्णन लेख्नुपर्ने उल्लेख गरिएको छ। साथै @dipakrisalofficial नामक TikTok ID फलो गरी पोस्ट गरिएको भिडियोको लिंक Dipak Risal Official TikTok ID तथा WhatsApp नम्बर 9823278330 मा पठाउनुपर्नेछ।

यस अवसरमा नगर प्रमुख दीपककुमार रिसालले सामाजिक सञ्जाललाई सिर्जनात्मक र सकारात्मक रूपमा प्रयोग गर्दै नगरको पहिचान प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको झरना खबरसँगको कुराकानीमा बताएका छन् ।

रिसालले “आजको डिजिटल युगमा TikTok जस्ता माध्यमले नगरको पहिचान विश्वभर चिनाउन ठूलो भूमिका खेल्न सक्छ। युवाको सिर्जनशीलता र प्रविधिको प्रयोगमार्फत गोकर्णेश्वर नगरपालिकालाई चिनाउने उद्देश्यले यो खुल्ला प्रतियोगिता ल्याइएको बताए ।”

नगर प्रमुख रिसालले युवाहरूलाई सकारात्मक सन्देश फैलाउने र नगरको सुन्दरता उजागर गर्ने खालका भिडियो निर्माण गर्न आग्रह गर्दै प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर