गोकर्णेश्वर नगरपालिकाको आकस्मिक बैठक सम्पन्न : शान्ति सुरक्षामा युवा परिचालन गरिने
- आश्विन १, २०८२ मा प्रकाशित

काठमाडौँ – पछिल्लो उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिकाको आकस्मिक बैठक सम्पन्न भएको छ।
नगर प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा बसेको बैठकमा उप-प्रमुख सान्नानी लामा , सम्पूर्ण वडा अध्यक्षहरू, नेपाल आर्मीका , नेपाल प्रहरी , नगर प्रहरी, ग्रीन आर्मी नेपाल, नगर स्काउट, युवा तथा खेलकुद समिति, स्वास्थ्य प्रमुख, नगर अस्पताल प्रमुख लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।
‘जेन–जी’ आन्दोलनका क्रममा नगरपालिकाको वडा नम्बर ५, ६, र ७ का कार्यालयहरूमा प्रदर्शनकारीले आगजनी गरिदिएका थिए । जसका कारण ५, ६, र ७ वडा कार्यालयहरू पूर्णरूपमा ध्वस्त र वडा नम्बर १ र ३ मा तोडफोड भएको थियो। त्यस्तै प्रहरी चौकी र केही स्वास्थ्यचौकी समेत क्षतिग्रस्त भएका थिए । केही कार्यालयहरूबाट सामग्री चोरी र लुटपाट पनि भएको छ । आन्दोलका क्रममा जनताको करबाट निर्माण भएका संरचनामा व्यापक क्षति भएको छ ।
नगरपालिकाको आकस्मिक बैठकले हरेक वडामा वडा अध्यक्षको अगुवाइमा युवाहरू परिचालन गरिने,नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, ग्रीन आर्मी, स्काउट, र युवा समितिको सहकार्यमा शान्ति सुरक्षाको कामलाई अघि बढाइने,नगर प्रहरीका २ वटा, स्काउटका १ वटा, र ग्रीन आर्मीका १ वटा गाडी परिचालन गरी टोलटोलमा नियमित पेट्रोलिङ गरिने निर्णय गरेको छ ।
यस्तै नगरभरिका सिसी क्यामेरा प्रणालीबाट निगरानी गरिने,बिग्रिएका क्यामेरा तुरुन्त मर्मत गरिने,ध्वस्त संरचनाहरूको सरसफाइ तथा पुनर्निर्माण कार्य तुरुन्त सुरु गरिने,नगरपालिका र वडा कार्यालयबाट हुने सेवा चाँडै सुचारु गरिने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख रिसालका अनुसार घरबाहलमा बस्ने व्यक्तिहरूको विवरण घरबेटीहरूले अनिवार्य रूपमा राख्नुपर्ने ,युवा क्लब, टोल सुधार समिति, महिला समूहलगायत संघसंस्थालाई वडा अध्यक्षमार्फत शान्ति सुरक्षामा समन्वय गरिने,नगरभित्रका सम्पूर्ण पसल र व्यवसायहरू बेलुकी ८ बजेभित्र बन्द गर्नुपर्ने निर्णय गरिएको छ।
यस्तै गोकर्णेश्वर नगर अस्पताल, नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, र अर्थोपेडिक अस्पतालहरू २४ घण्टा खुला रहने भएका छन्।
नगरपालिकाले विपद् सम्बन्धी नेपाली सेना फोन नम्वर ९७६८९९२०२०,सुरक्षा सहायता (नेपाली सेना) फोन नम्वर ९८५७०२१५२९,नेपाल प्रहरी हटलाइन१००,सशस्त्र प्रहरी बल १११४ -१११२,नगर प्रहरी ९८४१६८९१६५,ग्रीन आर्मी ९८४९९९९९९९,स्काउट९८४९३८२९६१,स्थानीय युवा व्यवस्थापन ९८५१०७४५३,एम्बुलेन्स हटलाइन ९७६५४१४२८०,अस्पताल समन्वय केन्द्र ९८४१३९१०००,गोकर्णेश्वर नगर अस्पताल ९८५१२४८७५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ । नगरवासीहरूले आपत वा विपद् परेमा तत्काल सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको सम्पर्कमा रहनु हुन पनि अनुरोध गरिएको छ ।
Comments