विनायक सिद्ध कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न: विद्यार्थीलाई लिडर बनाउने उद्घोष
- श्रावण १५, २०८२ मा प्रकाशित

काठमाडौं – चाबहिलमा रहेको विनायक सिद्ध कलेजले शैक्षिक वर्ष २०८२ को लागि ११ कक्षामा नयाँ भर्ना भएका १ हजार भन्दा बढि नव आगन्तुक विद्यार्थीहरुका लागि लक्षित गरेर राखेको अभिमुखिकरण तथा सकारात्मक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कलेजले प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबको सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा नेपाल सरकारका सह-सचिव एवम् राष्ट्रिय किताब खानाका उप-माहानिर्देशक नन्दलाल पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै विनायक सिद्ध कलेजका अध्यक्ष दुर्गा नाथ प्रसाईंले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरुले जीवन्त प्रत्यक्ष संगीत प्रस्तुति प्रस्तुत गरेका थिए । जसले कार्यक्रमको ऊर्जा र उत्साह थपेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरू हर्षित र उत्साहित देखिन्थे । अभिमुखिकरण कार्यक्रमले आनन्द र सकारात्मकताका साथ विद्यार्थीहरूको शैक्षिक यात्राको सुरुवात गरेको थियो ।
अभिमुखीकरणले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न, कलेजको दृष्टिकोण साझा गर्न र विद्यार्थीहरू र समुदायको भावना निर्माण गर्न प्लेटफर्मको रूपमा काम गरेको छ । त्यस्तै कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको नियम, आचारसंहिता, शैक्षिक प्रक्रिया तथा सहायक सेवाहरूको जानकारी दिने रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यार्थीहरूलाई आफ्नो कर्तव्य, समाज, परिवार र देशप्रतिको भूमिका बुझ्न, अध्ययन गर्न र सक्रिय रहन सन्देश दिएका छन् । उनले विद्यार्थीहरु आत्मनिर्भर, जिम्मेवार र समाज परिवर्तनमा लाग्नुपर्ने बताए ।
सो अवसरमा क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले लामो समयदेखि नेपालको शैक्षिक उन्नयनमा समर्पित विनायक सिद्ध कलेजले सबै संकायका विद्यार्थीहरूलाई एउटै मञ्चबाट कलेजको बारेमा जानकारी दिई समयको सदुपयोग र आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी गाराएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा झनै रौनकता थपेको थियो । साँस्कृतिक, शैक्षिक र जानकारीमूलक आयामलाई समेट्दै सम्पन्न कार्यक्रमले कक्षा ११ का विद्यार्थीहरूका लागि सकारात्मक र प्रेरणादायी शैक्षिक यात्राको थालनी गराएको छ ।
विनायक सिद्ध कलेजमा विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गरिने भएकाले नै यो कलेज विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ । साथै, ‘आफ्ना विद्यार्थीलाई पाठ्यक्रम लक्षित ज्ञान, सीपका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना अनुरुप नृत्य, गायन, विभिन्न खेलकुद बास्केटबल, फुटबल, मार्सल आर्ट्स तथा पब्लिक स्पिकिङ लगायत जीवनोपयोगी सीपहरूमा कलेजले जोड दिएकै कारण पनि विनायक सिद्ध कलेज अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको क्याम्पस प्रमुख सिंखडाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कलेजका डाइरेक्टर विष्णु पराजुलीले जीवनको नयाँ यात्रामा एउटा पाइला चाल्दै गरेका विद्यार्थीहरूले सही निर्णय गरेको र विनायक सिद्ध कलेज बाट निस्किँदा आफ्नो रुचि र क्षमता भएको क्षेत्रको नेतृत्वकर्ता भएर निस्कने विस्वास रहेको बताउनुभयो । विनायक सिद्ध कलेजले शिक्षित मात्रै बनाउने नभई सर्वपक्षीय विकास गर्ने र ‘लर्नर’ बाट ‘लिडर’ बनाउने कार्य गर्दै आएको पराजुलीले बताउनुभयो ।
विनायक सिद्ध कलेजको अभिमुखीकरण कार्यक्रम केवल जानकारी दिने औपचारिकता मात्र नभई विद्यार्थीको जीवनमा प्रेरणा, जोश र मार्गनिर्देशन भर्ने एक समर्पित प्रयास थियो। यहाँबाट सुरु भएको यात्रा भोलिका नेता, वैज्ञानिक, पत्रकार र समाज परिवर्तन कर्ताको आधार बन्ने विश्वास सबैको अनुहारमा झल्किएको थियो।
Comments