•  २६ श्रावण २०८२, सोमबार

मनास्लु वर्ल्ड कलेजद्वारा आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न : प्रेरणा र प्रतिभाको स्रोत बन्दै

- श्रावण १५, २०८२ मा प्रकाशित


काठमाडौं – चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले ११ कक्षामा नयाँ भर्ना भएका १ हजार भन्दा बढि नव आगन्तुक विद्यार्थीहरुका लागि लक्षित गरेर राखेको अभिमुखिकरण तथा सकारात्मक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कलेजले प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबको सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो।

अभिमुखीकरण कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको नियम, आचारसंहिता, शैक्षिक प्रक्रिया तथा सहायक सेवाहरूको जानकारी दिने रहेको थियो । कार्यक्रममा हालै मात्र सम्पन्न बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै कक्षा १२ बाट टप टेनमा स्थान बनाउन सफल विद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा एमालेका प्रमुख सचेतक एवम् सांसद महेश कुमार बर्तौलाले वैज्ञानिक जस्तै आत्मनिर्भर, जिम्मेवार र समाज परिवर्तनका अग्रदूत बन्न विद्यार्थीहरुलाई प्रेरणा दिएका थिए । उनले विद्यार्थीहरूलाई आफ्नो कर्तव्य, समाज, परिवार र देशप्रतिको भूमिका बुझ्न, अध्ययन गर्न र सक्रिय रहन सन्देश पनि दिए ।

कलेजका कार्यकारी अध्यक्ष गेन्द्र लामाले सबै संकायका विद्यार्थीहरूलाई एउटै मञ्चबाट कलेजको बारेमा जानकारी दिई समयको सदुपयोग र आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी गाराएका थिए ।

त्यसैगरी क्याम्पस प्रमुख राजन श्रेष्ठले कलेजको टिम वर्क मेक्स ड्रीम वर्क भन्ने धारणा र कम्पिटिसन विथ आवर सेल्फ भन्ने मूल्यमान्यतामा आधारित नेतृत्व संस्कृतिबारे उल्लेख गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरे ।

कार्यक्रममा प्राइम टिभीका अध्यक्ष ऋषि धमलासहित शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा झनै रौनकता थपेको थियो । साँस्कृतिक, शैक्षिक र जानकारीमूलक आयामलाई समेट्दै सम्पन्न कार्यक्रमले कक्षा ११ का विद्यार्थीहरूका लागि सकारात्मक र प्रेरणादायी शैक्षिक यात्राको थालनी गराएको आयोजकको भनाइ छ ।

कार्यक्रममा मिस्टर एण्ड मिस मनास्लु २०२४ विजेता स्यारोन लामा वाइबा र दाबा छिरिङ भोटेलाई सम्मान गरियो। मिस मनास्लु स्यारोन लामाले आफूले पाएको अवसरप्रति आभार व्यक्त गर्दै पूर्ण छात्रवृत्तिमा अमेरिका पढ्न जान सक्ने प्लेटफर्म मनास्लुले दिएको बताइन्।साथै, सांगीतिक प्रस्तुति, नृत्य, जादु, र दोहोरीदेखि र्‍यापसम्मका विविध कार्यक्रमले उपस्थित विद्यार्थीहरूमा जोश थपेको थियो।

कक्षा १२ की कानुन विषय अध्ययनरत छात्रा अपेक्षा कार्कीले स्वागत मन्तव्य राख्दै, आफू एक वर्षअघि झैँ आजका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन्। जीवनको नयाँ यात्रामा एउटा पाइला चाल्दै गरेका विद्यार्थीहरूले सही निर्णय गरेको र मनास्लु बाट निस्किँदा आफ्नो रुचि र क्षमता भएको क्षेत्रको नेतृत्वकर्ता भएर निस्कने उनले उल्लेख गरिन् । मनास्लुले शिक्षित मात्रै बनाउने नभई सर्वपक्षीय विकास गर्ने र ‘लर्नर’ बाट ‘लिडर’ बनाउने उनको भनाई थियो।

मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम केवल जानकारी दिने औपचारिकता मात्र नभई विद्यार्थीको जीवनमा प्रेरणा, जोश र मार्गनिर्देशन भर्ने एक समर्पित प्रयास थियो। यहाँबाट सुरु भएको यात्रा भोलिका नेता, वैज्ञानिक, पत्रकार र समाजपरिवर्तनकर्ताहरूको आधार बन्ने विश्वास सबैको अनुहारमा झल्किएको थियो।

पछिल्लो समय मनास्लु वर्ल्ड कलेज प्रविधिमैत्री शिक्षासँगै विद्यार्थीको रोजाईमा पर्न थालेको छ । विषयवस्तु सहज रुपमा बुझ्नसक्ने गरी पढाइ हुने यो कलेज उत्कृष्ट विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । यो कलेज देशका ५५ वटा जिल्लाका विद्यार्थीको रोजाइमा रहेको छ । भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप सधैं अब्बल मनास्लु वर्ल्ड कलेज विद्यार्थीहरुको पहिचान नै बनिसकेको छ । हरेक वर्ष अब्बल कलेजको सूचीमा रहँदैं आएको यो कलेज यस पटक पनि उच्च रोजाइमै परेको छ ।

निरन्तर अब्बल कलेजमा टिकिरहनुको प्रमुख कारण कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक शिक्षिका र विद्यार्थी क्षमताको प्रस्फुटनमा जोड दिनुजस्ता कारणहरु रहेको छ । एकल व्यवस्थापनको नीति अनुसार संचालित यो कलेज ख्यातिप्राप्त पुरस्कारबाट समेत सम्मानित भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर