•  ५ श्रावण २०८२, सोमबार

गोकर्णेश्वरमा नियम विपरित कक्षा ११ संचालन गर्नेको लर्को,मनकामनादेखि-हिम श्रृङ्खलासम्म मापदण्ड विपरित

- श्रावण ५, २०८२ मा प्रकाशित


सत्य मञ्च – काठमाडौं – गोकर्णेश्वर नगरपालिका भित्र संचालित अधिकांस निजी विद्यालयहरु मापदण्ड विपरित चलेको पाइएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ओरालो लागेपछि पछिल्लो समय निजी विद्यालयमा आफ्ना छोराछोरीहरुलाई पढाउनेहरूको सख्यामा बढोत्तरी भइरहेको छ । तर गकेर्णेश्वर नगरपालिकामा संचालित अधिकांस निजी विद्यालयहरुले स्थानीय तहले जारी गरेको नीतिको धज्जी उडाइरहेको पाइएको हो ।

गोकर्णेश्वर नगरपालिकामा संचालित केहि निजी विद्यालयले विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका विपरित ११ कक्षा र १२ कक्षाको संचालन गर्ने गरेको पाइएको छ । त्यस्ता विद्यालयहरुले अनुमति विपरित शैक्षिक गतिविधि संचालन गरिरहेको पाइएको छ ।

सामान्यतया एउटा वडामा संचालनमा रहेको विद्यालयले अर्को फरक वडामा विद्यालय संचालन गर्न मिल्दैन । त्यसरी संचालन गरेको पाइए उक्त विद्यालयलाई कानुनी कारबाहि हुने प्रावधान रहेको छ । त्यस्तै ११ र १२ कक्षाको संचालन समेत एउटै परिधिभित्र रहेर संचालन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । गोकर्णेश्वर नगरपालिकामा संचालित केहि निजी विद्यालयको हकमा भने उक्त प्रावधान लागु भएको छैन ।

नियम विपरित संचालनमा रहेका त्यस्ता विद्यालयले एस ईई को नतिजा प्रकाशन भएसँगै ११ कक्षामा बिज्ञान , व्यवस्थापन , मानविकी , एजुकेशन र कानुन जस्ता संकायमा नयाँ भर्ना अभियान चलाइरहेका छन् । विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका विपरित कक्षा संचालन गरिरहेको विषय कानुन विपरित हो ।

गोकर्णेश्वर नगरपालिका भित्र नियमविपरित ११ र १२ कक्षा संचालन गर्ने निजी विद्यालयहरुको लामै लिस्ट रहेको छ । जसमा मनकामना सेकेण्डरी स्कुलदेखि हिमशृंखला ऐकेडेमि विद्यालयसम्म , आकाश दिपदेखि भेनस पब्लिकसम्म र टाइमलाइन देखि त्रिकोन सम्मका विद्यालयले मापदण्ड विपरित ११ र १२ कक्षा संचालन गरिरहेका छन् ।

स्थानीय तह विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०७९,अनुसार जुन सुकै सेकेण्डरी तहको विद्यालयले ११ र १२ कक्षा संचालन गर्दा एउटै कम्पाउण्ड भित्र रहेर कक्षा संचालन गर्नुपर्ने हुन्छ । तर नियम विपरित त्यस्ता विद्यालयहरुले फरक ठाउँमा कक्षा संचालन गर्दै आएका छन् ।

गोकर्णेश्वरमा त्यसरी संचालनमा रहेका विद्यालय मध्य मनकामना सेकेण्डरी स्कुल ७ नम्बर वडामा दर्ता संचालन अनुमति लिएको विद्यालय हो । तर उसले माकालबारी स्थित ८ नम्बर वडामा रहेको जया मल्टिपल क्याम्पसमा मनकामना सेकेण्डरी स्कुलको नाममा कक्षा ११ र १२ संचालन गरिरहेको छ । जुन विषय नियम विपरित रहेको छ । त्यस्तै त्रिकोन पब्लिक सेकेण्डरी स्कुलले बज्र इन्टरनेशनल कलेजलाई आफ्नो कक्षा ११ र १२ संचालन गर्न अनुमति दिएर वडा नम्बर ६ मा संचालन गरिरहेको छ । जबकी बज्र इन्टरनेशनल कलेजले कक्षा ११ र १२ संचालन अनुमति नै नभएको तथा ठेगाना नै फरक रहेर संचालनमा रहेको अर्को विद्यालयको अनुमति लिएर ११ र १२ कक्षा संचालन गरेर कानुनको धज्जी उडाइरहेको छ ।

मापदण्ड विपरित संचालनमा रहेको अर्को विद्यालय हो हिमशृंखला ऐकेडेमि विद्यालय उक्त विद्यालयले पनि नियम विपरित रहेर कक्षा संचालन गरिरहेको छ । उसले कक्षा ११ र १२ एउटै कम्पाउण्ड भित्र संचालन गरेको छैन । उता नगरपालिकाको ७ नम्बर वडामा संचालनमा रहेको आकाश दिप सेकेण्डरी स्कुलले समेत मापदण्ड विपरित कक्षा ११ र १२ संचालन गरिरहेको छ । उसले पनि लामो समयदेखि एउटै कम्पाउण्ड भित्र कक्षा संचालन गरेको छैन । नियम विपरित कक्षा संचालन गर्ने भेनस पब्लिक स्कुल र टाइमलाइनको स्कुलको पनि उस्तै अवस्था रहेको छ । यी दुबै विद्यालयले नियम विपरित कक्षा ११ र १२ संचालन गरिरहेका छन् ।

यस विषमा प्रश्न उठेपछि गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्काले नियमविपरित विद्यालय संचालन गर्ने स्कुलका संचालकहरुलाई नगर शिक्षामा बोलाएर गैरकानुनी रुपमा कक्षा संचालन गर्न नपाइने जानकारी गराएको बुझिएको छ । स्थान फरक पारेर कक्षा संचालन गर्ने , एउटै कम्पाउण्ड भित्र कक्षा संचालन नगर्ने गरि नयाँ भर्ना संचालन गरेको भन्दै शिक्षा शाखाले कारबाही गर्ने प्रक्रिया चलाएको शाखा प्रमुख वीर बहादुर खड्काले बताउनु भएको छ ।

संविधानले देशलाई संघीय संरचनामा लगेर संघ, प्रदेश र स्थानीय तहमा राज्यशक्तिको बाँडफाँट गरेको छ । संविधानको अनुसूची ८ मा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । विद्यालयको संचालन र अनुमति रद्द गर्ने, नयाँ विद्यालय संचालन गर्न अनुमति दिने, शिक्षक नियुक्ति, सरुवा र कारबाही गर्ने लगायत विद्यालय शिक्षा सम्बन्धी अधिकार स्थानीय तहको क्षेत्राधिकार भित्र पर्दछ । तर यसको ठिक विपरित संस्थागत अर्थात निजी विद्यालय संचालनमा आउँदा समेत स्थानीय तह मौन बस्ने गरेको छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर